बेलायत लगायत अधिकांश पाश्चात्य मुलुकमा विद्यालयको पढाई सक्दा धेरै लब्धांक पाएका विद्यार्थीले मात्र कानून पढ्न पाउंछन् । नेपाल र दक्षिण एसियामा जस्तो डाक्टर र इन्जिनियर पढ्न नपाएकाले कानून पढ्ने परम्परा बेलायतमा छैन् । त्यसमाथि पनि बेलायतका प्रतिष्ठित विश्वविद्यालयबाट कानून पढिसकेपछि त्यसमध्ये पनि उत्कृष्ट विद्यार्थीले मात्रै ब्यारिस्टर हुने मौका पाउंछन् । त्यसैले बेलायतको ब्यारिस्टर हुनुलाई बेलायतमै फलामे च्युरा चपाएजस्तो हो भनिन्छ र कुशाग्र दिमाग, परिष्कृत भाषा, अनुकरणीय व्यवहार भएको व्यक्ति भनेर संसारमै बेलायती ब्यारिस्टरको सम्मान गरिन्छ ।
त्यस्ता ब्यारिस्टरहरुको र न्यायाधिशहरुको एक संस्था मिडल टेम्पल (जसको यस पंक्तिकार पनि सदस्य छ) ले प्रत्येक हप्ताको एकदिन बिहान श्रीमद्भगवद्गीताको प्रवचन कार्यक्रम सञ्चालन गर्दै आएको निकै समय भइसक्यो । कानूनका यस्ता विद्वानहरुले आफ्ना चुनौतिपूर्ण हप्ता र दैनिकी कार्यभार सम्हाल्नुअघि जिन्दगी र कामको उद्देश्य के हो, सुखी र सफल जिन्दगी कसरी बिताउन सकिन्छ र सन्तोषजनक न्याय सम्पादन र कानून व्यवसायीको जीवन कसरी सार्थक बनाउन सकिन्छ भनेर प्रातः कालको शुभ मुहुर्तमा गीताको प्रवचन सुनेर आफ्नो दिनचर्या शुरु गर्दछन् । ब्राम्हणहरुले टुप्पी राखे जस्तै बेलायतका ब्यारिस्टरहरुले टाउकामा लगाउने वीगमा पनि टुप्पी जस्ता दुईवटा ग्रन्थी भएको लुर्का बनाइएको हुन्छ । हिन्दू ब्राम्हण र कानूनका अंग्रेजी ब्राम्हणहरुबीचको यो समानताको पछाडि के कारण छ त्यो खोजको नै विषय हो । वास्तवमा अर्को महिना मेरा पिताजी स्वर्गीय पण्डित होमनाथ सुवेदीको शतवार्षिकी स्मृति समारोह र स्मृतिग्रन्थ प्रकाशन गर्ने कार्यक्रममा सहभागी हुन म नेपाल आउंदा मेरो बेलायतको ब्यारिस्टरको वीग पनि ल्याउने सोचेको छु ।
यो आलेखका पंक्तिकारले जस्तै हिन्दूहरुको बाहुल्यता भएको मुलुक नेपालमा पनि सदाचार र सत्कर्मको मार्ग निर्देशन गर्ने गीता पढेर दिनचर्या शुरु गरे सबैले सुखी र सफल जिन्दगीको महशुस गर्ने थिए । नेपालमा जुन सांस्कृतिक विचलन देखिएको छ, त्यसलाई रोक्न यस्तो अध्ययनले सबैलाई मद्दत गर्नेछ । गीता यस्तो ग्रन्थ हो जसबाट विद्वान होस् वा सामान्य शिक्षित होस्, त्यसले राम्रो पाठ सिक्न सक्तछ । पाश्चात्य मुलुकमा संस्कृतका ग्रन्थका महत्व बढ्दै जानु तर नेपाल जस्तो आफ्नै देशमा त्यसको महत्व घट्नु आफैंमा एउटा बिडम्बना हो । गीता हिन्दूले मात्र पढ्ने ग्रन्थ होइन । जसरी बेलायतका न्यायाधिश र ब्यारिस्टरहरुले गीताको महत्व बुझेका छन् त्यसैगरि नेपालीहरुले र खासगरि न्यायपालिका र कार्यपालिकामा काम गर्नेहरुले पनि गीता पढेमा र त्यसको सन्देश मनन गरेमा तिनीहरुको जीवन पनि सार्थक बन्नमा मद्दत पुग्न सक्तछ र तिनीहरु सुशासनका सारथी बन्न सक्तछन् ।
नेपालमा जुन सांस्कृतिक विचलन आएको छ त्यो हिंसामा विश्वास गर्नेहरु वा हिंसाको राजनीतिक पृष्ठभूमि भएका व्यक्तिहरु र मुल्य र मान्यताविहीन सत्ता केन्द्रित राजनीति गर्नेहरुको व्यवहारले ल्याएको विचलन हो । नेपालको हालको कुनै पनि राजनीतिकर्मीलाई जनताले उच्च नैतिक धरातलमा उभिएको व्यक्ति भनेर सम्मान गर्न सक्ने स्थिति छैन् । राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न दलका सभापति वा अध्यक्ष लगायतका सबै राजनीतिकर्मीहरुले त्यो सम्मान आर्जन गर्न सक्नुपर्दछ । नेपालमा हालका प्रमुख दलका अधिकांश शीर्षस्थ नेता बाहुन् भनेर केही लेखकले टिप्पणी गरेको पाइन्छ तर यिनीहरु मध्ये धेरैमा ब्राम्हणको संस्कार देखिएको छैन् । झुट, भ्रष्ट, अनैतिक र हिंसामा विश्वास गर्ने व्यक्ति ब्राम्हण हुंदैनन् । ब्राम्हण एउटा संस्कार हो जात होइन् । जन्मले र जातले वा जनैको धागो लगाएर मात्र कोही व्यक्ति ब्राम्हण हुंदैन् । शास्त्रमा भनिएकै छ, कर्मणा द्वीज उच्यते वा संस्कार द्वीज उच्यते । अहिंसा, सत्कर्म, सदाचार, उच्च नैतिक धरातल, बसुधैव कुटुम्बकम, सर्वे भवन्तु सुःखीन र सारा मानव प्राणी समान हुन् भनेर सबैलाई आदर गर्न सक्ने जो कुनै व्यक्ति ब्राम्हण हो ।
जसरी बेलायती न्यायाधिश र ब्यारिस्टरहरुले गीताको महत्व बुझेका छन्, त्यसैगरि नेपालका न्यायाधिश, कानून व्यवसायी, राजनीतिकर्मी, सबै वर्ग, सम्प्रदाय र आस्था भएका व्यक्तिले माथि उल्लेखित मान्यतामा विश्वास गरेमा नेपालमा हाल देखिएको सांस्कृतिक विचलन, न्यायपालिका र कार्यपालिकामा देखिएको भ्रष्टाचार र आपराधिक श्रृंखला धेरै हदसम्म रोकिन सक्दछ र कार्यपालिका र न्यायपालिकाको भ्रष्टाचार कम हुन सक्तछ । न्यायपालिका र कार्यपालिकाका उच्च तहका व्यक्तिमा हुनुपर्ने हाम्रा धर्मग्रन्थले देखाएको संस्कार वा आधुनिक संस्कारले सिकाएको सुशासनको संस्कार दुवैलाई आत्मसात गर्न नसकेका व्यक्तिहरु हावी हुनु नेपालको वर्तमान स्थितिको प्रमुख कारण हो । त्यसैले हिन्दू वा गैर हिन्दू सबैले सदाचार, सत्कर्म र उच्च नैतिक धरातलमा बस्न प्रोत्साहित गर्ने गीता जस्ता ग्रन्थ पढेर त्यसलाई व्यवहारमा उतार्न सके सबै लाभान्वित हुनेछन् । वास्तवमा मैले बेलायतका परराष्ट्र मन्त्रीको मानवअधिकार सम्बन्धि सल्लाहकार भएर काम गर्दा होस् वा क्याम्बोडियाका लागि संयुक्त राष्ट्रसंघको मानवअधिकार सम्बन्धि प्रतिनिधि भएर काम गर्दा होस् वा राष्ट्र, राष्ट्रहरुबीचको मुद्दामा हल्याण्डको राजधानी हेगमा अवस्थित अन्तर्राष्ट्रिय न्यायालयमा काम गर्न जांदा होस् श्रीमद्भगवद्गीता र चाणक्य नीति भन्ने पुस्तक संगै लिएर जाने गरेको छु । चाणक्य नीतिका सबै कुरा अहिलेको समय सापेक्ष नहुन सक्छन् तर त्यसका अधिकांश सन्देश अहिले पनि लाभदायक छन् । समय समयमा यस्ता ग्रन्थले दिने सन्देश मनन गरेर आफ्नो कार्यसम्पादन गरेको छु र यसबाट धेरै लाभान्वित भएको छु ।
नेपाललाई हिन्दू राष्ट्र राख्न आवश्यक छ छैन् भन्ने वहस सकिएको छैन् । त्यो राख्नु र नराख्नुले आम नेपालीलाई खासै फरक पार्दैन । पञ्चायतकालमा पनि जनताले पूर्ण रुपमा राजनीतिक अधिकार उपभोग गर्न नपाएपनि यथेष्ट धार्मिक सहिष्णुता थियो र सबै धर्म, वर्ग सम्प्रदायका मानिसले आफ्नो धार्मिक संस्कार अनुसारको क्रियाकलाप गर्न पाएकै थिए । हिन्दू धर्म वा बेदान्त दर्शनले परम्परागत रुप देखिनै सर्वजन समभाव सर्वजन सुखाय, सर्वजन हिताय र धार्मिक सहिष्णुतालाई मान्यता दिएकै थियो ।
लोकतान्त्रिक मुलुकहरुमा अधिकांश मानिसको धार्मिक आस्था जस्तो भएपनि सबै धर्म र सम्प्रदायका मानिसले आफ्नो धार्मिक संस्कार अनुसारको क्रियाकलाप छुट पाएका छन् र पाउनुपर्छ भन्ने विश्वव्यापी मान्यता हो । उदाहरणार्थ, क्रिश्चियनहरुको वाहुल्यता भएको बेलायतमा म जस्तो शुक्ल यर्जुवेदाध्यायी बेदान्ती हिन्दूले मेरा पिताजी स्वर्गीय पण्डित होमनाथ सुवेदीको शतवार्षिकीको अवसरमा अर्को महिना
मेरा माता पिताजीको सम्मान र सम्झनामा श्रीमद्भागवत महापुराणको आयोजना गर्दैछु । यो मेरो व्यक्तिगत मान्यता र क्रियाकलापमा बेलायत सरकारले कुनै चासो राख्दैन र हस्तक्षेप पनि गर्दैन । धार्मिक सहिष्णुता लोकतन्त्रको अभिन्न अंग हो तर त्यो भनेर गीता जस्ता अनुपम ग्रन्थमा भएका अमृतरुपी सन्देशलाई पनि तिलान्जली दिंदै जाने हो भने नेपालमा भ्रष्टाचार कम गर्ने, सुशासन कायम गर्ने र
आपराधिक श्रृंखला रोक्ने कार्य गाह्रो हुंदै जानेछ ।
(प्रा. सुवेदी बेलायतको लिड्स विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक र बेलायतका ब्यारिस्टर पनि हुन्)
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा