पाकिस्तानमा बम आक्रमणमा १०५ को मृत्यु

चुनावको पूर्व सन्ध्यामा पाकिस्तानमा हत्या हिंसाका श्रृंखला पनि बढेका छन् । तस्विर गेटटी इमेजेज

इस्लामावाद, ३० असार – पाकिस्तानमा आसन्न निर्वाचनको प्रचारप्रसारका लागि गरिएको कार्यक्रममा भएको बम आक्रमणमा परी कम्तीमा १०५ जनाको मृत्यु भएको छ ।

बलुचिस्तान प्रान्तको मास्तुङ जिल्लामा शुक्रबार भएको यस घटनामा परी अरु १५० जना घाइते भएका अधिकारीले शनिबार जानकारी दिएका छन् । मृत्यु हुनेमा एक स्थानीय नेतासमेत रहेका बताइएको छ ।

घटनामा मृत्यु भएका र घाइते भएकाको यो विवरणको बलुचिस्तान प्रान्तका गृह मन्त्री अघा उमरले पुष्टि गर्नु भएको छ । घाइतेलाई विभिन्न अस्पतालमा उपचार भइरहेको उमरले जानकारी दिनुभयो ।

लडाकूहरुको समूह इस्लामिक स्टेट (आइएस) ले आफ्नो वेभसाइटमार्फत् घटना आफूहरुले गराएको जिम्मेवारी लिएको छ ।

राजनीतिक नेता नवाजजादा सिराज राइसानीलक्षित गरी आक्रमण गरेको जस्तो देखिएको मास्तुङका उपआयुक्त क्विम लासरीले बताउनुभयो । उहाँले आफ्ना मतदातालाई सम्वोधन गरिरहेका बेला बम आक्रमण भएको थियो ।

पाकिस्तानमा पछिल्लो तीन दिनमा भएका विभिन्न घटनामा परी १३० भन्दा बढीको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् ।

यही जुलाई २५ तारिखका दिन हुनलागेको निर्वाचनको मिति नजिकिदै गर्दा हिंसाका घटना पनि बढ्दै गइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री