
लन्डन । नेपालमा महिला बेचबिखन विरुद्ध लामो समयदेखि कार्यरत मानव अधिकारकर्मी अनुराधा कोइरालाले गत वर्षको विध्वंशकारी भूकम्पपछि नेपालबाट भारतमा चेलीबेटी लगेर यौन व्यवसायमा लगाउने प्रचलन बढेको बताएकी छिन् ।
गत शुक्रबार लण्डनमा आयोजित एक च्यारिटी कार्यक्रमलाई संबोधन गर्दै माइती नेपालकी संस्थापक श्रीमती कोइरालाले हरेक दिन खुला सीमा हुँदै किशोरीहरुलाई भारत लगी जबर्जस्ती यौन व्यवसायमा लगाइने काम भइरहेको बताइन् । उनले नेपाल भारत सीमा नाकाहरुमा पाँचपाँच जना स्वयम्सेवी किशोरीहरुले प्रहरीको सहयोगमा ललाईफकाइ लगिन लागेका सैयौं बालिका र युवतीहरुलाई उद्धार गर्न सफल भएको समेत जनाइन् ।
प्राकृतिक प्रकोप पछिको अवस्थामा जहाँ पनि महिला तथा बालबालिका बढी जोखिममा हुने बताउँदै उनले अहिले नेपालबाट वैदेशिक रोजगारीको नाममा इरान, इराक, लेबनान र अफ्रिकी मुलुकहरुमा पनि नेपाली युवतीहरुलाई लग्ने काम भइरहेको बताइन् । उनले मानव बेचबिखन जस्तो घृणित कार्य रोक्न सबैको सहयोगकालागि अपील पनि गरिन् ।
माइती नेपालको सहयोगार्थ आयोजित उक्त कार्यक्रममा साउथहलस्थित फुटबल फर युनिटीका सहसंस्थापक तथा साउथहल फुटबल क्लबका अध्यक्ष चरणजीत गिलले आफूले केही अघि नेपालको भ्रमण गर्दा माइती नेपाल पुग्ने अवसर पाएको र त्यहाँ एचआइभी संक्रमित लगायत भारतबाट फर्काइएका बालिका तथा किशोरीहरुलाई भेटेपछि यस्तो च्यारिटी कार्यक्रम गर्ने प्रेरणा पाएको बताए । साउथहल फुटबल क्लबका प्रबन्ध निर्देशक राजीव शर्माले नेपालमा चेलीबेटी बेचबिखन विरुद्ध सामाजिक जागरण र न्यायिक लडाईं लडन अनुराधा कोइरालाले चलाइरहेको अभियान प्रशंसनीय रहेको बताए। माइती नेपालसंग सहकार्य गर्न पाउनु आफ्नो लागि खुसीको कुरा भएको पनि उनले जनाए ।
सो अवसरमा व्यारोनेस अफ लिस्टर सन्दिप वर्माले जहाँ भएपनि मानव जीवनको उच्च सम्मान हुनुपर्ने बताउंदै दासता विरुद्धका अभियान प्रधानमन्त्री टेरेसा मेकालागि एउटा प्राथमिकताको विषय भएको बताए । उनले अनुराधा कोइराला जस्ता व्यक्तित्वहरु नभएको भए समाजमा अन्याय र असमानता कायमै रहने पनि बताए ।
लेबर पार्टीका सांसद वीरेन्द्र शर्मा लगायत थुप्रै भारतीय व्यवसायी र नेपाली प्रतिनिधिहरु सोलिसिटर राजु थापा, नेपाल पर्यटन बोर्डका यूके प्रतिनिधि पशुपति भण्डारी, नेपलिज वुमन असोसिएसन यूकेकी अध्यक्ष आरती श्रेष्ठ, हरि केसी लगायतउपस्थित सो कार्यक्रममा माइती नेपालको सहयोगार्थ विभिन्न वस्तुहरुको लिलाम बढाबढ पनि गरिएको थियो ।
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह