लन्डन । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको समानता आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । सोमबार समितिले लन्डन नर्थहोल्टमा आयोजना गरेको विशेष कार्यक्रममा नेता नेपालले भूतपूर्व गोर्खाहरुको समस्या विशिष्ठ भएको जनाउंदै उनीहरुको आन्दोलन समानताको अधिकारका लागि भएको धारणा राखे ।
‘आफ्नो ज्यान जोखिममा राखेर, मृत्युसंग पौंठेजोरी खेलेर तपाईंहरु ब्रिटिश सेनामा प्रवेश गर्नुभयो तर व्यवहारमा भेदभाव गरियो’- सयौं वृद्धवृद्धा भूपू गोर्खा एवं अभियन्ताहरुमाझ नेता नेपालले भने, ‘प्रजातन्त्रको प्रवक्ताको रुपमा प्रस्तुत हुने र आफूलाई प्रजातन्त्रको जननी भन्ने ब्रिटेनले गोर्खाहरुलाई भेदभाव गरेर प्रजातन्त्रको मुल्य मान्यता कत्ति पालना गरेन । यो सुन्न पनि अठेरो लाग्छ ।’
नेपाल सरकारले हालै लन्डनमा भएको वार्तामा गोर्खाहरुको विषय उठान गरेको नेपालले जानकारी दिए । ‘नेपालका परराष्ट्र सचिव र महामहिम राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतको परराष्ट्र मन्त्रालय स्तरमा कुराकानी गरेर विषय उठाउनु खुशीको कुरा हो’- नेपालले भने, ‘नेपाल सरकारको साथमात्र होइन, सिंगो नेपालको संसद तपाईंहरुको पक्षमा उभिएको छ ।’
नेता नेपालले भूतपूर्व गोर्खाहरुलाई संख्यात्मक शक्तिमा वृद्धि र एकता सुदृढ गराउन पनि सुझाव दिए । तर्कको आधार र अन्तर्राष्ट्रिय कानुनका आधारमा सशक्त रुपमा प्रस्तुत भए ब्रिटेनले समस्या बुझ्ने उनको तर्क थियो ।
‘भोक लाग्यो भने सानो बालकले त कराउनुपर्छ भने हामीले ध्यान आकर्षण त गर्नुपर्छ’- उनले भने- ‘असमानता अन्त्य होस् भन्ने तपाईंहरुको माग जायज छ । अब त्रिपक्षीय सन्धि होइन, बेलायत नेपाल द्वीपक्षीय सम्बन्ध राख्नुपर्छ ।’
‘तपाईंहरुले वीरताको, निष्ठाको, इमान्दारिताको, समर्पणको म कदर र प्रशंसा गर्न चाहन्छु’, नेपालले भने, ‘तपाईंहरुले वीरताको इतिहास रच्नुभएको छ । वीर गोर्खा सैनिकहरुले विश्व शान्तिका लागि धेरै योगदान गरेका छन् ।’
नेपाली महिलालाई ब्रिटिश सेनामा भर्ती लिइने कुराले मख्ख नपर्न उनले आग्रह गरे । ‘नेपाली चेलीलाई अरु देशको सेनामा पठाउने काम नगर्नुहोस् भनेर मैले परराष्ट्र सचिव, मन्त्रीलाई भनेको छु’- उनले भने- ‘त्यो काम अगाडि नबढोस् । नेपाली चेलीको अस्मिता लुट्न सबै तयार हुन्छन् । महिला भर्ती सान होइन खतराको कुरा हो ।’
संविधानमा गैर आवासीय नागरिकता प्रवन्धबारे बोल्दै नेता नेपालले ‘एक पटकको नेपाली सधैंको नेपाली’ हुनुपर्ने धारणा राखे । बाबुआमा मात्र होइन, २० औं पुस्तासम्म नेपाली हुनुपर्ने उनले बताए । नेपाली भएपछि आफ्नो भाषा, संस्कृति, इतिहासप्रति गौरववोध हुने र नेपाली भावना जाग्ने नेता नेपालको विश्वास थियो ।
उक्त कार्यक्रममा सोलिसिटर राजु थापा, गोर्खा अभियन्ताहरु समितिका अभियान निर्देशक ज्ञानराज राई, कार्यवहाक प्रमुख संयोजक सूर्य नेम्वाङ, सह संयोजक सन्तोष थलङ, सचिव धन गुरुङ लगायतले गोर्खा आन्दोलन र मागबारे बोलेका थिए । सोलिसिटर राजु थापाले बेलायतको न्यायलयले मानवअधिकारका आधारमा भूपू गोर्खा वयस्क सन्तानहरुको मुद्दा जिताएपनि उनीहरुलाई सरकारले निसर्त आवासीय अधिकार दिइनुपर्ने बताए । निर्देशक राईले समान पेन्सन पाए बेलायत रहेका करिब ९५ प्रतिशत भूपू गोर्खा नेपाल फर्कन तयार रहेको धारणा राखे । राईले भूपू गोर्खाहरुका माग पुरा गराउने सवालमा नेपाल सरकारले बेलायत सरकार समक्ष राखेको अडानको खुलेर प्रशंसा गरे ।
उक्त अवसरमा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति तथा ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता संघर्ष समिति यूके/नेपालले नेता नेपाललाई समस्त भूपू गोर्खाहरुका तर्फबाट कदरपत्र, पुष्पगुच्छा र खादाले सम्मान गरे ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा