लन्डन । साहित्य चौतारी यूकेले छैठौं श्रृंखला अन्तर्गत विश्व साहित्यका शिखर व्यक्तित्व विलियम शेक्सपियरको जन्मथलो स्ट्राटफोर्ड अपन एभोनको काव्ययात्रा सम्पन्न गरेको छ । गत २५ र २६ फेब्रुअरी, ०१७ मा आयोजित उक्त काव्ययात्रामा १९ जना सहभागी थिए । काव्ययात्राका लागि लन्डनबाट वासु शर्मा, दिनेश पौड्याल, विनोद न्यौपाने, अर्कराज तिम्सिना, विष्णु न्यौपाने, शंकर घिमिरे, कृष्ण थापा क्षेत्री, गोपाल शाही ‘पथिक’, ललित न्यौपाने, जित रानाभाट, अर्जुन पौडेल, चन्द्र कार्की, विमल अधिकारी, भुवानी न्यौपाने, कर्ण अधिकारी र मदन पौडेल, नर्थ योर्कशायरबाट पं. आत्माराम दाहाल, स्कटल्याण्डबाट दुष्यन्त भट्टराई र नर्बेबाट लोक सुब्बा सहभागी रहेका थिए । उक्त श्रृंखलाको संयोजन कवि दिनेश पौड्यालले गरेका थिए ।
साहित्यकारहरुको यात्रा दुई चरणमा सम्पन्न भएको थियो । पहिलो चरणको कार्यक्रम काव्यिक कार्यशालाका रुपमा सम्पन्न भयो भने दोश्रो चरणको कार्यक्रम दोश्रो दिन विलियम शेक्सपियरको संग्रहालय अवलोकन भ्रमण गरी सम्पन्न गरिएको थियो ।
पहिलो दिनको कार्यशाला गोष्ठी चार सत्रमा सम्पन्न भएको थियो । गोष्ठीका सबै सत्र अर्कराज तिम्सिनाले सहजीकरण गरेका थिए । त्यस्तै, प्रक्रियाहरुको दस्तावेज राख्ने जिम्मेवारी भुवानी न्यौपानेले लिएका थिए ।
पहिलो सत्रमा श्रष्टा वासु शर्माले साहित्य चौतारी यूकेको परिकल्पना र ध्येयबारे प्रकाश पारेपछि सहभागीबीच छलफल भएको थियो । उक्त सत्रमा संस्थाले आगामी अगष्टभित्र सामूहिक काव्य संगालो प्रकाशन गरी साहित्य चौतारीको १२ औं श्रृंखलामा लोकार्पण गर्ने निर्णय गरेको छ ।
गोष्ठीको दोश्रो सत्रमा सहभागीले आफ्ना कविता, मुक्तक र गजल वाचन गरेका थिए । सिंगो कार्यशाला गोष्ठीको विशेष सत्रका रुपमा रहेको तेश्रो सत्रलाई नर्बेबाट आएका लोक सुब्बाले ‘काव्यिक प्रक्रिया- कवि, भाव र काव्यबीचको अन्तरसम्बन्ध’ विषयमा गहन छलफल गराएका थिए ।
सो सत्रको मुख्य लक्ष्य सिर्जनाका रूप, माध्यम र प्रक्रिया जसका आधारमा स्रष्टा स्वयं सिर्जनामा प्रवेश गर्छ वा उपस्थित हुन्छ त्यस तर्फ सहभागीहरुलाई सचेत गराउनु र यही अवधारणाका आधारमा आआफ्नो सिर्जनाहरुको विश्लेषण गर्न अभिप्रेरित गर्नु थियो ।
काव्य सिर्जनाको सन्दर्भ, कविको अनुभूति, सिर्जनाको लक्ष्य, लक्षित पाठक, प्रस्तुति शैली जस्ता सिर्जनाधर्मका अन्तरनिहित तत्वहरुबारे सहभागीबीच गम्भीर छलफल हुनुका साथै सहभागीहरुले आत्म चिन्तन समेत गरेका थिए । यस्तो अन्तरक्रिया साहित्य सिर्जनामा अझै निखार ल्याउन अत्यन्त सहयोगी बनेको प्रतिक्रिया सहभागीले दिए ।
सो कवि गोष्ठीको अन्तिम सत्र काव्य सत्रका रुपमा सञ्चालन गरिएको थियो र उपस्थित कविहरुले आ–आफ्ना कविता, गजल र मुक्तकहरु वाचन गरेका थिए । वाचन गरिएको प्रत्येक कविको सिर्जनालाई अघिल्लो सत्रमा छलफल गरिएको काव्यिक प्रक्रियाको कसीमा घोटेर सहभागीहरुले समालोचना समेत गरेका थिए ।
बेलायतवासी ४० जना नेपाली साहित्यकार एवं साहित्यानुरागीहरु सम्मिलित उक्त समूह सन् २०१६ सेप्टेम्बर यता सक्रिय रहंदै आएको छ । संस्था औपचारिक संगठनात्मक संरचनायुक्त नभई एउटा खुकुलो अनौपचारिक समूह मात्र भएको संयोजनकारी भूमिका निर्वाह गरिरहेका एक सदस्य कवि एवं साहित्यकार वासु शर्माले जानकारी दिए । उनका अनुसार चौतारीको अवधारणामा सञ्चालनमा आएको उक्त समूहमा स्वतन्त्र रहेका र विभिन्न साहित्यिक संस्थामा आवद्ध व्यक्तित्वहरु हरेक महिना एकत्रित भएर आ–आफ्ना रचना वाचन गर्छन् ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने