वासिङ्टन, १२ भदौ – संयुक्तराज्य अमेरिका र मेक्सिकोबीच महिनौंसम्मको व्यापक छलफलपश्चात् संशोधित स्वतन्त्र व्यापार सम्झौता गर्नेमा सोमबार सहमति भएको छ । दुबै मुलुकका व्यापार प्रतिनिधिहरुले उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) को अर्को साझेदार मुलुक क्यानडासँग मङ्गलबार वार्ता अगाडि बढाउने भएका छन् ।
यद्यपि २५ वर्ष पुरानो नाफ्टाको भविष्य भने अनिश्चित भएको छ । क्यानडाका विदेशमन्त्रीले नाफ्टाको पुनरावलोकनमा क्यानडाको हस्ताक्षर अनिवार्य रहेको बताइरहे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहमतिमा नआए क्यानडालाई नयाँ सम्झौतामा समावेश नगरिने बताउनुभएको छ ।
ट्रम्पले नाफ्टा खारेज गर्ने भन्दै विवादास्पद भनाईहरु सार्वजनिक गरिरहनुभएको छ । उहाँ सम्झौताको नाम नै परिवर्तन गर्ने पक्षमा हुनुहुन्छ ।
“व्यापारका लागि आजको दिन महत्वपूर्ण छ । दुबै मुलुकबीच साँच्चिकै राम्रो समझदारी भएको छ,” राष्ट्रपति ट्रम्पले अमेरिकी राष्ट्रपतिको कार्यालय ओभलबाट सम्झौताका बारेमा घोषणा गर्दै भन्नुभयो । उक्त अवसरमा राष्ट्रपति ट्रम्पले मेक्सिकोका राष्ट्रपति एनरीक पेना नीटोसँग फोनमा कुरा गर्नुभएको थियो ।
नाफ्टाको दोस्रो संस्करणका रुपमा हेरिएको यस सम्झौतामा सवारीसाधनको व्यापार, कामदारको सुरक्षा र हरेक छ वर्षमा सम्झौता नवीकरण गर्ने विषयहरु समेटिएका छन् । उक्त सम्झौताका विषयहरु सार्वजनिक भएसँगै क्यानडाका विदेशमन्त्री एवं व्यापार वार्ताकार क्रिस्टिया फ्रिल्यान्ड वार्तामा सहभागी हुन मङ्गलबार वासिङ्टनको भ्रमण गर्दै हुनुहुन्छ ।
व्यापार वार्ताकारहरुले नाफ्टालाई अद्यावधिक र पुनर्लेखन गर्न झण्डै एक वर्ष लगाइसकेका छन् तर अमेरिका र मेक्सिकोले क्यानडालाई बाहिरै राखेर दुई मुलुकबीचका विवादहरु सुल्झाउन पहिलो प्रयत्न गरेका थिए । ट्रम्पले नयाँ सम्झौतामा क्यानडालाई छाडेर पनि अघि बढ्न तयार रहेको जानकारी गराउनुभएको थियो ।
“हामीबीच नयाँ सम्झौता हुन सक्दछ वा नयाँ सम्झौता पनि हुन सक्दछ,” ट्रम्पले भन्नुभयो । उहाँले क्यानडासँग सवारी साधन र दुग्धजन्य पदार्धको करका विषयमा कठोर धारणा सार्वजनिक गरिआउनुभएको छ । यही नै दुवै छिमेकी राष्ट्रबीचको सबैभन्दा पेचिलो प्रश्न हो ।
मेक्सिकोका अधिकारीहरुले नाफ्टालाई त्रिपक्षीय सम्झौताकै रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । “हाम्रो इच्छा नै यो सम्झौतामा क्यानडा साथमा आओस् भन्ने हो,” मेक्सिकोका राष्ट्रपति पेना नीटोले ट्रम्पलाई भन्नुभयो । पेना नीटोले आफूले यस विषयमा क्यानडाका प्रधानमन्त्रीसँग पनि कुराकानी गरेको जानकारी दिनुभयो ।
ट्रम्प र ट्रुडोबीच व्यापार सम्झौताबारे कुराकानी
क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अमेरिका र मेक्सीको बीचको पछिल्लो व्यापार सहमतिका बारेमा रचनात्मक कुराकानी भएको छ । क्यानडाको प्रधानमन्त्री कार्यालयका अनुसार ट्रुडोले क्यानडाली व्यापार वार्ताकार एवं विदेशमन्त्री क्रिस्टिया फ्रिल्यान्डलाई मङ्गलबार नै वासिङ्टन पठाउनुभएको छ ।
“प्रधानमन्त्रीको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताको सम्बन्धमा रचनात्मक वार्ता भएको छ,” प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । “मेक्सीको सँगको वार्तामा भएको प्रगतिप्रति दुबै नेताले सन्तोष व्यक्त गरेको र क्यानडासँग अमेरिकाको वार्ता पनि तार्किक निष्कर्षमा पुग्ने अपेक्षा व्यक्त गरेका छौं ।”
नयाँ सम्झौतामा क्यानडालाई पनि समेट्नु पर्दछ– मेक्सीकोका नवनिर्वाचित राष्ट्रपति
मेक्सीकोका नवनिर्वाचित राष्ट्रपति आन्देस म्यानुएल लोपेज ओब्राडोरले अमेरिका र क्यानडासँगै त्रिपक्षीय सम्झौता गर्नुपर्नेमा जोड दिनुभएको छ । अमेरिका र मेक्सीकोबीचको सम्झौता पहिलो कदम भएको पनि उहाँले बताउनुभयो ।
“क्यानडालाई पनि समावेश गरिनु आवश्यक छ,” बामपन्थी विचारधाराका राष्ट्रपति ओब्राडोरले भन्नुभयो-“विगतमा झैं स्वतन्त्र व्यापार सम्झौताकै स्वरुपमा अबको सम्झौता गरिनु आवश्यक छ ।”
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक