पौडीमा नेपाल कमजोर, गौरिका पराजित

गौरिका सिंह फाइल तस्विर

काठमाडौँ, ६ भदौ – इण्डोनेशियाको जकार्तामा जारी १८ औँ एशियाडअन्तर्गत आज भएको २०० मिटर फ्रिस्टायल पौडीतर्फ गौरिका सिंह हिट चरणबाट बाहिरिएकी छन् ।

हिट १ मा उनी सातौँ स्थानमा रहिन् । उनी हिट एकमा पहिलो भएको जापानकी इगारासी चिहिरोभन्दा १२.३२ सेकेण्डले पछि परिन् । यसअघि गौरिका १०० मिटर फ्रिस्टायलको पनि हिट चरणबाटै बाहिरिएकी हुन् । अब उनले शुक्रबार महिला ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछिन् । आजै भएको १०० मिटर ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा गरेका शुभम् श्रेष्ठ पनि हिट चरणबाटै बाहिरिए । उनी आफ्नो हिटमा आठ खेलाडीमध्ये तेस्रो भएका थिए । एक मिनेट ११.३७ सेकेण्डमा निर्धारित दूरी पार गरेका उनी समग्रमा २७ औँ स्थानमा रहे । यो स्पर्धामा ३२ खेलाडीले भाग लिएका थिए ।

अब पौडीमा शिरिष गुरुङले १०० मिटर फ्रिस्टायलमा बिहीबार प्रतिस्पर्धा गर्नेछन् । यस्तै टिशा शाक्यले ५० मिटर ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ ।

भलिबलमा नेपाल पराजित

जकार्तामा जारी १८ औँ एशियाली खेलकूदअन्तर्गत भलिबलमा नेपाल चाइनिज ताइपेइसँग सोझो सेटमा पराजित भएको छ ।

भर्खरै सम्पन्न खेलमा नेपाल २५–२३ २५–२१ र २५–१५ ले पराजित भयो । समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् । नेपालले दोस्रो खेल भदौ ८ गते दक्षिण कोरियासँग खेल्ने त्यहाँ रहेका टोली प्रशिक्षक जगदीश भट्टले जानकारी दिनुभयो ।

हारका बाबजुद नेपालले उत्कृष्ट प्रदर्शन गरेको प्रशिक्षक भट्टले बताउनुभयो । “चाइनिज ताइपेइ हामीभन्दा निकै बलियो टोली हो, हारे पनि हाम्रो प्रदर्शन उत्कृष्ट रह्यो ।” एशियाडमा पुरुष भलिबलतर्फ २० राष्ट्र सहभागी छन् । नेपालको राष्ट्रिय भलिबल टोलीले ३२ वर्षपछि एशियाली खेलकूद (एशियाड) मा सहभागिता जनाएको हो । नेपालले भलिबलमा पछिल्लो पटक सन् १९८४ मा दक्षिण कोरियाको सिओलमा आयोजित एशियाडमा सहभागी भएको थियो । भलिबल राष्ट्रिय खेलसमेत हो ।

नेपाल टोलीमा क्याप्टेन इमबहादुर मगर, हरिबहादुर अधिकारी, ईश्वर थापा, दिनेशराज, गिरी, राज शेरचन, धनबहादुर भट्ट क्षेत्री, नरेन्द्र गिरी, मानबहादुर श्रेष्ठ, कुलबहादुर थापा, दीपकराज जोशी, भैरवबहादुर बम र विशालबहादुर विक छन् । प्रशिक्षकमा जगदीश भट्ट, लेस्ली दि जोन्जे र व्यवस्थापकमा भरतबहादुर शाह हुनुहुन्छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री