लन्डन । बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिले यहाँ कार्यरत नेपाली पत्रकारलाई व्यावसायिक पत्रकारिता गर्न सुझाएका छन् ।
नेपाल पत्रकार महासंघ, बेलायत शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आयोजना गरेको यूकेको नेपाली पत्रकारितामा व्यावसायिकताको सम्भावना र चुनौती विषयक अन्तरक्रियाका सहभागीले क्रियाशील पत्रकारहरु बढेसँगै उनीहरुमा पेशागत दक्षता र जवाफदेहिताको खाँचो समेत औँल्याए ।
शाखा अध्यक्ष चिरन शर्माको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रियामा प्रवासी नेपाली मञ्च, यूकेका अध्यक्ष रामशरण सिम्खडाले पत्रकारिताले मात्र जनतालाई लोकतन्त्रको अनुभूति गराउन सक्ने बताउँदै पत्रकारहरुबीच व्यावसायिक स्वच्छता र शुद्धीकरणको आवश्यकतामा जोड दिए । अनलाइन सञ्चालन गर्ने पत्रकारहरु रचनात्मक पत्रकारिताभन्दा पनि कपी पेष्टतर्फ उद्यत भएको संकेत गर्दै उनले समाजका अन्य गहन विषयको खोजी गर्न पनि सुझाए ।
मन्तव्यका क्रममा एनआरएनए आइसीसीका सल्लाहकार विश्वआदर्श पण्डितले जवाफदेहिता विनाको पत्रकारिताले जनविश्वास जित्न नसक्ने उल्लेख गर्दै पत्रकारहरुलाई समाज उत्प्रेरित गर्ने खालको पत्रकारिता गर्न सुझाव दिए । पण्डितले मानवअधिकारको परिभाषासमेत दिन नसकेको राज्यले नेपाली पत्रकारहरुको हकहित र पेशागत सुरक्षाका लागि अपेक्षाअनुरुप काम गर्न नसकेको समेत बताए ।
एनआरएनए आइसीसी सदस्य एवं एनआरएनए यूकेका निवर्तमान अध्यक्ष
कुल आचार्यले देश अझै संक्रमणकालमा रहेको र बेलायतमा नेपालीको पहिलो पुस्ता भएकाले पत्रकारितामा धेरै चुनौती रहेको औँल्याए । उनले विश्वव्यापीकरणको युगमा पत्रकारहरुलाई अरु बढी दक्ष, संयमित र व्यावसायिक भएर लाग्न सुझाए । पत्रकारहरुलाई आफ्नो मातृभूमिप्रति केही गर्न पनि आचार्यको जोड थियो ।
एनआरएनए यूके अध्यक्ष योगेन क्षेत्रीले बेलायतस्थित केही नेपाली पत्रकारहरु सत्यतथ्यभन्दा पनि व्यक्तिगत आक्षेप र गालीगलौजमा उत्रने क्रम बढेको गुनासो गर्दै त्यसको शिकार आफू पनि भएको बताए । क्षेत्रीले नेपाली मिडियाले बेच्ने सामग्री गुणस्तरीय भए सबैले ग्रहण गर्ने उल्लेख गर्दै स्वतन्त्र पत्रकारिता गर्न सल्लाह दिए ।
एक्टनस्थित एबीआइ कलेजमा भएको उक्त कार्यक्रममा प्रगतिशील नेपाली समाज बेलायतका अध्यक्ष सुरेन्द्र श्रेष्ठले पत्रकारहरुले नकारात्मक समाचारलाई मात्र बढी
प्राथमिकता दिने गरेको गुनासो गर्दै कसैलाई देवत्वकरण र कसैलाई राक्षसी अवतार बनाउने प्रवृत्ति पत्रकारितामा बढेको टिप्पणी गरे ।
एनआरएनए आइसीसी सदस्य एवं नेपाली जनसम्पर्क समिति बेलायतसित सम्वद्ध विजन भट्टले पत्रकारहरुमात्र होइन, राजनीतिज्ञहरु पनि डर, त्रास र धम्कीमा बाँच्नुपरेको उल्लेख गर्दै बेलायतमा नेपाली पत्रकारिताले नयाँ पुस्तालाई आकर्षित गर्न सक्नु नै प्रमुख चुनौती रहेको बताए भने गैर आवासीय नेपाली संघ बेलायतका उपाध्यक्ष हिराधन राईले पत्रकारहरुले नेपाली समुदायलाई सुसुचित गरेको बताए ।
टिभी पत्रकार एवं नमस्ते युरोपका सञ्चालक राजेन्द्र भट्टले समुदायको अपेक्षा अनुरुपका सामाग्री पस्कन सके बेलायतमा नेपाली मिडियाको सम्भावना धेरै रहेको बताए ।
शाखाका महासचिव श्याम लुईंटेलले सञ्चालन गरेको उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नरेश खपांगीमगरले स्वागत मन्तव्य दिँदै विश्व प्रेस स्वतन्त्रता दिवसको इतिहास, नेपाल र विश्वमा प्रेस स्वतन्त्रताको अवस्था, राज्य र युद्धरत पक्षबाट पत्रकारमाथि भएका आक्रमण, हत्या आदि समेटिएको एउटा अवधारणा पत्र र रेडियो पत्रकार रुपेश सिलवालले प्रेस स्वतन्त्रताबारे एउटा अडियो सामाग्री प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पत्रकारहरु फणिन्द्र भट्टराई, मिलन शर्मा, वाचस्पति रेग्मी लगायतले आफ्ना धारणा राखेका थिए । कार्यक्रममा उपस्थित हुन नसकेका कार्यवाहक नेपाली राजदूत तेजबहादुर क्षेत्रीले शुभकामना सन्देश पठाउँदै पत्रकारहरुलाई मर्यादित र व्यावसायिक भएर अगाडि बढ्न आग्रह गरेका छन् ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला