
गाओ, माली, २३ साउन – उत्तरी मालीको घाँसे मैदानमा प्रवेश गर्नुअघि नाइजर नदीको माथिमाथि उडान भर्दै एउटा क्यानाडेली दुई–इन्जिनयुक्त सैनिक हेलिकप्टर मालीको विद्रोही इलाकामा पहिलो पटक प्रवेश गरेको देख्न सकिन्थ्यो ।
दुई जना तोपधारी सैनिक माथिबाटै जमिनको स्थिति नियालीरहेका छन् । यसैबीच पाइलटले घोषणा गर्दछन्, “लौ बर्बाद भयो । एउटा इन्जिनले काम गरेन । अब एउटा इन्जिनको भरमा उड्नु पर्छ ।”
अफ्रिकामा २४ वर्षपछि क्यानडाले पहिलो शान्ति सैनिक पठाएसँगै उनीहरुले द्वन्द्व र मौसमका बारेमा प्रत्यक्ष बुझ्न थालेका छन् । सायद, यस्तो परिस्थितिको उनीहरुले विगतमा कहिल्यै सामना गर्नु परेको थिएन ।
उनीहरु संयुक्त राष्ट्रसंघको सर्वाधिक कठिन र खतरनाक मिसनमा सहभागी भएका छन् । मालीमा हाल राष्ट्रसंघ मातहत १४,००० सैनिक परिचालित छन् । पश्चिम अफ्रिकी मुलुक माली व्यापक, बन्जर साहेल क्षेत्रमा अवस्थित छ ।
उत्तरी मालीमा उडान भर्नु दुरुह आर्कटिक क्षेत्रमा कार्य गर्नु जस्तै हो । गाओमा तैनाथ क्यानाडेली हवाई सेनाका कमान्डर लेफ्टीनेन्ट कर्णेल क्रिस मोरिसनले भन्नुभयो, “यहाँ आर्कटिकको हिउँको ठाउँमा बालुवा छ र त्यहाँ माइनस ४० डिग्री छ, यहाँ ४० डिग्रीको प्रचण्ड गर्मी छ ।”
सहारामा अति डरलाग्दो परिस्थितिमा हवाई उडान गर्नु पर्दछ, मर्मत गर्न वा तेल भर्न जमिनमा ठाउँ नै भेट्न मुश्किल छ, उहाँ भन्नुहुन्छ । उहाँसँग यसअघि बोस्निया र अफगानिस्तानमा काम गरेको अनुभव पनि छ ।
क्यानाडाले सन् १९५० को दशकमा राष्ट्रसंघ मातहत ठूलै स्तरमा शान्ति सेना गठन गर्नुपर्नेमा वकालत गरेको थियो, तर शान्ति सैनिकले लगाउने “निलो हेल्मेट” लगाएका सेना एक दशकयता ठूलो संख्यामा कतै पनि पठाएको छैन ।
तथापि, क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले शान्ति अभियानमा पुनः सहभागी हुने इच्छा देखाउनु भएको छ । सन् २०२१ मा राष्ट्रसंघ सुरक्षा परिषदको अस्थायी सदस्य हुनका लागि पनि प्रधानमन्त्री जस्टिनले शान्ति अभियानमा सहभागी हुनेतर्फ कदम चाल्नुभएको हुनसक्छ ।
सन् १९९४ को रुवान्डाको जातीय नरसंहार यता अफ्रिकामा क्यानाडाको यो पहिलो मिसन हो । त्यसबखत राष्ट्रसंघीय मिसनको नेतृत्व क्यानाडाले नै गरेको थियो ।
गत महिनादेखि छ वटा हेलिकप्टर सहित २५० जना सैनिक यहाँ आइपुगेका हुन् । उनीहरुले यसअघि जर्मन सैनिकले गरिरहेको स्वास्थ्य उद्धारको कार्य गर्नेछन् । उनीहरुलाई गाओको क्यास्टोर क्याम्पमा राखिएको छ जहाँ ९०० जर्मन र १०० नेदरल्यान्डका सैनिक तैनाथ छन् ।
त्यहीं नजिक, राष्ट्रसंघको अर्को क्याम्पमा गैर–नेटो मुलुकका अरु ४,००० सैनिक तैनाथ छन् ।
मालीमा रहेको मानुस्मालाई अहिले राष्ट्रसंघको सर्वाधिक खतरनाक शान्ति अभियानका रुपमा लिइएको छ । सन् २०१३ मा यो अभियान तैनाथ गरेयता १७० जनाभन्दा बढी सैनिक मारिइसकेका छन् र यो संख्या विश्वभर शान्ति सैनिक मारिएकामध्ये आधाभन्दा बढी हो ।
अलकायदासँग निकट रहेका इस्लामिक लडाकूहरुले सन् २०१२ देखि उत्तरी मालीको मरुभूमिमा नियन्त्रण गरिरहेका थिए, तर जनवरी २०१३ मा आरम्भ गरिएको फ्रान्सेली नेतृत्वको सैनिक अपरेशनले उनीहरुलाई त्यहाँबाट तितरबितर पारेको दाबी गरिएको छ ।
तर, मुलुकको ठूलो हिस्सा अझै पनि माली, फ्रेन्च र राष्ट्रसंघीय सैनिकको नियन्त्रणभन्दा बाहिर छ र उनीहरुले बारम्बार आक्रमण गरिरहेका छन् ।
“हामी राष्ट्रसंघलाई मद्दत गर्न चाहन्छौं, तर यो अति कठिन अभियान हो,” मालीमा तैनाथ क्यानाडेली सेनाका कमान्डर क्रिस म्याकेन्ना भन्नुहुन्छ । “यो निकै जटिल पनि छ । यहाँको वातावरण कठोर छ, धुलो र प्रचण्ड गर्मी छ । तैपनि, हामीले राम्रैसँग काम गरिरहेका छौं ।”
क्यानाडाले राष्ट्रसंघीय मिसनमा आफूलाई पुनः समाहित गरेकामा यहाँ तैनाथ सैनिकहरुले खुशी व्यक्त गरेका छन् । “मिसनमा पुनः काम गर्न पाउँदा खुशी लागेको छ । हामी यहाँ मानिसको जीवन बचाउन आएका हौं,” हेलिकप्टरका पाइलट डोमिनिक सिमार्डले भन्नुभयो ।
क्यानाडेली सैनिकहरुले हवाई सेवा मात्र उपलब्ध गराउनेछन् । उनीहरुलाई पैदल लडाईंमा खटाइने छैन ।
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक