
नारायणढ मुग्लिन सडक खण्डको आज अवलोकन गर्नुहुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक । तस्बिर ः नारायण अधिकारी, चितवन, रासस
चितवन, १० असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले नारायणगढ–मुग्लिन सडकखण्डको आज निरीक्षण गरी चाडपर्व नजिकिएकाले यात्रुलाई सहज हुने गरी आवागमन सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।
बाटो चौडा गर्ने क्रममा घन्टौँसम्म जाममा बस्न बाध्य भएको जनगुनासो बढिरहेका बेला मन्त्री लेखकले चाडपर्वभरि आवागमनमा बाधा नपुग्ने गरी काम गर्न निर्देशन दिनुभएको हो । उहाँले दोहोरो सवारी आवागमन नरोकी अन्य काम गर्नुपर्ने बताउनुभयो । ठेकेदार कम्पनीले काममा ढिलासुस्ती गरे कारबाही गरिने बताउँदै उहाँले आयोजनामा खटिएका कर्मचारीलाई जिम्मेवार बनेर तोकिएको समयमा काम सम्पन्न गर्न निर्देशन दिनुभयो ।
प्रजिअ विनोदप्रकाश सिंहको रोहबरमा सडक निर्माणस्थलमै आयोजनाका प्रमुख र इन्जिनियरलाई समेत राखेर मन्त्री लेखकले काममा ढिलासुस्ती गरे कारबाही गरिने चेतावनी दिनुभयो । कामको गुणस्तर अनुगमन गर्न पनि उहाँको निर्देशन थियो । “कमजोर काम गरेर कसैले ठग्न नपाओस्, कर्मचारीले इमान्दारीपूर्वक काम गर्नुपर्छ”–मन्त्री लेखकले भन्नुभयो ।
आयोजनाले आजदेखि नै चाडपर्वभरि बाटो नरोकी काम गर्ने जनाएको छ । हालसम्म ठाउँ ठाउँमा समय समयमा सडक रोकेर चौडा गर्नुपर्दा यातायात अवरुद्ध भई सडक पार गर्न यात्रुलाई घन्टौँ लाग्ने गरेको छ । आयोजनाले सडकमा भएका खाल्डाखुल्डी पुर्ने र सम्याउने काम गर्न लगाएको छ जसका कारण सवारी गति बढ्न थालेको छ ।
आयोजनाका इन्जिनियर शिव खनालका अनुसार दसैँमा सो सडक हुँदै यात्रा गर्नै यात्रु सवारी जाममा नपरुन् भन्नाका लागि उच्च सतर्कता अपनाइएको छ । कहीँकतै पहिरो खसे तत्काल पन्छाउने व्यवस्था गरिने तथा सडकमा खाल्डाखुल्डी सम्याउने र धुलो कम गर्न पानी छर्कने काम समेत हुने उहाँले बताउनुभयो ।
ठेक्का दिँदा विसं २०७४ वैशाखमा काम सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि भूकम्प र नाकाबन्दीका कारण लक्ष्यअनुरुप काम हुन नसकेपछि चार महिना १५ दिन थप गरी २०७४ भदौमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता बढाइएको छ । विसं २०७२ वैशाखदेखि सडक चौडा पार्ने काम थालिएको हो ।
भरतपुरको आँपटारीदेखि मुग्लिनसम्म सडक फराकिलो बनाउने काम भइरहेको छ । सडकको १६ किलोदेखि मुग्लिनसम्म नौ मि र १६ किलोदेखि आँपटारीसम्म ११ मि फराकिलो सडक निर्माण गरिँदै छ । विश्व बैंकको दुई अर्ब ९० करोडको आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो । ‘एसियाली राजमार्ग’अन्तर्गतको ‘ए एच ४ टु’ खण्डअन्तर्गत नारायणगढ–मुग्लिन सडक खण्ड पर्छ । इन्जिनियर खनालका अनुसार चीन हुँदै नेपालका कोदारी, काठमाडौँ, नागढुङ्गा नौबिसे, मुग्लिन, नारायणगढ, हेटौँडा र वीरगन्जबाट भारतको मुजफ्फरपुर हुँदै जाने यो सडक एसियाली राजमार्गको एक खण्ड हो ।
आँपटारीदेखि दासढुङ्गासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कं, त्यसपछिको सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कं र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कंलाई ठेक्का दिइएको छ । राजधानीबाट तराईका जिल्ला बाहिरिने र भित्रिने मुख्य सडक भएकाले यो सडक व्यस्त रहन्छ । सो सडक हुँदै दैनिक आठ, नौ हजार सवारीसाधन आवातजावत गर्छन् ।
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
‘द ब्लू लाइट’ केवल हेर्ने फिल्म मात्र होइन, यो अनुभूत गर्ने सिनेमा हो : निर्देशक बलिराम चौहान [अन्तर्वार्ता]
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख