लन्डन । नेपाल घुम्न जाने बेलायती पर्यटकको संख्या वर्षेनी वृद्धि भइरहेको छ । महाभूकम्पपछिको वर्ष सन् २०१६ मा ४० हजार बेलायती पर्यटक नेपाल पुगेकामा गत वर्ष यो संख्या ५१ हजार थियो । सन् २०१८ मा करिब ६० हजार बेलायती पर्यटकले नेपाल भ्रमण गर्ने अपेक्षा लन्डनस्थित नेपाली दूतावासले गरेको छ ।
भिजिट नेपाल २०२० अभियान शुभारम्भका अवसरमा शुक्रबार सांझ दूतावासमा आयोजित एक कार्यक्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायती पर्यटकको संख्या वर्षेनी बढिरहेको जनाउंदै संयुक्त अधिराज्य सरकारले नेपालको पर्यटन पूर्वाधारमा गरेको सहयोगप्रति आभार व्यक्त गरे । उनले नेपाल सरकारले एक सय नयां पर्यटक गन्तव्य विस्तार गर्न लागेको जनाउंदै प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनका लागि नेपाल भ्रमण गर्न बेलायतीलाई आग्रह गरेका थिए ।
लोन्ली प्लानेट, नेशनल जियोग्राफिक च्यानल आदिले नेपाल विश्वमै घुम्न लायक उत्कृष्ट देशको सूचीमा चित्रित गरेका समेत राजदूत सुवेदीले स्मरण गरे । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आइसकेको उल्लेख गर्दै राजदूतले गौतम बुद्ध र निजगढ विमानस्थल निर्माणाधिन रहेकाले पर्यटकहरुलाई थप सुविधा हुने विश्वास दिलाए ।
कार्यक्रममा प्रमुख अतिथी एवं सर्वदलीय संसदीय समूहका नेपाल उपाध्यक्ष लर्ड शेखले आफू दुई पटक नेपाल पुगेको स्मरण गर्दै नेपाली जनताको आतिथ्य, हार्दिकता र देशको प्राकृतिक सौन्दर्यले निकै प्रभावित भएको उल्लेख गरे । लर्डले बेलायत नेपालको प्रमुख विकास साझेदार भएको उल्लेख गर्दै दुई सय वर्षदेखिको बेलायत नेपाल सम्बन्ध हजारौं वर्षसम्म कायमै रहने विश्वास व्यक्त गरे ।
भिजिट नेपाल २०२० अभियान शुभारम्भका अवसरमा नेपाल सर्वोच्च शिखर सगरमाथा, बुद्ध जन्मस्थल, जिवित देवी कुमारी, गोर्खाहरुको घर भएको चर्चा समेत गरियो । वक्ताहरुले राजनीतिक स्थिरतापछि नेपालमा नयां सरकार गठन भएर आर्थिक समृद्धिको मार्गमा हिंडिसकेको उल्लेख गर्दै विदेशी पर्यटकलाई नेपाल भ्रमण गर्न सुरक्षित रहेको विश्वास दिलाए ।
दूतावासका उपनियोग प्रमुख शरदराज आरणले आफ्नो प्रिजेन्टेसनका क्रममा संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को) ले नेपालका चारवटा सम्पदालाई विश्व सम्पदा क्षेत्रका रुपमा मान्यता दिएको उल्लेख गर्दै नेपाल ट्रेकिङ, पर्वतारोहण, रयाफटिङ, कायाकिङ, क्यानयोनिङ, प्यारा ग्लाइडिङ, जिपलाइन, बन्जी जम्प, माउण्टेन फलाइट जस्ता साहसिक एवं धार्मिक पर्यटनका लागि विश्वमै आकर्षक गन्तव्य भएको चर्चा गरे । नेपालको भौगोलिक, सांस्कृतिक, धार्मिक, सामाजिक जस्ता विविध आयामबारे प्रष्टयाउंदै आरणले नेपाल घुम्न सस्तो देश भएको समेत बताए ।
कार्यक्रममा तीन पटक सगरमाथा आरोहण गरिसकेका गोर्खा सैनिक निर्मल पुर्जा, स्कटिस फोटोग्राफर जेम्स ल्याम्ब र ब्रिटेन नेपाल सोसाइटीका अध्यक्ष रोजर पोटरले पनि नेपालको पर्यटन विशेषता एवं आ आफ्ना अनुभव सुनाएका थिए ।
कुटनीतिज्ञ, सञ्चारकर्मी, बेलायती तथा नेपाली ट्राभल टुर अपरेटरहरु सहभागी उक्त कार्यक्रममा स्थानीय कलाकारले विभिन्न जातजातीको संस्कृति झल्कने नृत्य समेत प्रस्तुत गरे । मिस यूके नेपाल २०१७ सृजना गुरुङले संयोजन गरेको सांस्कृतिक कार्यक्रममा मिसेस यूके नेपाल २०१७ टिमका आस्था जोशी, अमृता गिरी गजुरेल, गिता बस्नेत पाण्डे र मन्जु शाहले सय थरि बाजा…बोलको गीतमा आकर्षक नृत्य गरे । रोहयाम्पटन युनिभर्सिटी नेपलिज सोसाइटीका तर्फबाट सुविक्षा गुरुङ र प्रशान्त गुरुङले गुरुङ नाच देखाए भने मिफुरुङ युथ क्लवका तर्फबाट सृजना गुरुङ, आस्था जोशी, तेन्याङ राना, ओसन राना, दिया लिम्बु, बुद्धि सारु, करिष्मा थापा, पदमा राना र सन्दिप रानाले लोक, तामाङ सेलो र कौडा नृत्य सामूहिक रुपमा प्रस्तुत गरेका थिए ।
पत्रकारहरु सम्मानित
सो अवसरमा दूतावासले नेपाल पत्रकार महासंघ बेलायत शाखाको हालै निर्वाचित चौंथो कार्यसमितिलाई वधाइसहित सम्मान गरेको छ । समारोहमा अध्यक्ष नरेश खपांगीमगर नेतृत्वको पत्रकार महासंघ बेलायतको चौंथो कार्यसमितिलाई लर्ड शेख र राजदूत सुवेदीले सम्मान गरेका हुन् ।
कार्यक्रम दूतावासका थर्ड सेक्रेटरी तेजेन्द्र रेग्मीले सञ्चालन गरेका थिए ।
तस्विर- शिव भण्डारी
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा