लन्डन । चुनावको मुखमा सदस्यता परित्याग गरि वार्ताको टेबुलमा आकर्षक पद खोजेका नर्दन आयरल्याण्डवासी नेपाली अन्ततः एनआरएनए यूकेबाट बाहिरिएका छन् । संघले विधान विपरित उपाध्यक्ष पद अहिले नै दिन नसकिने जवाफ दिएपछि दुःख मान्दै नर्दन आयरल्याण्डवासी नेपालीले अन्ततः सामूहिक सदस्यता परित्याग गरेका हुन् । सदस्यता परित्याग गर्नेमा २८ जना थिए ।
‘हामीले विधान संशोधनपछि अर्को कार्यकालबाट उपाध्यक्ष दिन्छौं । अहिले क्षेत्रीय संयोजकको जिम्मेवारी लिनु भन्दा मानेनन्’, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङले वीनेपालीलाई भने, ‘दुई दिन छलफल गर्दा पनि उनीहरु संस्थाप्रति उत्तरदायी भएनन्, पदमात्र खोजे ।’
संघले सामाजिक अगुवा र उम्मेदवारहरुसंग राय लिंदा सबैले अहिले दिन नहुने बरु स्कटल्याण्ड जस्तै उम्मेदवार बनेर आउनुपर्ने सुझाएका थिए । आफ्नो माग बमोजिम नभएपछि सोमबार नर्दन आयरल्याण्डका नेपालीले तल उल्लेखित पत्र पठाएर बाहिरिएको घोषणा गरेका हुन् ।
उनीहरुको पत्र जस्ताको तस्तैः
आदरणीय एनआरएनए यूकेका सभापति ज्यू, पदाधिकारी तथा साथीहरु ।
भर्खरै सभापति ज्यू मार्फत आएको निर्णयलाई स्वीकार गर्न नसक्दा हामी दुःखी छौं । नर्दन आयरल्याण्डलाई यसै वर्ष देखि बाहिर राख्ने गरि आधिकारिक रुपमा भएको निर्णयले यहां बस्ने आम नेपालीहरुलाई केवल थप दुःखी मात्र बनाएको छ । हामीले सामूहिक सदस्यता परित्याग पत्र अनि १४ अगष्टको छलफलमा नर्दन आयरल्याण्डको तर्फबाट जुन मान्यताहरु सुस्पष्ट राखेका थियौं, यो निर्णय पश्चात समेत हामी आफ्ना ती मान्यताहरुमा आज पनि अविचलित छौं । हामी हाम्रा तिनै सैद्धान्तिक तथा व्यवहारिक मान्यताहरुमा अडिग रुपमा उभिरहने छौं ।
सभापति ज्यू,
विधानको भावनाको सम्मान तथा अक्षरसः पालनामा हामी पूर्ण प्रतिवद्ध छौं । हामीले राखेका कुनै पनि विषय विधान विपरित छैनन् । आफ्नो लोलुप आकांक्षा साध्न विधानको नाम लिनु मात्रले विधानको पालना हुंदैन । विधानमा परिच्छेद ११ को निर्वाचन कार्यविधि बाहेक पदाधिकारी तथा सदस्यहरुको निर्वाचन कसरी हुने भन्ने कहीं कतै उल्लेख छैन् । यस परिच्छेदको दफा ३२.५ मा निर्वाचन आयोगले राष्ट्रिय समन्वय परिषदले पारित गरि लागू गरेको नियमावली बमोजिम निर्वाचन सम्पन्न गर्नु पर्नेछ भन्ने उल्लेख छ । अतः को कहांबाट कसरी निर्वाचित गराउने भन्ने सन्दर्भमा राष्ट्रिय समन्वय परिषदले निर्णय लिन सक्छ र नियमावली बनाइ निर्वाचन आयोगलाई मार्गनिर्देश गर्न सक्छ । विधान बनाइरहनु पर्दैन । हामीले यही विधिबाट समाधान खोजौं भनेका हौं । समावेशिताका लागि उमेदवार बन्ने आरक्षण भनिएको हो तिनीहरुको निर्वाचन दफा ३२.२ बमोजिम संयुक्त अधिराज्य बेलायत भरी बसोबास गर्ने पञ्जिकृत सदस्यहरुबाट हुने हुंदा समेट्न चाहेमा विधान विपरित हुंदैन । यदि हामीले राखेको यो विषयले विधान बाझिन्छ भने महिला उपाध्यक्षका लागी गरिएको आरक्षण कसरी विधान सम्मत भयो ? विधानको दफा १८ मा उपाध्यक्ष ६ जना मात्र भनेको छ । महिला पुरुष भनेको छैन् । त्यही आरक्षण इंग्ल्याण्ड भित्र पर्ने गरि
(महिलाका लागि) गर्न सकिने, विधान सम्मत पनि हुने, तर इंग्ल्याण्ड बाहिर पर्ने गरि गर्दा कसरी विधान विपरित हुने ? यो त विधान ब्याख्याको दोहोरो मापदण्ड भयो । यदि सबै क्षेत्र समेट्ने हो भने नियमावली बनाएर जान सकिन्छ । विधान कुर्नु त केवल बहाना हो ।
सभापति ज्यू,
विधानमा नभएर मात्र हो नत्र नर्दन आयरल्याण्डका लागि जे पनि गर्न तयार छांै भन्नेहरुलाई तपाईं मार्फत एक पटक विधान हेर्न आग्रह गर्न चाहन्छौं । २०१५ मा परिमार्जित विधानमै क्षेत्रीय परिषदको ब्यवस्था छ । तर, हाम्रो यो छलफलमा सहभागी कतिपय साथीहरुले अब विधान संशोधन गरि क्षेत्रीय परिषदको ब्यवस्था गर्न सकिने तर्क गर्नु भएको छ । यसले उहांहरु विधान हेर्दै नहेरी विधानको ब्याख्या गर्नु भएको बुझिन्छ । यसले यो छलफलमा हामीलाई तर्काउन भएका विधानका कुरा तथा हामीलाई समेट्ने भनि सुनाइएका योजनाहरु कति हल्का, सतही तथा आधारहिन छन् भन्ने प्रष्ट भएको छ । समेट्न विधान होइन इच्छा शक्ति चाहिन्छ । २०१५ देखि विधान भएको परिच्छेद ९ को क्षेत्रीय परिषद सम्वन्धि कुरा हामीले सामूहिक सदस्यता परित्याग गर्ने बेला सम्म थन्कियो । यो नै इच्छा शक्ति विना विधानमा जे लेखे पनि केही हुंदैन भन्ने उदाहरण हो ।
सभापति ज्यू,
हामीले कसैको पद खोसेर हामीले लिइहाल्ने योजनाका साथ आएका होइनौं । हामीले पदलोलुपता देखाएको नभइ हाम्रो समेत अधिकार लाग्ने विषयमा अन्यत्रबाट भएको मरिहत्ते दर्शाइदिएको मात्र हो । अर्काले अनाधिकार ओगटी रहेको आफ्नो अधिकारले भेट्ने वस्तु माथिको भद्र दावी लोलुपता होइन । बरु नछोड्ने प्रवृत्ति चिन्ताजनक छ ।
आगामी अधिवेशनले नर्दन आयरल्याण्डको विषयमा कुरा गर्न मिल्दैन । नर्दन आयरल्याण्ड नभएको एनआरएनए यूकेले यहांको एउटा भागमा बस्ने नेपालीहरुलाई पुरै बाहिर धकेले पछि आफू आफू मिलेर गरेको छलफल त्यति सान्दर्भिक हुंदैन । तर हाल सम्म भएका पहल तथा छलफलको वातावरण नकारात्मक तथा सकारात्मक प्रतिकृयाका लागि हार्दिक धन्यवाद । हाम्रो अभियानको पक्षमा अभिमत जाहेर गर्नुहुने सम्पूर्ण अग्रज एनआरएन अभियन्ताहरुमा विशेष आभारी छौं ।
अन्तमा भर्खरै नर्दन आयरल्याण्डलाई नसमेट्ने गरि आएको निर्णयलाई पूर्ण रुपमा अस्वीकार गरेको जानकारी गराउंदछौं ।
धन्यवाद
नर्दन आयरल्याण्डका तर्फबाट
लिलाराम निउरे
सभापति
नेपाली कम्युनिटी, नर्दन आयरल्याण्ड
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि