लन्डन । बेलायतमा सौन्दर्य पेशामा आवद्ध महिलाहरुको संस्था ‘प्रोफेशनल ब्युटी असोसिएसन यूके’ ले शनिबार अल्डरसटस्थित एम्पायर हलमा फेशन शोसहित मेक अप कम्पिटिसन गरेको छ ।
उक्त फेशन शोमा लन्डनस्थित डिजाइनर आर्च कलेक्सनकी अन्जली केसीले डिजाइन गरेका पोशाकहरु लगाएर मिस नेपाल यूके २०१७ का सातजना प्रतियोगीले क्याटवाक गरे ।
क्याजुअल, गाउन र ब्राइडल ड्रेस पहिरिएर तीन सिक्वेन्समा मोडलहरु रयाम्पमा उत्रिएका थिए । फेशन शोको कोरियोग्राफी माला गुरुङले गरेकी थिइन् ।
फेशन शोकी प्रमुख अतिथी थिइन् नेपालकी स्थापित सौन्दर्यवीज्ञ कमला श्रेष्ठ । विगत चार दशकदेखि यस क्षेत्रमा आवद्ध प्रोफेशनल ब्युटी असोसिएसन नेपालकी अध्यक्ष श्रेष्ठ यही फेशन शोका लागि बेलायत आएकी थिइन् । कार्यक्रमलाई सम्वोधन गर्दै श्रेष्ठले बेलायतका नेपाली महिला सौन्दर्य व्यवसायीहरुले चुनौतिपूर्ण पेशालाई सहज ढंगले सञ्चालन गरेकामा खुशी लागेको बताइन् । ‘६ वर्ष अघि तदर्थ समितिका रुपमा म आफैंले जन्माएको संस्था संगठित भइरहेको थाहा पाउंदा खुशी लागेको छ’, श्रेष्ठले भनिन्, ‘ब्युटिसियन दिदी बहिनीहरु एकजुट र सक्रिय भएर लागेकामा म प्रसन्न छु । उनीहरुले विदेशको व्यस्तताबीच आफ्नो सीप र पेशालाई बचाइरहेको पाएं ।’
नेपाल उद्योग वाणिज्य महासंघकी सदस्य श्रेष्ठले नेपालमा सौन्दर्य व्यवसायलाई सरकारले उद्योगको मान्यता दिइसकेको बताउंदै सौन्दर्य विषय पाठयक्रममा समेत समावेश भएको जनाइन् । ‘शुरुमा यस पेशामा लाग्ने तीनजना मात्र थियौं हामी’, श्रेष्ठले सुनाइन्, ‘अहिले त नेपालमा करिब तीन लाख जना होलान् ।’
प्रोफेशनल ब्युटी एसोसिएसन यूकेकी अध्यक्ष सुनिता थापाले स्थानीय डिजाइनर, मेक अप आर्टिष्ट र युवालाई प्लेटफर्म दिन यो कार्यक्रम गरिएको बताइन् ।
महासचिव धनु गुरुङले स्थानीय डिजाइनर र मोडलहरुलाई प्रोत्साहन एवं प्रवर्धन गर्न फेशन शो गरिएको जनाइन् । महासचिव गुरुङका भनाइमा बेलायतमा ब्युटी सलुन सञ्चालन गरिरहेका एसोसिएसनमा आवद्ध नेपाली महिला करिब तीन दर्जन छन् । बेलायतका नेपाली ब्युटिसियनहरुलाई एकजुट गराउने, ‘आइडिया सेयर’ र समस्या पर्दा सहयोग गर्ने संस्थाको उद्देश्य रहेको पनि धनुले बताइन् ।
ब्युटी सलुन सञ्चालन नगरेका तर सौन्दर्यमा रुची भएका ‘ फ्रिल्यान्स न्यूकमर’ ७ जना युवतीले भाग लिएको मेकअप प्रतियोगितामा निक्की पाण्डे विनर बनिन् । उक्त प्रतियोगितामा कमला श्रेष्ठ, धरानकी भारती सुब्बा र प्रेक्ष्या बस्नेत निर्णायक थिए । प्रतियोगिताका विजेतालाई मुख्य प्रायोजक न्यू लक्ष्मी ज्वेलर्सले सुनका गरगहना उपहार प्रदान गरेको थियो ।
फेशन शोमा विशेष अतिथी एनआरएनए आइसीसी सदस्य शान्ति थापा कुंवर थिइन् भने अतिथीहरुमा मिस नेपाल यूके आयोजक इभेन्ट एण्ड आइडियाजकी निर्देशक शान्ति गुरुङ लगायत सहभागी थिए ।
श्रद्धा गुरुङले सञ्चालन गरेको उक्त शोमा जेनी सुनुवारले आकर्षक नृत्य प्रस्तुत गरिन् भने सुलभ श्रेष्ठले कविता सुनाए । त्यसैगरि आशुतोष थापा, निराकार अधिकारी, रोनिस दर्नाल र प्रमोद थापा मगरको समूहले विभिन्न लाइभ गीत संगीत प्रस्तुत गरेको थियो ।
आयोजकले कलाकार, प्रायोजक र सहयोगीलाई प्रशंसा पत्र प्रदान गरेको थियो । साउण्ड व्यवस्थापन हेम बिष्टले गरेका थिए ।
तस्विर- शिव भण्डारी
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न