लन्डन । आगामी मे ७ मा हुने निर्वाचनमा डाटफोर्ड बरो काउन्सिलको काउन्सिलर पदका लागि उम्मेदवारी दिएका बच्चु कैलाश कैनीको चुनावी अभियान तीव्र छ अहिले । बेलायतको न झरी, न कठ्यांग्रिदो चिसो । केही पर्वाह नगरि उनी यस सप्ताहन्त पनि मत माग्दै घर घर पुगे । तर, चुनाव नजिकिंदै जांदा पनि मतदाता र सर्वसाधारणबीच यहांको राजनीतिक सरगर्मी त्यति ताते झैं लाग्दैन । आमनागरिक शान्त देखिन्छन्, नेपाल जस्तो पर्चा टांस्दै हिंड्ने र आमसभाको रौनक पनि देखिएको छैन् । आखिर कसरी हुन्छ यहांको प्रचार प्रसार ?
कैनीकै अनुभवमा यस्तो छ बेलायतको चुनावी अभियान ः
आगामी मे ७ मा हुने निर्वाचनमा डाटफोर्ड बरो काउन्सिलको काउन्सिलर पदका लागि लेबर पार्टीको तर्फबाट मैले उमेदवारी दिंदैछु । हाल चुनाबी प्रचार प्रसारको लागि म र पार्टीका अरु साथीहरु विभिन्न कार्यक्रममा संलग्न छौं । पार्टीको कार्यक्रम संयोजकले हरेक हप्ता कुन कुन ठाउँमा के कार्यक्रम गर्ने भन्ने तय गरेर सबैजना स्वयंसेवक तथा कार्यकर्ताहरुलाई जानकारी गराउनु हुन्छ । जस अनुसार सबै भन्दा बढि घर दैलो कार्यक्रम हुंदैछ । घर दैलोमा जाँदा हरेक कार्यकर्तासंग मतदाता नामावली र ठेगाना हुन्छ । हामी कार्यकर्ताहरु पार्टीको भावी नीति र कार्यक्रमहरु सम्बन्धि जानकारी लिएर हरेक घर दैलोमा जान्छौं । साथै यो अवसरमा विभिन्न प्रकारका सामग्री जस्तै प्रचार पुस्तिका, लिफलेटहरु पनि वितरण हुन्छ । स्थानीय बासिन्दाको कुनै समस्या तथा गुनासो भएमा सो कुराको जानकारी लिन्छौं र सम्बन्धित निकायसम्म पुर्याउंछौं । दोस्रो खालको कार्यक्रम भनेको विभिन्न स्थानीय कार्यक्रममा पार्टीको तर्फबाट स्टल राख्ने र पार्टीको कार्यक्रमबारे प्रचार गर्न विभिन्न सामाग्री वितरण गर्ने तथा मौखिक जानकारी दिने हो ।
त्यसै गरि टेलिफोनबाट पनि मतदाताहरुलाई सम्पर्क गरेर पार्टीको कार्यक्रमबारे जानकारी गराउंछौ । यसरी टेलिफोन र घर दैलोमा सिधा सम्पर्क गर्दा हामी हरेक मतदातालाई तपाईंले आगामी निर्वाचनमा कुन पार्टीलाई भोट हाल्ने बिचार छ भन्ने कुरा पनि सोध्छौं । धेरै जसो मतदाताले आफ्नो विचार कुनै कुरा नलुकाई भन्छन् । पार्टीसंग यी सबै कुराको जानकारी लिखित रुपमा राख्ने प्रचलन छ । साथै हामी नियमित रुपमा आफ्नो कार्यक्रम र मतदाताहरुबाट प्राप्त प्रतिक्रियालाई समिक्षा गर्छौं ।
मेरो अनुभवमा बेलायती मतदाताहरु व्यक्ति भन्दा पनि पार्टीको नीति तथा कार्यक्रम हेरेर र उम्मेदवारको अनुभव तथा क्षमता हेरेर भोट हाल्ने गर्छन् । मेरो मुख्य प्रतिस्पर्धा टोरीसंग हुनेछ ।
म अहिले डाटफोर्ड निर्वाचन क्षेत्र लेबर पार्टीको Trade Union Liaison Co-ordinator र लेबर पार्टीको सन् २०१४ सेप्टेम्बरमा सम्पन्न भएको पार्टीको महासम्मेलनको लागि डाटफोर्ड निर्वाचन क्षेत्र लेबर पार्टी समितिको तर्फबाट एक्लो प्रतिनिधिको रुपमा सहभागी भएको थिएँ । सन् २००९ देखि म UNISON Trade Union को सदस्यको रुपमा र सन् २०१३ देखि लेबर पार्टीको सक्रिय सदस्यको रुपमा कार्यरत छु ।
म सानैदेखि राजनीतिक परिवारमा जन्मेर राजनीतिक वातावरणमा हुर्केको हुँ । मलाई सानैदेखि राजनीतिमा रुचि थियो । नेपालमा विद्यार्थी कालमा म राजनीतिमा संलग्न थिएं । मेरो राजनीतिक जीवन विद्यालयकाल देखि नै नेपाल विद्यार्थी संघको सदस्यको रुपमा सुरु भएको हो । नेपालमा पंचायती शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाको लागि २०४२ सालमा नेपाली कांग्रेसले सुरु गरेको सत्याग्रहमा सहभागी भएर पहिलो पटक प्रहरी गिरफ्तारीमा परेको थिएं ।
म करिब २३ वर्षदेखि अस्पताल ब्यवस्थापनको क्षेत्रमा काम गरिसकेको छु भने करिब १० बर्ष देखि म बेलायतको सरकारी राष्ट्रिय स्वास्थ्य सेवा (National Health Service – NHS) मा व्यवस्थापकको रुपमा काम गर्दै छु । हाल म Queen Elizabeth Hospital लण्डनमा बरिष्ठ व्यवस्थापकको पदमा काम गर्दैछु । नेपालमा शहिद गंगालाल मुटुरोग अस्पातलमा १० वर्ष प्रशासन प्रमुखको रुपमा कार्यरत रहें । हाल म University of Greenwich, लण्डनबाट अस्पताल व्यवस्थापन बिषयमा विद्यावारिधि गर्दै छु । मैले अस्पताल व्यवस्थापकको बिषयमा दुईवटा पुस्तक प्रकाशित गरेको छु । मेरो साहित्यमा समेत रुचि छ । मेरो कविताहरुको संग्रह ‘मेरो रहर’ समेत प्रकाशित भएको छ । मेरा लेख रचनाहरु नेपाली पत्रिका र प्रकाशन गृहहरुबाट प्रकाशित छन् । म नियमित रुपमा मेरो नाममा रहेको ब्लगमा समेत लेख र विचार प्रकाशित गर्छु ।
डाटफोर्ड बरो काउन्सिल लण्डनको साउथ इस्ट स्थित केन्टमा अवस्थित छ । डाटफोर्डको जनसंख्या करिव एक लाख छ । डाटफोर्डको क्षेत्रफल करिब ७३ वर्ग किलोमिटर छ । काउन्सिलको काम स्थानिय स्तरको नीति नियमको तर्जुमा गर्ने र स्थानिय स्रोत र साधन को उपयोग गर्ने तथा स्थानिय विकास निर्माणको काम गर्ने हो । काउन्सिलरले आफूले प्रतिनिधित्व गरेको क्षेत्रको जनताको हक, हित र समस्या समाधानको लागि पहल गर्ने मुख्य काम हुन्छ ।
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत