गाेरखा सैनिकका पूर्व वकिलको लाइसेन्स खोसियो

तस्वीर काेभन्ट्री टेलिग्राफ

लण्डन । गोरखा भूतपूर्व सैनिक आन्दोलनको ऐतिहासिक उपलब्धिमध्ये एक जापानी युद्धबन्दीको मुद्दामा सफलता दिलाउने बेलायतका एक वकिलको लाइसेन्स खारेज गरिएको छ ।
बेलायतको बर्मिङहाममा रहेको पब्लिक इन्ट्रेष्ट लयर्सका वकिल फिल साइनरलाई कानुनी परामर्श गर्नबाट रोक लगाउने निर्णय बेलायतका वकिलहरुको नियामक निकाय सोलिसिटर डिसिप्लिनरी ट्राइबुनलले गरेको छ । त्यहाँ उनीविरुद्ध १२ वटा उजुरी परेका थिए ।
उनीमाथि इराकमा बेलायती सेनाले गरेको ज्यादतिका विरुद्ध मुद्दामा प्रमाण संकलन गर्दा खराब आचरण गरेको अभियोग लागेको थियो । उनले प्रमाण जुटाउनका लागि विचौलियालाई पैसा खुवाएको आरोप लगाइएको छ । उनको ल फर्म भने गत अगष्टमा नै बन्द भइसकेको छ ।
बेलायती रक्षा मन्त्री माइकल फालोनले फिल साइनरले गलत दाबी गरी सैनिकहरुको जीवन कष्टकर बनाएको भन्दै उनले माफी माग्नुपर्ने बताएका छन् ।
साइनरले गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का तर्फबाट दोस्रो विश्वयुद्धमा जापानले युद्धबन्दी बनाएका भूतपूर्व गोरखाहरुको मुद्दा बेलायतको उच्च अदालतमा लडेका थिए । सो मुद्दामा गोरखाहरुलाई ऐतिहासिक सफलतासमेत मिलेपछि गोरखाहरुको मुद्दाले अन्तर्राष्ट्रिय चर्चा पाएको थियो । मुद्दा जितेपछि दोस्रो विश्वयुद्धमा युद्धबन्दी बनाइएका पूर्व गोरखा र उनका परिवारलाई जनही १३ लाख रुपियाँ क्षतिपूर्ति दिइएको थियो । उनले सो मुद्दामा ४० मिलियन पाउण्ड क्षतिपूर्ति दिलाएको दाबी गरेका छन् ।
उनैले गोरखाहरुको समान पेन्सनको मुद्दा पनि लडेका थिए । तर सो मुद्दामा भने गोरखाहरुले दाबी गरेअनुसारको फैसला अदालतबाट भएको थिएन । गेसो पूर्व सभापति पदमबहादुर गुरुङले पछिल्ला वर्षहरुमा ‘फिल साइनर र गोपाल चिन्तनले समान पेन्सनको मुद्दा बिगारिदिएको’ आरोप लगाउने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री