बेलायतको यस वर्षको दशैं विशेष र अविस्मरणीय रह्यो । प्रथमतः मेरा ज्येष्ठ भ्राता प्राध्यापक कोमलनाथ सुवेदी दशैंका लागि बेलायत आउनुभएको थियो र उहांबाट टीका थाप्ने र आशिर्वाद लिने मौका मिल्यो । हामी ५ दाजुभाईमध्येको म कनिष्ठ भएपनि बेलायतमा मेरै सहयोगमा फैलिंदै गरेको सुवेदी परिवारको भतिजा, भतिजी, भाञ्जीहरुको समाजमा म नै ज्येष्ठ भएको थिएं र मकहां सबै दशैंमा जम्मा हुने गर्दथे, तर यो वर्ष म फेरि कान्छो हुने मौका पाएं । मेरो वाल्यकालमा पनि काठमाडौंबाट दाजुहरु कोमलनाथ र देवीप्रसाद लमजुंग खुदीको घरमा आएपछि मात्र हाम्रो घरमा दशैंको रौनक आउंथ्यो । काठमाडौंबाट ल्याएका मिठाईबाट दशैं सुरु हुन्थ्यो । अहिले पनि दाजु कोमलनाथको बेलायत आगमनले बेलायतको मेरो घरमा र मेरो मनमा बेग्लै प्रकारको रौनक ल्यायो र मलाई वाल्यकालको दशैंको सम्झना दिलायो । मेरा आदरणीय दाजु प्राध्यापक कोमलनाथ र भाउजु हाम्रो बुवामुमा पछिका हाम्रो सुवेदी परिवारका सबभन्दा बढि श्रद्धाका पात्र हुनुहुन्छ । दाजु कोमल र भाउजु शोभाले जुन स्नेहका साथ हामी बांकी ४ भाईलाई काठमाडौंमा शिक्षा दिक्षा दिनुभयो, त्यो उदाहरणीय छ । हामी सबैले जे जति उपलव्धि प्राप्त गरेका छौं, त्यसका पछाडि उहांहरुको निस्वार्थ सहयोग र स्नेह नै प्रमुख कारण हो ।
दोस्रो, बेलायतका लागि नेपाली राजदूत सुवेदी बन्धु र नेपाली साहित्य जगतका विशिष्ट स्रष्टा दुबसुले ‘दाई म दशैंको टीका लगाउन तपाईंकोमा आउंछु है’ भन्नुभएको थियो । श्रीमती पुनम र दूतावासकै अर्का सुवेदी बन्धु लवजी उहांकी श्रीमती निताका साथ विजया दशमीको दिन आउनुभएको थियो । दुबसुलाई एउटा सुवेदी बन्धुका रुपमा भन्दा पनि एउटा नवोदित स्रष्टाका रुपमा मैले धेरै पहिलेदेखि चिनेको थिएं । उहां बेलायतमा राजदूत भएर आएको २ वर्ष भइसक्दा पनि हामी दुवैको कार्यव्यस्तताको कारणले मेरो घरमा निम्त्याउने मौका जुरेको थिएन । यसपटकको दशैंमा उहांहरुलाई लण्डनको सुवेदी परिवारमा स्वागत गर्न पाउंदा निकै खुशी लाग्यो ।
तेस्रो, दशैंको मौका पारेर मेरा पुराना मित्र अमेरिकामा कार्यरत वहुप्रतिभाशाली प्राध्यापक शिव गौतम, उहांकी श्रीमती नेपाली डायस्पोरिक साहित्य जगतमा लब्धप्रतिष्ठित भारती गौतम र बेलायतस्थित नेपाली साहित्य जगतका मुर्धन्य व्यक्तित्व कृष्ण बजगाईं मेरो घरमा आउनुभयो । दुबसु लगायत उहांहरु सबै पूर्वका हुनुहुन्छ । मैले मेरो अतिथि सत्कार पूरा गरेपछि त्यसलाई पुरस्कृत गर्नको लागि शिवजी र भारतीजीलाई डिनर टेबलमा आफ्ना कविता सुनाउन आग्रह गरें र दुवै जनाले धेरै मिठा कविता वाचन गरी बार्नेटको मेरो घरमा धेरै साहित्यिक रौनक ल्याइदिनुभयो ।
विजया दशमीको भोलीपल्ट दुबसुले दशैं उपहारस्वरुप दिनुभएको उहांको ‘अस्वमेध यज्ञका घोडाहरु’ भन्ने रचना पूरै पढेर रोमाञ्चित र हर्षित भएं । जसरी मैले अन्तर्राष्ट्रिय कानुनको एउटा ग्रन्थ धेरै वर्षअघि नेल्सन मण्डेलालाई समर्पण गरेको थिएं, त्यसैगरी दुबसु बन्धुले उपरोक्त रचनामा नेल्सन मण्डेलालाई कवितामार्फत धेरै श्रद्धाञ्जली प्रकट गरेको देखेर खुशी लाग्यो । कसरी पश्चिमको सुवेदी म र पूर्वको सुवेदी दुबसुको लागि दक्षिण अफ्रिकाको नेल्सन मण्डेला प्रेरणाको स्रोत बनेका रहेछन् भन्ने लाग्यो । जसरी म विद्यार्थीकालमा लोकतन्त्रको लागि जेलनेल खेपेको आन्दोलनकारी नेता थिएं त्यसैगरी दुबसुलाई साहित्यद्वारा आन्दोलनकारी, अग्रगामी र रचनात्मक भावना पस्किने व्यक्तित्वका रुपमा चिन्न पाउंदा धेरै प्रसन्नताको अनुभुति भयो ।
सामान्यतया पूर्वेलीहरु साहसी, अग्रगामी र विद्रोही हुन्छन् र पश्चिमेलीहरु गम्भीर, सुरम्य, शान्त र अन्तरमुखी हुन्छन् भन्ने मेरो व्यक्तिगत मान्यता हो । तमोर र कोशी नदीको पानी कडा हुन्छ, तर गण्डकीको पानी शीतल हुन्छ र त्यो पानीकै प्रभाव हो भन्ने मलाई लाग्छ । विद्यार्थी नेता हुंदा धरान क्याम्पसमा काठमाडौंबाट राष्ट्रिय संघर्ष समितिको प्रतिनिधि भइ भाषण गर्न जांदा पूर्वेलीहरुबाट पाएको जुझारु माया मेरो मानसपटलमा अझै सुरक्षित छ । यसैले मलाई नेपालको पूर्वी पहाड घुम्ने रहर छ । कोशी र तमोर नदीको किनार हुंदै पूर्वी पहाड उक्लिने र चतरा, तेह्थुम, संक्रान्ति बजार र आठराई जस्ता मेरी धर्मपत्नी कोकिला जन्मेर हुर्केका रोमाञ्चकारी ठाउंहरु घुम्ने रहर छ । यसपटकको दशैंको दुबसु, प्रा शिव गौतम, कवयित्री भारती गौतम र साहित्यकार कृष्ण बजगाईंसंगको संगतले नेपालका लागि अहिले नै उडिहालौं जस्तो लागेको छ, तर मेरो बेलायतको व्यवहारिक संसार अगाडि लम्पसार भइदिन्छ । भोली मात्रै एकजना अंग्रेजी छात्राको मानवअधिकार कानुनसम्बन्धी विद्यावारिधीको शोधग्रन्थ मुल्यांकन गरिसक्नुपर्नेछ । त्यसपछि ब्यारिस्टरको रुपमा दुई वटा मुलुकबीचको विवादमा कानुनी काम गर्न होल्याण्डको राजधानी हेग अवस्थित अन्तर्राष्ट्रिय न्यायालयमा जानु छ । त्यसपछि अन्तर्राष्ट्रिय कानुनी सल्लाह दिन मध्यपूर्वको एक मुलुकको भ्रमण गर्नुपर्नेछ । जिन्दगीका यस्ता श्रृंखला जारी रहनेछन् । संसार नै मेरो घर हो र संसारमा सबैले न्याय पाउनुपर्छ भन्ने मान्यताका साथ अन्तर्राष्ट्रिय कानुनको जगतमा व्यस्त रहने गरेको मेरो लागि यो वर्षको दशैंले विशेष छाप छोडी बिदा भएको छ, तर अर्को दशैं आउनुअघि नेपालको पूर्वी पहाड घुम्ने अठोटका साथ विक्रम सम्वत २०७५ सालको दशैंलाई बिदा गरेको छु ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता