लन्डन । बेलायती अर्थमन्त्री फिलिप हयामन्डले बुधबार संसदमा आगामी वर्षको सरकारी खर्च विवरण प्रस्तुत गर्दै अर्थतन्त्रको वृद्धिदर कम हुने भविष्य र सरकारले लिने ऋणभार अरु बढ्ने घोषणाले अर्थक्षेत्रमा तरंग पैदा गरेको छ । बेलायत इयूबाट बहिर्गमन हुने घोषणाको ठिक पांच महिनापछि अर्थमन्त्रीको घोषणा आएको हो ।
अर्थतन्त्रको वृद्धिदर कम र सरकारले लिने ऋणभार अरु बढ्ने कारण इयू छोड्ने (ब्रेक्जिट) बीचको अनिश्चिततालाई लिइएको छ । व्यवसायलाई अस्थिरताले पिरोल्छ जसका कारणले निर्यात, लगानी र जम्मा वृद्धिलाई असर गर्छ । आउंदो वर्षको आर्थिक वृद्धिदर २.२ बाट घटेर १.४ प्रतिशत हुने र सरकारी ऋणभार ३८ अर्ब पाउन्डबाट बढेर ५९ अर्ब पुग्ने अनुमान गरिएको छ । कमजोर आर्थिक वृद्धिका कारण ऋणभार ८२.६ प्रतिशतबाट बढेर ८७.३ प्रतिशत तथा राष्ट्रिय आम्दानी सन् २०१७, १८ मा ९०.२ प्रतिशत हुने अनुमान गरिएको छ ।
ब्रेक्जिटको कारणले बेलायती अर्थतन्त्रमा सन् २०२० सम्म १२२ अर्ब पाउन्डको नोक्सान तथा २.४ प्रतिशतले वृद्धिलाई असर गर्ने बेलायती स्वतन्त्र निकाय अफिस अफ बजेट रेस्पोन्सिबिलिटीले जनाएको छ ।
बेलायती अर्थमन्त्रीले पूर्वाधार लगानी अरु बढाउने, ४० हजार सस्ता घर बनाउने, अनुसन्धान तथा विकासमा खर्च बढाउने जस्ता कार्य गर्ने पनि जनाएका छन् ।
इयूबाट बेलायत बहिर्गमन के कस्तो शर्तमा हुने र यसपछि बेलायतको अर्थतन्त्रमा कति असर पर्ने हो भन्ने सन्त्रास माझ बेलायतको अर्थतन्त्रमा अरु प्रतिकुल असर पर्ने देखिएको छ । आयात र निर्यात गरि करिब ५० प्रतिशत व्यापार गर्ने बेलायतले इयूको कमन मार्केटमा रहिरहने या छोड्दा कस्तो व्यापार तथा आर्थिक नीति अवलम्बन गर्ने हो भन्नेले अर्थ व्यवस्थापनमा ठूलो महत्व राख्ने जानकारी बताउंछन् ।
सन् २००८ देखि नै बेलायती अर्थतन्त्रमा उत्पादकत्व र ऋणले संकट दिइरहेकामा इयू बहिर्गमनले अरु झट्का दिएको विश्लेषकहरुको विचार छ । संसारको पांचौं ठूलो अर्थतन्त्र भएको बेलायतमा युरोपियन युनियन छोडेको केहि वर्षमा स्थिरता आउने ठानिएपनि यस बीचमा भने निक्कै हलचल हुने प्रमाण देखिइरहेका छन् ।
अर्थमन्त्रीको यस विवरणले इयू आलोचकहरुलाई धक्का पुगेको छ तर उनीहरुले यसलाई अस्थायीको संज्ञा दिएका छन् । अर्थ व्यवस्थापनका जानकार विकलचन्द्र आचार्य युरोपियन युनियनबाट आप्रवासी जनसंख्या उल्लेख्य बढिरहंदा यसबाट उम्किन जनमत संग्रहमार्फत इयू छाड्ने कुराले वास्तविकतामा कसरी असर गर्दो रहेछ भन्ने ज्वलन्त उदाहरण अहिले देखिएको बताए ।
बेलायती पहिचान र स्वाभिमानका लागि युरोपियन युनियनको सन्दर्भ नभएको र यसको बढ्दो प्रभुत्वले बेलायतको प्रभाव संसारमा कम हुने मुद्दाले पनि इयू बहिर्गमनमा बल पुगेको आचार्यको विश्वास छ ।
बेलायती अर्थमन्त्रीले प्रस्तुत गरेका खर्च विवरणमा अघिल्ला अर्थमन्त्री जर्ज अस्बोर्नले गरेको सन् २०२० सम्म बजेट नाफा हुने नीति त्यागिएको छ । यसको बदला सडक, रेल, उत्पादकत्व वृद्धि आदिमा लगानी गर्ने घोषणा उनको छ । यसरी ऋणमा भारी वृद्धि र आर्थिक वृद्धि कम हुने अनुमानले आर्थिक लचकता हुन अर्थमन्त्रीलाई असहज परेको छ ।
इन्धन कर उस्तै, घर भाडामा लिंदा तिर्नुपर्ने शुल्क हटाइएको र वार्षिक कमाइ ११ हजार ५०० पाउन्ड भन्दा कम भए कर नलाग्ने पनि यस वर्षको सरकारी खर्च विवरणमा उल्लेख छ ।
न्यूनतम तलब ७.५० पाउण्ड प्रति घन्टा हुने, बीमा प्रिमियम १० बाट १२ प्रतिशत बढ्ने, राष्ट्रिय बीमा योगदान १५७ पाउन्ड हप्ताको कमाइको तिर्नुपर्ने प्रावधान बनाइएको छ । यस वर्षको सरकारी खर्च कुल गार्हस्थ उत्पादनको ४० प्रतिशत हुनेछ जुन सन् २०१० मा ४५ प्रतिशत थियो ।
बेलायती अर्थमन्त्रीले पूर्ण बजेट मार्च महिना तथा यसअघि कुल खर्चको विवरण (अटम स्टेटमेन्ट) नोभेम्बरमा संसदमा प्रस्तुत गर्ने चलन छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित