लण्डन । डेढ वर्षदेखि विवादको भुँवरीमा पर्दै आएको गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको शनिबार भएको विशेष साधारणसभाले महेन्द्र कँडेललाई अध्यक्ष घोषणा गरेको छ ।
एनआरएनए आइसिसीका महासचिव कुमार पन्तले एनआरएनए आइसिसीको निर्णय र आइसिसीले गठन गरेको छानविन समितिको सुझावअनुसार आजदेखि महेन्द्र कँडेल एनआरएनए युकेको अध्यक्ष कायम रहेको घोषणा गरे ।
आइसिसीले योगेन्द्र क्षेत्रीको कार्यसमितिलाई नेतृत्व हस्तान्तरणका लागि विशेष साधारणसभा डाक्न लगाए पनि सौहार्द्धपूर्ण वातावरणमा नेतृत्व हस्तान्तरण भने हुन सकेन ।
नयाँ नेतृत्वलाई बधाई दिन मञ्चमा बोलाइएका महासचिव पन्तलाई क्षेत्री पक्षधरहरुले घेराबन्दी, होहल्ला र माइक खोसेर सम्बोधन गर्न अवरोध गरेका थिए । कार्यक्रम चल्दाचल्दै यसअघि पनि सोही समूहले पटकपटक माइक खोस्ने, होहल्ला गर्ने गरेको थियो ।
कार्यक्रमस्थल युकेको अल्डरसटस्थित कन्नट स्कुलमा राति करिब १० बजे दुईवटा सवारीसाधनमा आएका प्रहरीहरु प्रवेश गरी होहल्ला गर्ने समूहलाई तितरवितर पारेपछि पन्तले छोटो शुभकामना र बधाई मन्तब्य दिँदै महेन्द्र कँडेल आजबाट अध्यक्ष भएको घोषणा गरे । विशेष साधारणसभाको माहौल जे जस्तो भए पनि आइसिसी आफ्नो निर्णयमा अडिग रहने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।
सर्वसाधारण र आइसिसीले अपेक्षा गरेअनुसार विशेष साधारणसभामा नयाँ नेतृत्वले प्रतिवद्धता व्यक्त गर्ने र उपस्थित अतिथि तथा संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना र बधाई दिने कार्यक्रम भने सौहार्द्धपूर्ण वातावरणमा हुन सकेन ।
यसअघि विशेष साधारणसभा चल्दाचल्दै बीचैमा मञ्च लिएर एनआरएनए युकेका अध्यक्ष योगेन्द्रबहादुर क्षेत्रीले पदबाट राजिनामा दिएको घोषणा गरेका थिए । आफू दुई वर्षका लागि निर्वाचित भए पनि ‘केही अग्रजहरुको अवैधानिक सोच र आर्थिक अपारदर्शिता’ भोग्नु परेको आरोप उनले लगाएका छन् । आफ्नो सोच अनुसार काम गर्न नपाएकोमा दुःख व्यक्त गर्दै उनले ‘समाजको एकता र एनआरएन आइसिसीको निर्णयलाई मान्नुपर्ने कर्तव्यका कारण’ राजिनामा दिनुपरेको उल्लेख गरेका छन् ।
‘निवर्तमान अध्यक्ष कुल आचार्यको कार्यसमितिबाट अझै पनि आर्थिक हिसाबकिताब स्पष्ट रुपमा नआएको र महेन्द्र कँडेलज्यूले बेलायतबासी हजारौँ नेपाली जनताबाट उठाएको सदस्यता शुल्कबारे पनि जनतामा अस्पष्टता’ रहेकोले छानविन गर्न उनले आइसिसीसित माग गरेका छन् ।
यसअघि कुल आचार्यकै आार्शिवादमा एनआरएन युकेको अध्यक्षमा दुलाबाट फुत्त छाएका क्षेत्री अहिले आचार्यसित खनिएका छन् । संस्था धनमा भए धन, ऋणमा भए ऋण, आसामी र साहुहरुको विवरण हस्तान्तरण गर्नुपर्नेमा उनले विशेष साधारणसभालाई इवी साँध्ने पर्वका रुपमा प्रयोग गरे । कँडेलले यसअघि आइसिसीले गठन गरेको टोलीलाई सदस्यताको विवरण र शुल्क हस्तान्तरण गरिसकेकोमा उनले त्यसमाथि पनि अविश्वास जनाउँदै विषवमन गर्न बाँकी राखेनन् ।
यसैगरी, संस्था विधि विधानअनुसार नचलेको भन्दै क्षेत्री पक्षका महासचिव योगकुमार फगामी र सचिव संगीता मरहट्ठाले पनि एकपछि अर्को गर्दै पदबाट राजिनामा दिएका छन् ।
क्षेत्री, फगामी र मरहट्ठाले राजिनामा दिएपछि अध्यक्ष मण्डलका संयोजक भक्त गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला