
लन्डन । बेलायतस्थित नवप्रतिभाहरुको खोजी गर्ने एउटा प्रतियोगिता प्रतिभा नक्षत्रलाई आर्थिक सहयोग जुटाउन गत शनिबार एक च्यारिटी डिनर कार्यक्रम गरिएको छ । नाटक मञ्चन, सांस्कृतिक प्रस्तुति र टपरी दुनामा अतिथीहरुलाई रात्रीभोज ख्वाएर आयोजकले कार्यक्रम गरे । कार्यक्रम स्थलमा नेपालको मौलिकता, संस्कृति झल्कने नेपाल घर, वास्तुकला तथा विभिन्न नेपाली
परिकार प्रदर्शनी गरिएको थियो ।
प्रतिभा नक्षत्रकी अध्यक्ष सिम्मी पुनको अध्यक्षता र एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमबाट करिब दुई हजार पाउन्ड संकलन भएको जनाउंदै आयोजकले अन्तिम हिसाब आउन बांकी रहेको जानकारी दिएका छन् ।
कार्यक्रममा स्थानीय तथा बेलायतको नेपाली संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति थियो ।
संस्थाका महासचिव लछुमन गुरुङले सञ्चालन गरेको पहिलो चरणको औपचारिक कार्यक्रममा संस्थाका संरक्षक मनिष कुमार श्रेष्ठ र परिकल्पनाकार राजेन्द्र खसले प्रतिभा नक्षत्रको अवधारणाबारे जानकारी दिए ।
दोश्रो चरणको सांस्कृतिक कार्यक्रम बाबु राना तथा मन्जु भट्टले सञ्चालन गरेका थिए ।
कार्यक्रममा प्रतिभा नक्षत्रले गरेका गतिविधि समेटिएको एक भिडियो प्रदर्शन साथै सुनिता गौतम र विकेशराज बस्नेतद्वारा निर्देशित नाटक समेत प्रदर्शन गरियो । नाटकले सबै नेपालीबीच आपसी सद्भाव र एकतामा जोड दिएको थियो ।
कार्यक्रममा विभिन्न नृत्य, गीत, बांसुरी, मादल र हार्मोनियमको धुनले थप रौनकता दियो । स साना बालबालिकाले आफैं बजाएर गायत्री मन्त्र वाचन गरे भने भूमी ब्यान्डले लाइभ प्रस्तुति दिएको थियो ।
आगामी अगष्टमा गर्ने तयारी गरिएको प्रतिभा नक्षत्रको खास उद्देश्य बेलायतमा रहेका बालबालिका र युवाहरुमा लुकेर रहेको प्रतिभा उजागर तथा विभिन्न मौलिक नेपाली कला संस्कृति, जातजातिको भेषभुषा, साहित्य, भाषा आदिलाई एकै थलोमा प्रस्तुत गर्ने रहेको आयोजकले बताएका छन् ।
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]