नेपाली क्रिकेट टिमलाई दूतावासमा भव्य स्वागत

लन्डन । दुई सय वर्षभन्दा पुरानो बेलायत नेपाल सम्वन्ध थप बलियो बनाउन क्रिकेट खेल कोशेढुंगा सावित हुंदै गएको यहां धेरैले ठम्याए । सगरमाथा, भगवान बुद्ध र वीर गोर्खालीको जन्मभूमि भनेर चिनिने नेपाललाई अब क्रिकेटरहरुले पनि चिनाउन थालेको चर्चा लन्डनमा भयो ।

दुई वर्षपछि ‘दि होम अफ क्रिकेट’ भनिने लर्डस् मैदानमा एमसीसी र नेदरल्यान्ड्ससंग टी टवान्टी त्रिकोणात्मक श्रृंखला खेल्न आएको नेपाली क्रिकेट टिमलाई स्वागत गर्न दूतावासमा मंगलबार आयोजित कार्यक्रममा अधिकांश वक्ताले क्रिकेटमार्फत बेलायत नेपाल सम्वन्ध थप मजवुत बन्दै गएको धारणा राखे ।

नेपालका लागि बेलायती पूर्व राजदूत एन्ड्रियू स्पाकर्सले तीन वर्ष नेपाल बसाइका क्रममा नेपालीको क्रिकेट मोह नजिकबाट नियालेका छन् । उनले दशक यता नेपाली क्रिकेटले धेरै उपलब्धि हांसिल गरेको स्मरण गर्दै यस खेलले दुई देशबीच सम्वन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायत नेपाल दुई पक्षीय सम्बन्ध अझ प्रगाढ बनाउन र ऐतिहासिक सम्वन्धलाई जनस्तरमा समेत अभिवृद्धि गर्न क्रिकेटले योगदान गरिरहेको बताए । राजदूत सुवेदीले नेपालमामात्र क्रिकेटको 
प्रसिद्धी बढेको होइन्, यस खेलले अन्तर्राष्ट्रिय जगतमा समेत नेपाल र नेपालीको पहिचान, परिचय र प्रतिष्ठा बढाएको टिप्पणी गरे । वीर गोर्खाली र बुद्धको देश नेपाल अब क्रिकेटर्सहरुको पनि जन्मथलो बनेको बताउंदै राजदूतले खेलाडीलाई स्नेह, सम्मान र हौसला प्रदान गर्न एवं नेपालीको एकता, भातृत्व र सौहाद्रता प्रस्तुत गर्न पनि आउंदो आइतबार लर्डसमा जान आग्रह गरे ।

एमसीसी हेड अफ क्रिकेट जोन स्टेपहेन्सनले नेपाली खेलाडीलाई दोश्रो पटक आफ्नो मैदानमा स्वागत गर्न उत्साहित भएको बताए । विकासोन्मुख देशलाई क्रिकेटमा सहयोग गर्ने एमसीसीको परम्परा रहेको उल्लेख गर्दै जोनले आफूले नेपाली क्रिकेट खेलाडीमा उत्साह, दृढ संकल्प र सम्भावना देखेकाले पनि सहयोग गरिरहेको प्रष्टयाए ।

आफ्ना खेलाडी, कोच र फिजियोका साथ दूतावास आएका कप्तान पारस खड्काले क्रिकेटका कारण नेपाल र ब्रिटेनबीच 
नयां सम्वन्ध विस्तार भएको धारणा राखे । खड्काले एमसीसीले नेपालको क्रिकेट विकासमा सहयोग गर्ने अपेक्षा व्यक्त 
गर्दै २९ जुलाइमा लर्डसमा उपस्थिति जनाइदिन बेलायतवासी नेपाली सबैमा अनुरोध गरे ।

अपांगता सम्वन्धि विश्व शिखर सम्मेलनमा सहभागी हुन आएकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले क्रिकेट खेलाडीलाई अग्रीम शुभकामना दिइन् । उनले सुगौली सन्धिपछि ब्रिटिश सेनामा नेपालीको प्रवेश भएको र नेपालीको योगदानलाई बेलायतले उच्च मुल्यांकन गरेको पनि बताइन् । नेपालमा राजनीतिक उथलपुथल पार भइ अब आमुल परिवर्तन र स्थायित्व आएको बताउंदै मन्त्री थापाले देशमा सामाजिक, आर्थिक रुपान्तरणको अभियान शुरु भएकाले विदेशमा बसेपनि 
मातृभूमिको उक्त अभियान आफ्नो पहिलो कर्तव्य ठान्न जोड दिइन् ।

वर्तमान सरकार आम नेपाली जनताको भविष्य निर्माण गर्ने सरकार भएको भन्दै मन्त्री थापाले भ्रष्टाचार निर्मुल 
सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गरिन् । भ्रष्टाचार रहेसम्म देश समृद्धितर्फ नजाने उनको निचोड थियो ।

कार्यक्रममा सांसद डा. सूर्य पाठकले क्रिकेटले नेपाललाई चिनाएको बताउंदै खेलाडी र अफिसियलप्रति कृतज्ञ भए ।

बेलायतले नेपालको विकासमा निरन्तर सहयोग गरेको उनको धारणा थियो । नेपालको परिवर्तित राजनीतिक घट्नाक्रमबारे अवगत गराउंदै पाठकले लगानीको वातावरण बनिरहेकाले
ब्रिटिश व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरे । उनले समृद्ध नेपाल बनाउने अभियानमा बेलायतका नेपालीलाई साथ दिन समेत अपिल गरे ।

दूतावासका उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेको उक्त कार्यक्रममा मन्त्री थापाले खेलाडी र अफिसियललाई स्वागत तथा सम्मान गरिन् ।

तस्विर- एभरेष्ट गौतम

प्रतिक्रिया

सम्बन्धित सामाग्री