बेलायतको नेपाली समाजभित्र गुनासो छ कि नेपाली डाक्टरहरु समाजमा घुलमिल हुन चाहँदैनन् । प्रायजसो नेपाली कार्यक्रमहरुमा देखिँदैनन् । के साँच्चिकै यो गुनासो सत्य हो त ?
सन् १९८१ मा एमबीबीएस गरेर चिकित्सा क्षेत्रमा प्रवेश गरेका डा. अरुण झाले वीरगञ्ज अस्पतालबाट बिरामीको नाडी छाम्न शुरु गरे । बीचमा पाटनको मानसिक अस्पतालमा केही वर्ष काम गरे । सन् १९८६ मा युके छिरेका उनी हाल बेलायतको हार्टफोर्डसियर पार्टनरसिप मेन्टल ट्रष्टमा कन्सल्टयाण्ट साइकियाट्रिक छन् । डिमेन्सिया विज्ञ डा. झा अहिले युकेका नेपाली चिकित्सकहरुको संस्था नेपलिज डक्टर्स एसोसिएसनका अध्यक्ष छन् । प्रस्तुत छ उनीसित माथिको गुनासो र नेपाली डाक्टरहरुको अवस्थाका बारेमा गरिएको कुराकानी :
अहिले युकेमा नेपाली चिकित्सकको संख्या कति होला ?
नेपलिज डक्टर्स एसोसिएसनमा रजिस्टर्ड नेपाली चिकित्सकहरु एकसय जना छौँ। नन रजिस्टर्डलाई पनि गन्ने हो भने दुई/अढाई सय छौँ होला ।
युकेमा नेपाली चिकित्सकहरुको अवस्था कस्तो छ ?
पहिलाभन्दा अहिले नयाँ डाक्टरहरु यहाँ आउनेक्रम घट्दो छ । नियम कानुनहरु परिवर्तन भएर यहाँ आउन गाह्रो भएको छ । शुरु शुरुमा त गाह्रो हुन्छ । त्यो पहिले पनि थियो अहिले पनि छ । तर शुरुको चरण पार गरिसकेपछि र स्थायी काम पाएपछि जीवन सहज हुन्छ ।
नयाँ आउने चिकित्सकहरुलाई यहाँ आउन र काम पाउन कतिको सजिलो छ ?
गाह्रो छ । अस्ति भर्खर एकजजना डाक्टरसाब आउनुभएको थियो । क्लिनिकल एट्याचमेण्ट गर्नुभयो स्वयंसेवीरुपमा । अब भिसा सकिन लाग्यो । भिसा सकिने बेलामा दोधार परेर यता जाउँ कि उता जाउँ हुँदा अरु संस्थाले मद्दत दिनुपर्यो । हामीले पनि दियौँ । तर आँट गरेर बस्यो भने अवसर छ ।
नयाँ चिकित्सकहरुले यहाँ आएपछि के कस्तो प्रक्रिया पूरा गर्नुपर्छ ?
सबैभन्दा पहिलो चरण नेपालबाट बाहिर जान्छु भन्ने उद्देश्य राखेर मानसिकरुपमा तयार भइसकेपछि केही गाह्रो हुँदैन । नयाँ ठाउँमा गएपछि कहाँ बस्ने, कहाँ खाने सम्पर्क त चाहियो । यो त डाक्टरलाई मात्र होइन सबैलाई चाहियो । युकेमा यहाँको जेनेरल मेडिकल काउन्सिल (जीएमसी) मा रजिस्टर्ड नभएसम्म काम गर्न पाइँदैन । त्यसको परीक्षा दिनैपर्छ । त्यसपछि यहाँको अनुभव र रिफरेन्स नभई काम पाइँदैन । त्यसैले तीन महिना/छ महिना त अनुभव र रिफरेन्सका लागि सित्तैँमा काम गर्नैपर्छ । त्यसबाहेक अरु उपाय छैन । अंग्रेजी बोल्ने, बुझ्ने, यहाँका मानिसहरु कसरी बस्छन् भन्ने बारेमा बुझ्न क्लिनिक एट्याचमेण्ट गर्नैपर्छ । अहिले यहाँ डाक्टरहरुको अभाव छ । त्यसैले शुरुको छ महिना बिताएपछि बाँकी समय सजिलो हुनसक्छ ।
नेपाली डाक्टरहरुलाई हेर्ने पब्लिकको दृष्टिकोण कस्तो छ ?
नेपाली डाक्टरहरु प्रायले राम्रै काम गर्नुभएको छ । उहाँहरुको ख्याति पनि राम्रो छ । हामी इमानदार र भरपर्दा छौँ । शिक्षण र अनुसन्धानमा तुलनात्मक रुपमा हामीले गर्न सक्ने जति गर्न सकेका छैनौँ । नेपालीहरुलाई सबैले राम्रो रुपमा हेर्ने गरेका छन् । मिहिनेती जात हो, समस्या खडा गर्दैन भनेपछि के चाहियो । नेपाली डाक्टरहरु समग्रमा सफल छन् ।
नेपाली डाक्टरहरु युकेमा कसरी आए यसबारे बताइदिनुहोस् न ।
नेपालबाट नेपाली डाक्टरहरु बाहिर जानुको मुख्य दुई कारण थियो । पहिलो, एमबीबीएसको पढाइ नै नेपालमा थिएन । पोष्ट ग्राजुयसनको त कुनै कोर्स हुने कुरै भएन । त्यसमा एउटा सरकारी तवरबाट अर्को निजी सम्पर्कबाट विदेश पढ्न जाने गरिन्थ्यो । यी दुवै बाटोबाट आएका नेपाली डाक्टरहरु यहाँ छन् ।
युकेमा नेपाली डाक्टरहरु आउन थालेको चाहिँ कति भयो ?
नेपाली डाक्टरहरु सन् १९६० बाट आउन शुरु गरे तर धेरै १९७० मा आए । करिब ४०/४५ वर्षदेखि नेपाली डाक्टरहरु यहाँ छन् । त्यो बीचको २० वर्ष नेपाली डाक्टरहरुका लागि स्वर्ण युग थियो ।
कुन अर्थमा स्वर्ण युग भन्नुभएको हो ?
किनभने त्यतिबेला यहाँ आउन सजिलो थियो । यहाँका डिग्रीको विश्वव्यापी मान्यता थियो । सबै डाक्टरहरुलाई म पनि त्यस्तो डिग्री गरौँ भन्ने चाहना हुन्थ्यो । काम पनि पाउन सजिलो थियो ।
प्रसंग अलि बदलौँ, अहिले नेपलिज डक्टर्स एसोसिएसनले के के गर्दै हुनुहुन्छ ?
एसोसिएसनका सदस्य र परिवारका लागि वार्षिक साधारण सभा गर्छौँ र वर्षमा तीनपटक कार्यसमितिको बैठक बस्छौँ। नेपाली समुदायमा के हुँदैछ ? नेपाली समाजभित्र कसैलाई कुनै समस्या परेको छ कि ? कसरी सहयोग गर्न सक्छौँ भनेर सल्लाह गर्छौँ । यससँगै नेपालमा स्वास्थ्य क्षेत्र वा अन्य क्षेत्रमा सहयोग गर्छौँ । गत सालमा पनि सुनकोशीमा आएको बाढीपीडितका लागि छ लाख रुपियाँभन्दा बढी सहयोग गर्यौँ । यसबाहेक मानसिक रोग, मधुमेह, दन्त चिकित्सा लगायतका क्षेत्रमा क्याम्प गछौँ, तालिम दिन्छौँ र उपकरण वितरण गर्छाैँ । यहाँ पनि केही दिनअघि मुटुरोगका बारेमा जानकारी दिएका थियौँ । बीचबीचमा ड्रग्स, अल्कोहलका बारेमा जनचेतनामूलक कार्यक्रम गरेका थियौँ ।
डाक्टरहरु नेपाली समाजमा घुलमिल हुँदैनन् भन्ने गुनासो छ । के साँच्चिकै नेपाली डाक्टरहरु घुलमिल हुन नचाहेका हुन् त ?
शुरुशुरुमा डाक्टरसाबहरु जो २५/३० वर्षअघि आउनुभयो । युकेमा नेपालीको संख्या कम थियो । जब मानिसहरु कम्ती हुन्छ घरको सम्झना बढी आउँछ । नेपाली बोल्न पाउँ, नेपाली खाना खान पाउँ भनेर नेपलिज डक्टर्स एसोसिएसन बनाइयो । त्यतिबेला अरु संस्था पनि थिएनन् । म सन् १९८६ मा आउँदा नै त्यो भोगेको हुँ । अहिले तीन/ चार वर्षमा त नेपालीको संख्या यति बढेको छ कि जता गए पनि नेपाली भेट्नुहुन्छ । संस्थाहरु पनि तीन/चार सय भइसके । यस्तो अवस्थामा नेपाली डाक्टरहरु समाजमा भेटिएनन्, घुलमिल भएनन् भन्ने गुनासो ठीकै हो । किनकि डाक्टरहरुमा मात्र होइन अरु संस्था पनि त्यस्तै छ । जस्तो एनआरएनमा जति कार्यकारी पदमा छन् उनीहरुबाहेक अरुलाई त्यहाँभित्र के भइरहेको छ त्यो थाहा हुँदैन ।
अर्को कुरा, हाम्रो गतिविधि युकेमा कम छ, नेपालमा बढ्ता छ । त्यसैले हामीलाई सर्वसाधारणले देख्नुहुन्न किनभने हाम्रो उद्देश्य कसैलाई देखाउने मार्केटिङ गर्ने होइन । हाम्रो संस्था पनि सानो छ । यसबाहेक पेशागत रुपले पनि डाक्टरहरुलाई धेरै ब्यस्त हुनुपर्ने हुन्छ ।
बाहिरबाट हेर्दा सबैले राम्रो देख्छन् तर नेपाली डाक्टरका समस्या चाहिँ के छन् ?
जमिसकेका डाक्टरहरुको पेशागत समस्या छैन । बरु चुनौतीहरु आएका छन् । जस्तो छोराछोरी यहीँ जन्मे हुर्के । नेपाली बोल्न छाडे । त्यसले पिरोलेको छ । बिहेबारी गर्नुपर्दा नेपालीभन्दा बाहिर जानुपर्ने अवस्था आइपरेको छ । यहाँ आउँदा नेपाली नागरिक थियौँ तर यहाँको नागरिकता लिएपछि नेपाली नागरिकता त्याग्नुपर्यो । त्यसले नेपालसितको सम्बन्ध टुटेको महसुस भएको छ ।
बेलायतजस्तो सम्पन्न मुलुकमा नेपाली डाक्टरहरुले हासिल गरेको अनुभव र ज्ञानबाट नेपालजस्तो मुलुकले कसरी लाभ लिन सक्छ ?
मेरो विचारमा अहिले हामीले यहाँ जे प्रविधि अपनाएका छौँ जुन सुविधा दिइरहेका छौँ ती सबै नेपालका प्रमुख शहरहरुमा उपलब्ध छन् । त्यसो हुनाले नेपालमा बाहिरबाट ल्याउनुपर्छ भन्ने आवश्यकता म देख्दिनँ । बरु पैसा हुनेले मात्र ती सबै सेवासुविधा उपभोग गर्न पाएका छन् बहुसंख्यक नेपालीले पाएका छैनन् । त्यो समस्या कसरी समाधान गर्ने प्रमुख प्रश्न हो । त्यसका लागि नेपालीहरुले नै कसरी सबैलाई पुग्नेगरी वितरण गर्ने भन्ने बारेमा गम्भीरतापूर्वक सोच्नुपर्छ ।
प्रस्तुति ः नरेश खपाङ्गीमगर
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ