कोरोना टेष्ट किटसहितको स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण

काठमाडांै । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना टेष्ट किटसहितको स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
एनआरएनए दक्षिण कोरिया शाखाले संकलन गरेको उक्त सामग्री सहयोगस्वरुप नेपाल सरकारलाई शुक्रवार हस्तान्तरण गरिएको हो ।
एनआरएनए दक्षिण कोरियाले खरिद गरेका ४ हजार टेस्ट किट र ५ सय वटा स्वास्थ्यकर्मीले लगाउने विशेष सुरक्षा उपकरण (पीपीई) नेपाल पठाइएको अध्यक्ष कुमार पन्तले जनाए । ती सामग्री अगामी हप्तासम्म नेपाल सरकारमार्फत स्वास्थ्य केन्द्रमा पुग्ने संघले जनाएको छ ।
ती सामग्री मध्ये ५० थान पिपिई नेपाल सरकारका ४ वटा अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान १५ थान, त्रिशुली अस्पताल, नुवाकोट ५ थान, धौलागिरी अंचल अस्पताल २२ थान र पर्वत जिल्लाअस्पताललाई ८ थान जानेछन । प्रति किट १० जना परीक्षण गर्न मिल्ने भएकाले ४० हजार नमुना परीक्षण गर्न र टेष्ट गरेको ३ घण्टामै नतिजा आउने बताइन्छ ।

यसैवीच, गैरआवासीय नेपाली संघ चीनको पहलमा ५ सय ५० वटा आईआर थर्मोमिटर, २० हजार वटा पीपीई सेट, १७ हजार ४ सय केएन ९५ मास्क, ४७ हजार डिस्पोजेबल मास्क र ४० लाख पञ्जा पनि एक दुई दिन भित्रै नेपाल पुग्ने जनाकारी अध्यक्ष पन्तले दिए ।

‘एक नेपाली एक हेल्थ किट अभियान’ अन्तर्गत संकलित रकमबाट कोरोना संक्रमण चेक गर्ने हेल्थ किट खरीद गरि पठाउने निर्णय बमोजिम उक्त सामग्री नेपालको लागि कार्गो गरिएको एनआरएनएले जनाएको छ ।

एनआरएनए दक्षिण कोरिया र अभियन्ताहरु तथा त्यहाँस्थित संघसंस्थाहरुले तीन दिन सञ्चालन गरेको राहत संकलन अभियानबाट करिव एक करोड ४० लाख नेपाली रकम जम्मा भएको थियो ।

कोरोना भाइरस संक्रमणको छोटो अबधिमै रिजल्ट दिने कोरियन किट नेपाल पठाउन केही ढिला भएको एनआरएनए दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुबेदीले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री