लन्डन । दुई सय वर्षभन्दा पुरानो बेलायत नेपाल सम्वन्ध थप बलियो बनाउन क्रिकेट खेल कोशेढुंगा सावित हुंदै गएको यहां धेरैले ठम्याए । सगरमाथा, भगवान बुद्ध र वीर गोर्खालीको जन्मभूमि भनेर चिनिने नेपाललाई अब क्रिकेटरहरुले पनि चिनाउन थालेको चर्चा लन्डनमा भयो ।
दुई वर्षपछि ‘दि होम अफ क्रिकेट’ भनिने लर्डस् मैदानमा एमसीसी र नेदरल्यान्ड्ससंग टी टवान्टी त्रिकोणात्मक श्रृंखला खेल्न आएको नेपाली क्रिकेट टिमलाई स्वागत गर्न दूतावासमा मंगलबार आयोजित कार्यक्रममा अधिकांश वक्ताले क्रिकेटमार्फत बेलायत नेपाल सम्वन्ध थप मजवुत बन्दै गएको धारणा राखे ।
नेपालका लागि बेलायती पूर्व राजदूत एन्ड्रियू स्पाकर्सले तीन वर्ष नेपाल बसाइका क्रममा नेपालीको क्रिकेट मोह नजिकबाट नियालेका छन् । उनले दशक यता नेपाली क्रिकेटले धेरै उपलब्धि हांसिल गरेको स्मरण गर्दै यस खेलले दुई देशबीच सम्वन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायत नेपाल दुई पक्षीय सम्बन्ध अझ प्रगाढ बनाउन र ऐतिहासिक सम्वन्धलाई जनस्तरमा समेत अभिवृद्धि गर्न क्रिकेटले योगदान गरिरहेको बताए । राजदूत सुवेदीले नेपालमामात्र क्रिकेटको प्रसिद्धी बढेको होइन्, यस खेलले अन्तर्राष्ट्रिय जगतमा समेत नेपाल र नेपालीको पहिचान, परिचय र प्रतिष्ठा बढाएको टिप्पणी गरे । वीर गोर्खाली र बुद्धको देश नेपाल अब क्रिकेटर्सहरुको पनि जन्मथलो बनेको बताउंदै राजदूतले खेलाडीलाई स्नेह, सम्मान र हौसला प्रदान गर्न एवं नेपालीको एकता, भातृत्व र सौहाद्रता प्रस्तुत गर्न पनि आउंदो आइतबार लर्डसमा जान आग्रह गरे ।
एमसीसी हेड अफ क्रिकेट जोन स्टेपहेन्सनले नेपाली खेलाडीलाई दोश्रो पटक आफ्नो मैदानमा स्वागत गर्न उत्साहित भएको बताए । विकासोन्मुख देशलाई क्रिकेटमा सहयोग गर्ने एमसीसीको परम्परा रहेको उल्लेख गर्दै जोनले आफूले नेपाली क्रिकेट खेलाडीमा उत्साह, दृढ संकल्प र सम्भावना देखेकाले पनि सहयोग गरिरहेको प्रष्टयाए ।
आफ्ना खेलाडी, कोच र फिजियोका साथ दूतावास आएका कप्तान पारस खड्काले क्रिकेटका कारण नेपाल र ब्रिटेनबीच नयां सम्वन्ध विस्तार भएको धारणा राखे । खड्काले एमसीसीले नेपालको क्रिकेट विकासमा सहयोग गर्ने अपेक्षा व्यक्त गर्दै २९ जुलाइमा लर्डसमा उपस्थिति जनाइदिन बेलायतवासी नेपाली सबैमा अनुरोध गरे ।
अपांगता सम्वन्धि विश्व शिखर सम्मेलनमा सहभागी हुन आएकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले क्रिकेट खेलाडीलाई अग्रीम शुभकामना दिइन् । उनले सुगौली सन्धिपछि ब्रिटिश सेनामा नेपालीको प्रवेश भएको र नेपालीको योगदानलाई बेलायतले उच्च मुल्यांकन गरेको पनि बताइन् । नेपालमा राजनीतिक उथलपुथल पार भइ अब आमुल परिवर्तन र स्थायित्व आएको बताउंदै मन्त्री थापाले देशमा सामाजिक, आर्थिक रुपान्तरणको अभियान शुरु भएकाले विदेशमा बसेपनि मातृभूमिको उक्त अभियान आफ्नो पहिलो कर्तव्य ठान्न जोड दिइन् ।
वर्तमान सरकार आम नेपाली जनताको भविष्य निर्माण गर्ने सरकार भएको भन्दै मन्त्री थापाले भ्रष्टाचार निर्मुल सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गरिन् । भ्रष्टाचार रहेसम्म देश समृद्धितर्फ नजाने उनको निचोड थियो ।
कार्यक्रममा सांसद डा. सूर्य पाठकले क्रिकेटले नेपाललाई चिनाएको बताउंदै खेलाडी र अफिसियलप्रति कृतज्ञ भए ।
बेलायतले नेपालको विकासमा निरन्तर सहयोग गरेको उनको धारणा थियो । नेपालको परिवर्तित राजनीतिक घट्नाक्रमबारे अवगत गराउंदै पाठकले लगानीको वातावरण बनिरहेकाले ब्रिटिश व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरे । उनले समृद्ध नेपाल बनाउने अभियानमा बेलायतका नेपालीलाई साथ दिन समेत अपिल गरे ।
दूतावासका उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेको उक्त कार्यक्रममा मन्त्री थापाले खेलाडी र अफिसियललाई स्वागत तथा सम्मान गरिन् ।
तस्विर- एभरेष्ट गौतम
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]