काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले देश र पार्टीको हितविपरीत नजान सांसदहरुलाई निर्देशन दिएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार बसेको नेकपा एमाले संसदीय दलको बैठकमा उनले जनताको सर्वोच्च निकाय स्थानमा रहेका जनप्रतिनिधिले उत्तेजनामा नआइकन संयमित भएर पार्टीको हितमा काम गर्न निर्देशन दिएका हुन् ।
एमाले अध्यक्ष ओलीले भने, “जनताको सर्वोच्चता जनाउने स्थानमा रहेका जनप्रतिनिधिले आवेश, उत्तेजनामा नचाहिँदो काम गर्न र बोल्न हुँदैन, पार्टी र राष्ट्रको हितमा काम गर्नुपर्छ ।” उनले सम्पूर्ण सांसदहरुलाई एक ढिक्का भएर पार्टीको निर्देशनमा काम गर्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले जनताको ‘म्यान्डेट’ जनप्रतिनिधिलाई भएको भन्दै सबै खालको सुधारका, प्रजातन्त्र र प्रशासनिक सुधारका लागि सबै खालको ‘सिन्डिकेट’ अन्त्य हुने बताए । उनले आइतबारदेखि बजेट अधिवेशन शुरु भएको हुँदा देश र जनताको हितप्रति निष्ठाका साथ आफ्नो कर्तव्यबाट पछाडि नहटी काम गर्न निर्देशन दिँदै सबै सांसदलाई रचनात्मक, सकारात्मक र समुचित ढंगले संसदमा प्रस्तुत भई भूमिका खेल्न निर्देशन दिए ।
बजेट निर्माण गर्दा सबै पक्षहरुसँग छलफल गर्न बजेट अधिवेशन तय गरेको र आफूले दिनुपर्ने सुझावहरु छोटो र लिखितरुपमा पेश गर्न उनले बैठकमा सुझाव दिए । प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयन चरणमा पर्याप्त मात्रामा कानून निर्माण र संशोधन गर्नुपर्ने उल्लेख गर्दै कानूनको अभावबाट संविधान, सरकार, विकास निर्माणका काम नरोकिकन काम गर्न कानून निर्माण गर्ने काम भइरहेको बताए ।
प्रधानमन्त्री ओलीले सरकार मुलुकमा परिवर्तन ल्याउन आएको स्पष्ट पार्दै सो अभियानमा सबै एक ढिक्का भएर सामेल हुन निर्देशनसमेत दिए । एमाले संसदीय दलका नेता ओलीले सरकारले छिमेकी तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई सुमधुर बनाउँदै लैजाने र सबै राष्ट्रहरुसँग समुचित ढंगले सम्बन्ध अगाडि बढाइने पनि उल्लेख गरे ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा