
नवनियुक्त गृहमन्त्री जनार्दन शर्मा गृहमन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।
काठमाडौँ, २४ जेठ । गृहमन्त्री जनार्दन शर्माले सुरक्षा सङ्गठनमा देखिएका समस्याहरु निराकरण गर्न सिपाहीसम्मको सुझाव लिएर आवश्यक नीति निर्माण र सङ्गठनको पुनःसंरचना गरिने बताउनुभएको छ ।
आज गृहमन्त्रालयमा पद बहालीपछि कर्मचारी तथा सुरक्षा निकायलाई निर्देशन दिँदै गृहमन्त्री शर्माले भन्नुभयो – “तपाईंहरुको इमान्दारितालाई सम्पूर्णरुपमा जनताको सेवामा प्रयोग गर्नेछु । गृहमन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रय अनुसन्धान विभागलाई राजनीतिक उद्देश्यका लागि चलखेल गर्ने, सरकारको नीति र योजना कार्यान्वयनमा भेदभाव गर्ने र अनुशासन तोड्ने कार्यमा छुट दिने छैन ।”
उहाँले सुरक्षा निकायको चेन अफ कमाण्डमा कडाइ गरिने तथा प्रचारबाजी गर्ने, वक्तव्य दिने, अनावश्यक अन्तर्वार्ता दिने जस्ता प्रवत्तिको अन्त्य गरिने प्रष्ट पार्नुभयो ।
गृहमन्त्री शर्माले भन्नुभयो, “जनताले चाहेजस्तो नेपाल प्रहरी हुनेछ । जनताले चाहे जस्तो सशस्त्र प्रहरी बल हुनेछ । देशले चाहेजस्तो अनुसन्धान विभाग हुनेछ । देशको संवेदनशील विषय हेर्ने अनुसन्धान विभागलाई आवश्यक पुनःसंरचना गरिनेछ ।”
मूल्याङ्कनको माध्यम परिवर्तन गरी जनता र सिपाहीबाट गरिएको मूल्याङ्कनलाई सही मूल्याङ्कन मानिने उहाँले जानकारी दिनुभयो । मन्त्रालय र यसअन्तर्गतका निकायको परिवर्तन र सुधारको सम्बन्धमा केही दिनमै योजना सार्वजनिक गरिने दृढता पनि उहाँले व्यक्त गर्नुभयो ।
मन्त्री शर्माले पहिलो निर्णयको रुपमा दोस्रो चरणको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सफलतापूर्वक सम्पन्न गर्न गृह मन्त्रालय र सुरक्षानिकाय र समस्त कर्मचारीलाई निर्देशन दिनुभयो ।
यस्तो छ गृहमन्त्री शर्माको जीवनी
रुकुम जिल्लाको मुसिकोट नगरपालिका–५ (तत्कालीन खलङ्गा गावि सेरीगाउँ)मा स्कन्द शर्मा र नर्मदा शर्माको जेठो सन्तानको रुपमा गृहमन्त्री जनार्दन शर्माको विसं २०२० सालमा जन्म भएको हो ।
यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा ऊर्जा मन्त्रालयको नेतृत्व सम्हालेर विद्युतभार कटौतीमा महत्वपूर्ण भूमिका खेलेर चर्चा बटुल्नुभएका शर्मा स्थानीय तहको दोस्रो चरणको निर्वाचन, सङ्घ र केन्द्रको निर्वाचनका लागि शान्ति सुरक्षाको महत्वपूर्ण भूमिका निभाउनुपर्ने गृह मन्त्रालयको जिम्मेवारीमा आइपुग्नुभएको छ ।
यसअघि पहिलोपटक विसं २०६५ सालमा प्रचण्ड प्रधानमन्त्री हुँदा शान्ति तथा पुनःनिर्माण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका शर्मासँग माओवादी जनसेनाको डेपुटी कमान्डरको भूमिका निभाएको अनुभव छ ।
उहाँ त्रिभुवन विश्वविद्यालयमा एमए अध्ययन गर्दागर्दै सशस्त्र सङ्घर्षका क्रममा २०५२ सालदेखि भूमिगत हुनुभयो । शर्माले जेटिए भई पाँच वर्ष काम पनि गर्नुभयो ।
उहाँ संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा रुकुम क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको हो ।
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]