सिड्नी, १० मङ्सिर । परराष्टमन्त्री डा प्रकाशशरण महतले विदेशमा प्राप्त गरेको ज्ञान र सीपलाई नेपालको विकासमा अधिकतम रुपमा प्रयोगमा ल्याउने काममा गम्भीर हुन गैरआवासीय नेपालीलाई आग्रह गर्नुभएको छ ।
अष्ट्रेलियाको सिड्नी सहरमा शुक्रबार आयोजित नेपाली समुदायको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा महतले गैरआवासीय नेपालीका रुपमा जहाँ गएर बसेको भए पनि त्यो पहिचान बनाउने आफ्नो मातृभूमिप्रतिको दायित्व नविर्सिन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “तपाइँहरु संसारको कुनै पनि देशमा भए पनि यो हैसियत निर्माण गरिदिने आफ्नो मातृभूमि हो भन्ने वास्तविकता बुझेर देशको विकासका लागि हरसमय लाग्न मेरो आग्रह छ । ”
विदेशमा प्राप्त गरेको ज्ञान र सीपलाई नेपालमा लगाउन सक्ने हो भने संसारमा छरिएर रहेका नेपालीले समृद्ध र समुन्नत नेपालको निर्माण गर्न धेरै समय लाग्दैन, उहाँले भन्नुभयो ।
गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलिया र न्यू साउथ वेल्सका लागि नेपाली अवैतनिक महावाणिज्यदूतको कार्यालयद्वारा आयोजित सो समारोहमा मन्त्री डा महतले नेपालमा बढीभन्दा बढी लगानी भित्र्याउन पनि गैरआवासीय नेपाली नागरिकलाई आग्रह गर्नुभएको मन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले जानकारी दिनुभयो ।
नेपाल हाल नयाँ संविधान कार्यान्वयनको चरणमा प्रवेश गरेको र विगत लामो समयसम्म हिंसा र पछ््यौटेपनमा परेको नेपालले विकास र समृद्धिको बाटो लिने समय भएको भन्दै मन्त्री डा महतले नेपालमा लगानीको वातावरण अब राम्रो भएको वास्तविकता बुझ्न आफू रहेको देशमा पनि यो सन्देश प्रवाह गर्न संसारमा रहेका गैरआवसीय नेपाली समक्ष विशेष जोड दिनुभयो ।
गैरआवासीय नेपालीलाई पनि नेपाली नागरिकता र अरु अधिकारका लागि संविधानमा राख्ने क्रममा आफूले विशेष भूमिका निर्वाह गरेको स्मरणगर्दै मन्त्री डा महतले यससम्बन्धी कानुनको निर्माण अब चाँडै हुने जानकारी पनि दिनुभयो ।
मन्त्री डा महतले परराष्ट नीतिलाई प्रयोग गरेर आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्न खोज्ने प्रवृत्तिका कारण नेपालको कुटनीतिक क्षेत्रमा समस्या आउने गरेको धारणा राख्नुभयो ।
सो कार्यक्रममा मन्त्री डा महतले गैरआवासीय नेपाली सङ्घद्वारा प्रकाशित स्मारिकाको विमोचन गर्नुभयो । यसैगरी मन्त्री महतले आजै बिहान अष्ट्रेलियाका पूर्व विदेशमन्त्री बब कारसँग पनि भेटवार्ता गर्नुभएको थियो ।
आजै सिड्नीमा नेपाल अष्ट्रेलिया डेमोक्र्याटिक फोरमद्वारा आयोजित एक अन्तक्र्रियामा पनि मन्त्री डा महत सहभागी हुनुभयो ।
त्यस अवसरमा उहाँले नेपालमा प्रजातन्त्रको सवलीकरण र विकासका लागि भूमिका निर्वाह गर्न पनि सबैलाई आग्रह गर्नुभयो ।
सो कार्यक्रममा नेपाली काँग्रेसका पवर्तका पूर्वसभापति नवराज गुरुङ, सो संस्थाका अध्यक्ष विवेक थापा, सल्लाहकार नारायण काफ्ले, पूर्वअध्यक्ष महेन्द्र थापा र छिरिङ तेन्जी शेर्पालगायतले अष्ट्रेलियामा रहेका नेपालीको अवस्था र सम्भावनाका बारेमा चर्चा गर्नुभएको थियो ।
मन्त्री डा महतले भोलि शनिबार सिड्नीमा गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलिया र यहाँस्थित नेपाली दूतावासद्वारा आयोजित नेपाल फेस्टिबलको उद्घाटन गर्ने कार्यक्रम छ ।
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई