लन्डन । लन्डनस्थित केम्पटन पार्क रेस कोर्स आइतबार मिनी नेपाल झैं सिंगारियो । करिब दश हजार नेपालीको जमघटले मात्र होइन, ९ औं नेपाली मेलामा प्रस्तुत विभिन्न जातजातीका सांस्कृतिक झांकी, भेषभुषा र हाट बजारले नेपाल भन्दा फरक परिवेश अनुभूति गराएन ।
‘नेपाली संस्कृति र परिवेश सांच्चिकै नजिकबाट नियाल्न पाएं’, यूके नेपाल फ्रेण्डसीप सोसाइटीका कार्यकारी निर्देशक एलान सान्का दंग देखिन्थे । नेपाल गइरहने उनले बरु नेपालमै यस्तो वातावरण नदेखेको सुनाए । सहभागी अधिकांश आफ्नो मौलिक पोशाक र गरगहनामा सजिएका थिए ।
नेपालमा बाढी पीडितलाई राहत वितरण छाडेर मेलाकै लागि बेलायत आइपुगेका विशेष अतिथी एनआरएनए आइसीसी अध्यक्ष शेष घलेले नेपाली मेला वृहत देखेर गदगद भएको बताए । ‘नेपाली कला संस्कृति जीवित राख्ने यस्तो मेलाबाट विश्वका अन्य मुलुकका नेपालीले पनि सिक्नुपर्छ’, उनले सुझाए ।
लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नाराका साथ मेला भएको हो । मेलामा बेलायतस्थित नेपालीका जातीय र सामाजिक गरि २५ संघसंस्थाले झांकी प्रस्तुत गरे । नेपाली गीत संगीत, बाजागाजा अनि पहिरनले नेपालमय बन्यो केम्पटन पार्क रेस कोर्स । उक्त ठाउंमा अरु बेला घोडा दौड हुने गर्छ ।
प्रमुख अतिथी राजदूत दुर्गाबहादुर सुवेदीले नेपाल वहुजातीय, वहुसांस्कृतिक, वहुभाषिक र वहुधार्मिक मुलुक भएको जनाउंदै मेलामा प्रस्तुत झांकी, गीतसंगीत र नृत्यले नेपाली संस्कृति र सभ्यताको पहिचान दिलाएको बताए ।
मेला हेर्न चीन, बंगलादेश, म्यान्मार, साइप्रस, यमन, निकारागुवा, सेनेगल, फिलिपिन्स, माल्दिभ्स, इराक, इजरायल, लेसोथो, घाना, जमैका जस्ता विभिन्न देशका १६ राजदूतसहित कुटनीतिज्ञ, बेलायती सांसदहरु, स्थानीय मेयर, काउन्सिलरहरु आदि सहभागी भए ।
झांकीबाहेक युवाहरुको लाइभ म्यूजिक, लोक गीत संगीत, नृत्य प्रतियोगिता, खाना प्रदर्शनी आदि आकर्षण रहे । उत्कृष्ट झांकी र नाच गरेर लमजुङ समाज यूकेले एघारसय पाउण्डको एम्बासडर कप र एनआरएनए कप जित्यो । एम्बासडर कपमा घान्द्रुक समाज यूकेले दोश्रो र सिक्लेस पार्चे कम्युनिटी यूकेले तृतीय पुरस्कार जिते ।
महासचिव कृष्ण गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले नेपाली कला संस्कृति, भाषा र परम्परा संरक्षण गर्ने परिकल्पनासहित नेपाली दूतावास र विभिन्न संघसंस्थाको सहयोगमा सन् २००९ देखि नेपाली मेला शुरु गरिएको जनाए । मेला पर्यटन प्रवर्धन र नेपाली समुदायका व्यवसाय विस्तारमा समेत कोशेढुंगा भएको उनको टिप्पणी थियो । मेला संयोजक तथा तमुधिं यूके उपाध्यक्ष हितकाजी गुरुङले स्वागत मन्तव्य दिंदै मेला व्यवस्थापनबारे बताए ।
मेलामा लन्डन मेयर सादिक खान आउने ९९ प्रतिशत निश्चित भएको बताएपनि उनी सहभागी भएनन् । बरु बेलायतको विपक्षी दलका नेता जेरेमी कोर्बिनको शुभकामना भिडियो सन्देश देखाइएको थियो ।
यसैबीच, तमुधिं यूकेले मेलाको अवसरमा सप्तरीका बाढी पीडितलाई १० लाख रुपैयां आर्थिक सहयोग प्रदान गरेको छ । तमुधिं यूकेले आफ्ना संरक्षक एवं एनआरएनए आइसीसी अध्यक्ष शेष घलेमार्फत उक्त रकम बाढी पीडितलाई दिएको हो । साथै, समारोहमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पांचजना गोर्खा तथा चार एभरेष्ट म्याराथन धावकहरुलाई पनि सम्मान गरियो ।
तस्विरः बीरेन्द्र श्रेष्ठ/शिव भण्डारी
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह