गुरुङ सोसाइटी केन्टले मनायो ल्होसार


लन्डन । गुरुङ सोसाइटी केन्ट युकेले ल्होसार कार्यक्रम सम्पन्न गरेको छ । फोकस्टोन केन्टस्थित हकिङ कम्युनिटी सेन्टरमा भएको सो कार्यक्रमको अध्यक्षता समाजकी अध्यक्ष श्रीमती राजदेवी गुरुङले गरेकी थिइन् भने प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी थिए ।

कार्यक्रमका विशेष अतिथि एनआरएनए युकेकी अध्यक्ष पुनम गुरुङ, मेयर ग्लेन हिवर्ट र काउन्सिलर नवीन सिवा थिए । फो ल्हो (मृग वर्ग) को विदाई र च्यु ल्हो (मुसा वर्ग) को स्वागत गर्न आयोजित उक्त कार्यक्रममा केन्टबासी तमु (गुरुङ) हरुको बाक्लो सहभागिता थियो ।

समाजका महासचिव गोलमान गुरुङले हेल्थ एन्ड सेफ्टी सम्बन्धि जानकारीका साथै औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए भने समाजका उपाध्यक्ष एवं च्यु ल्होसार कार्यक्रम संयोजक प्रेम कुमारी गुरुङले स्वागत मन्तब्य दिएका थिए ।

त्यस्तै, हालै विभिन्न विषय र क्षेत्रमा उच्च शिक्षा हांसिल गरेका तमु विद्यार्थीहरुलाई प्रमुख अतिथिद्वारा सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा ए लेवलमा उच्च अंक ल्याउने रविन्सन गुरुङ, विभिन्न विश्वविद्यालयबाट स्नातक गर्ने अस्मिता गुरुङ, सरिक गुरुङ, सरिना गुरुङ, आसिफ गुरुङ, डा. सोनाम गुरुङ, डा. ललिता गुरुङ थिए ।

साथै उक्त कार्यक्रममा प्रत्येक वर्षमा झैं यसवर्ष पनि जिसिएसइमा सबैभन्दा राम्रो अंक ल्याइ उत्तिर्ण तमु विद्यार्थी सफिन गुरुङलाई ब्राइट फ्युचर अवार्ड र १०१ पाउण्डको चेकसहित खादाले सम्मान गरिएको थियो ।

त्यसैगरी समाजको विभिन्न क्षेत्रमा योगदान दिएवापत यस वर्षको उत्कृष्ट समाज सेवा सम्मान पत्र २०१९ बाट समाजसेवी अम्बर गुरुङ सम्मानित भए । कार्यक्रमका प्रमुख अतिथि र समाजका अध्यक्षले अम्बर गुरुङलाई गुरुङहरुको परम्परा अनुसार फेटा लगाएर सम्मानपत्र हस्तान्तरण गरेर बधाई दिएका थिए । समाजको तर्फबाट एनआरएनए युके अध्यक्ष पुनम गुरुङलाई पनि राजदूत र समाजका अध्यक्षले फूल र खादाले बधाई तथा शुभकामना दिएका थिए ।

औपचारिक कार्यक्रमको अन्त्यतिर फस्ट बटालियन रोयल गोरखा राइफल्सका गोर्खा मेजर, पूर्व काउन्सिलर धन गुरुङ र समाजको अध्यक्षक बाहुलीबाट राजदूतलाई खुकुरी र भांग्रा अनि उनकी धर्मपत्नीलाई गुरुङहरुको प्रचलन अनुसार पछ्यौरा मायाको चिनो स्वरुप प्रदान गरि स्वागत तथा धन्यवाद दिइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि राजदूत डा. सुवेदीले समाजले आयोजना गरेको च्यु ल्होसारमा सहभागी हुन पाउंदा एकदमै खुशी लागेको बताउंदै सम्मानित ब्यक्तित्वहरुलाई बधाईसहित ल्होसारको शुभकामना दिए । उनले समाजका सदस्यहरुलाई दूतावास हेर्न आउन अनुरोध गरे भने ‘नेपाल भ्रमण वर्ष-२०२०’ को प्रचारप्रसार गरिदिन अनुरोध गरे ।

समाजका अध्यक्ष राजदेवी गुरुङले कार्यक्रममा सहभागी सबैलाई धन्यबाद दिइन् ।

दोस्रो चरणको सांस्कृतिक कार्यक्रम सांस्कृतिक संयोजक ममता गुरुङ र इन्द्र गुरुङको नेतृत्वमा सञ्चालन भएको थियो । सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरुले उत्कृष्ट नृत्यहरु प्रस्तुत गरे । कलाकारहरुको उत्कृष्ट मनमोहक नृत्यले दर्शकहरुको मन जितेको थियो । 
निर्धारित समयमा सुरु भएको औपचारिक कार्यक्रम पश्चात प्रस्तुत गरिएको सांस्कृतिक कार्यक्रमले प्रमुख अतिथि, विशेष अतिथि लगायत दर्शकहरुले झुमेर भरपूर मनोरञ्जन लिएका थिए । साथै युवा युवतीहरुको बाक्लो उपस्थिति रहेको ल्होसार सांझमा कलाकारहरुले विभिन्न आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

सो अवसरमा सुन्दर नृत्यहरु प्रस्तुत गरेका सबैलाई गुरुङ सोसाइटी केन्ट यूकेका अध्यक्ष राजदेवी गुरुङले अन्तमा खादा अर्पण गरि मायाको चिनो प्रदान गरेकी थिइन् ।

केन्टबासी तमु (गुरुङ) हरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा गुरुङ सोसाइटी केन्ट यूकेका सल्लाहकार साथै कार्यसमितिले प्रवेशद्वारमा पाहुनाहरुको स्वागत, जलपान तथा टिकटको विशेष व्यवस्थापन गरेका थिए । त्यस्तै, गायक बिसी राईले साउण्ड सिस्टम व्यवस्थापन, नेत्र तमु तथा अमर राईले फोटोग्राफी र नायन्द्र राईले भिडियोग्राफीमा विशेष भूमिका खेलेका थिए ।
अन्तमा बिसी राईले राजदूतले नै रचना गरेको गीत गाएर राजदूतसहित सबैको मन जिते । राफल ड्र महिला संयोजक पवित्र गुरुङले सञ्चालन गरी आफू खुशीको नाच नाचेर कार्यक्रम समापन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री