लन्डन । गत जुन महिनामा भएको इयू जनमत संग्रहले बेलायत बहिर्गमन पक्षको जितसंगै ब्रेक्जिट, आप्रवासी, अर्थतन्त्र र विश्वमा बेलायतको भूमिकाबारे चर्चा हुने क्रम जारी छ ।
यसैक्रममा बेलायती व्यापार तथा उद्योगहरुको सबैभन्दा ठूलो संस्था सीबीआइले आप्रवासीलाई मुल मुद्दा नबनाउन सरकारसंग अपिल गरेको छ । डेभिड क्यामरुन नेतृत्वको तत्कालिन सरकारले हजारौं होइन, लाखौं अनुपातमा आप्रवासी संख्या झार्ने लक्ष्य लिएयता अध्यागमन नियममा कडाइ हुंदै आएको छ ।
सीबीआइले आप्रवासीबारे जनमानसको चासो बुझेपनि बेलायतका मुख्य उद्योगहरु जस्तै कृषि, केयर, भौतिक निर्माण तथा सेवा क्षेत्रमा कामदार अपुग हुने चेतावती दिएको छ । बेलायतमा कुल बेरोजगार ११ वर्षकै न्यून ४.८ प्रतिशत रहेको र आप्रवासीका कारणबाट स्थानीयवासीले रोजगारी गुमाउन नपरेको तर्क पेश गरेको छ ।
केही वर्ष यता वर्षेनी करिब तीन लाख आप्रवासी बेलायत आएको सरकारी तथ्यांकले जनाएको छ ।
धेरै आप्रवासीका कारण बेलायतमा तलब नबढेको भन्ने तर्कमा असमति जनाउंदै उक्त संस्थाले यसको बलियो प्रमाण नभएको बताएको छ । सीबीआइले बेलायती व्यवसाय र समग्र अर्थतन्त्रमा वास्तविक चुनौती रहेको तथ्य समेत उजागर गरेको छ ।
उता, खाद्यान्न र पेयसंग आवद्ध तीस भन्दा बढि संस्थाले युरोपेली कामदार बिना बेलायतको खाद्यान्न र पेयको मूल्य बढ्ने चेतावनी दिंदै सरकारको ध्यानाकर्षण गराएका छन् । विज्ञप्तिमा सीपवाला, अर्धसीपवाला र बिना सीप गरि करिब चालिस लाख कामदार कार्यरत खाद्यान्न र पेयको सेक्टरमा यी कामदारको भूमिका अतुलनीय भएको जनाइएको छ । विदेशी खासगरी पूर्वी युरोपबाट आएका कामदारका कारण गत तीन वर्षदेखि खाद्यान्न र पेयको मूल्य कम गर्न सफल भएको बताउंदै इयू आप्रवासी कामदारहरुको सहज आपूर्ति बिना सामानको मूल्य वृद्धि हुनुका साथै अर्थतन्त्रमा प्रतिकुल असर पर्ने उनीहरुको निष्कर्ष छ ।
बिना भेदभाव सबै सेक्टरलाई कमन मार्केटमा लैजान पनि बेलायत सरकारलाई आग्रह गरिएको छ । हालैका दिनमा कार बनाउने उद्योगलाई विशेष ग्राह्यता दिन सक्ने भन्ने बेलायती सरकारको नीतिलाई लक्षित गर्दै आप्रवासी कामदारको सहजताका लागि उपयुक्त नीति अवलम्बन गर्न पनि अनुरोध गरिएको छ । बेलायतको कृषिकार्य खासगरी फलफूल र तरकारी टिप्ने, पशुपालनमा अधिकांश कामदार इयूबाट आएका छन् ।
बेलायती ब्रेक्जिट मन्त्री डेभिड डेभिसले अहिलेको जस्तो इयू फ्री मुभमेन्ट रोकिने तर अर्थतन्त्रलाई असर नगर्ने गरि आप्रवासीको सीपअनुरुप उपयुक्त नीति तय गरिने जनाएका छन् । बढ्दो आप्रवासी संख्याले बेलायतको खासगरी निम्न वर्गीय मानिसमा चर्को असन्तुष्टि रहंदै आएको छ ।
बेलायतमा करिब तीस लाख युरोपियन युनियन देशका मानिस छन् । यो करिब कुल जनसंख्याको पांच प्रतिशत हो । यही अनुपातमा युरोपियन यूनियन बाहेकका अरु देशबाट आएका आप्रवासीको जनसंख्या छ । पछिल्लो तथ्यांक अनुसार सन् २००६ र २०१४ को बीचमा मात्रै झण्डै १६ लाख मानिस युरोपियन युनियन देशबाट बेलायतमा बसोबास गर्न आएको र सन् २०१५ को तथ्यांक अनुसार १२ लाख बेलायतीहरु युरोपियन युनियन देशहरुमा बसोबास गर्ने तथ्यांकमा छ ।
बेलायती जनमानस आप्रवासीको कुरामा विभाजित रहेपनि सरकारले सबै पक्षलाई मान्य हुने गरि समाधान खोज्न चाहिं चुनौती हुने लन्डनस्थित अर्थ ब्यवस्थापनका जानकार विकलचन्द्र आचार्य बताउंछन् । इष्ट इन्डिया कम्पनी स्थापनाको इतिहासदेखि नै व्यापारिक हिसाबले अघि बढेको दृष्टान्ट रहेको बेलायतले ब्यापारिक हितलाई नै सरकारले प्रमुख प्राथमिकता दिने आचार्यको बुझाइ छ ।
बढ्दै गएको आप्रवासी संख्याले बेलायतको स्कुल, अस्पताल, यातायात, घर तथा सुविधामा धेरै भार परिरहेको र यो क्रम अरु बढ्दै जाने कुराले युरोपियन युनियन छोड्नु पर्ने एउटा प्रमुख कारण भएको युरोप विरोधीहरुले बताउंदै आएका छन् । तर, समग्रमा इमिग्रेशनबाट करिब आठ अरब पाउण्ड वार्षिक बेलायतको अर्थतन्त्रमा योगदान पुगेको तथ्यांकले देखाएको छ ।
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो