काठमाडौँ, ८ साउन । विश्वका ७३ मुलुकका नागरिकले नेपालको हिमालको आरोहण गर्ने गरेको पाइएको छ । सरकारले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालसहितका आरोहीले नेपालको प्राकृतिक सौन्दर्यको रसपान गरेको मात्रै नभई हिमाली श्रृङ्खलाको आरोहण गरेका छन् ।
हिमाल आरोहणका लागि स्वीकृति लिनेमा भने नेपाली नागरिक नै उल्लेख्य सङ्ख्यामा रहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशित गरेको ‘नेपालको पर्यटन तथ्याङ्क २०१५’ मा नेपालका एक हजार २७४ जनाले हिमाल आरोहणको अनुमतिपत्र लिएको देखिन्छ ।
यस्तै संयुक्त राज्य अमेरिका २६०, स्वीजरल्याण्ड १४८, बेलायत २२९ जापान १६९, स्पेनका १४४, इटाली ८६, नर्वे ५३, दक्षिण कोरिया ४२ पोल्याण्ड ४३, रसियाका ३३ जना रहेका छन् । सर्विया, काजस्तान, केन्या, मौरिसस कुवेत, केर्ज रिपब्लिकका भने एक÷एक जनाले मात्रै त्यस्तो अनुमतिपत्र लिएका थिए । नेपालको हिमाल र पर्यटन क्षेत्रको व्यापक प्रचारप्रसार गर्ने हो भने संसारका अन्य मुलुकका हजारौँ पर्यटक नेपाल भित्रयाउन सकिने पनि सो तथ्याङ्कले निर्दिष्ट गरेको छ ।
हिमाल आरोहणको अनुमति लिनेमा दक्षिण अमेरिकी राष्ट्र पेरुका पाँच जना छन् भने मलेसियाका १२ जना रहेको छन् । कुल तीन हजार ९९१ जना स्वदेशी तथा विदेशी नागरिकले अनुमतिपत्र लिएको भए पनि ‘गोरखा भूकम्प’ र भारतको अघोषित नाकाबन्दीलगायत कारणले भने आरोहण गर्नेको सङ्ख्या भने ८२५ जना मात्रै रहेको पाइएको छ । त्यसमा पुरुष ६८५ जना पुरुष छन् भने १४० जना महिला रहेका छन् ।
आठ हजार मि भन्दा अग्ला हिमालदेखि समान्य हिमश्रृङ्खलासम्मको आरोहणका लागि अनुमतिपत्र लिएको सो तथ्याङ्कले देखाएको छ । साना ठूला ७७ वटा हिमाल आरोहण गर्ने गरी अनुमति लिएको भए पनि प्रमुख आर्कषण भने खुम्बु हिमश्रृङ्खला, अन्नपूर्ण, धौवलागिरि, लाङ्टाङलगायत हिमाल नै प्रमुख गन्तव्यका रुपमा रहेको पाइएको छ ।
पाँच हजार मि भन्दा कम उचाइका हिमाल आरोहणका लागि अनुमित नै लिनु पर्दैन त्यसभन्दा माथिका मात्रै अनुमति लिन सकिन्छ । सरकारले हालसम्म ४०५ वटा हिमाल आरोहणको अनुमति दिएको छ । त्यसमा नेपाल पर्वतारोहण सङ्घले २७ वटा थप हिमाल आरोहणको अनुमति दिने गर्छ ।
सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाले आरोहण अनुमति लिने बढी देखिएपनि गत साल भूकम्प, नाकाबन्दीलगायत कारण आरोही कम भएको जानकारी दिँदै आरोहण अनुमतिपत्र लिने प्रक्रिया महँगो र केही प्रक्रियागत झन्झटका कारण पनि आरोही कम भएका हुन् भन्नुभयो ।
सगरमाथा आरोहणका लागि ११ हजार अमेरिकी डलर र आठ हजार मि माथिका हिमाल आरोहणका लागि प्रतिव्यक्ति एक हजार ८०० अमेरिकी डलर तिर्नुपर्छ ।
सङ्घका अध्यक्ष शेर्पा मुलुक चिनाउने र रोजगारी सिर्जना गर्ने हिमाल आरोहणलाई सरलीकृत बनाउनुपर्नेमा जोड दिनुहुन्छ । नेपाल वायु सेवा निगमलाई व्यवस्थित बनाउनुपर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता वृद्धि तथा निर्माणमा विशेष जोड दिनुपर्ने उहाँको भनाइ छ ।
पर्यटन विभागका विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार वसन्त ऋतुमा ९८ आरोहण दलका एक हजार ३७५ जनाले हिमाल आरोहण अनुमति लिएका थिए । यसमध्ये ७४९ विदेशी र ६२६ नेपाली छन् । यीमध्ये ६१८ जनाले आरोहण गरेका छन् । यो मौसममा ३०७ नेपाली र ३०७ विदेशीले सगरमाथासहितका २३ वटा हिमाल आरोहण गरेका छन् । जसमा नेपालसहित ४० वटा देशका ५५ जना महिला र ५५९ पुरुष छन् ।
विभागका अनुसार नेपालमा पाँच हजारभन्दा बढी अग्ला आठ हजार ८४८ मिटरसम्मका कम्तीमा एक हजार ३१० वटा हिमचुचुराको पहिचान भएको छ । हालसम्म २२९ वटा हिमालमा मानव पाइला पुगिसकेका छन् । एक सय ८५ वटा हिमालमा अझै मानव पाइला पुगेको छैन ।
जेट एयरबाट सबैभन्दा बढी पर्यटक भित्रिए
पर्यटन मन्त्रालयकाअनुसार जेट एयरले सबैभन्दा बढी पर्यटक मुलुक भित्र्याएको छ । सन् २०१४ र २०१५ मा सोही विमान कम्पनीले बढी पर्यटक भित्र्याएको देखिन्छ । यस्तै दोस्रोमा एयर अरेबिया, तेस्रोमा नेपाल वायु सेवा निमग, चौँथोमा फ्लाई दुबई र पाँचौँमा इन्डियन एयरलाइन्स रहेका छन् । निगमले पछिल्लो दिनमा अन्तर्राष्ट्रिय उडनाका लागि थप दुई विमान ल्याएपछि नेपाली ध्वजावहाकले पनि उल्लेख्य सङ्ख्यामा पर्यटक भित्रयाउन सुरु गरेको छ ।
गोरखा भूकम्प र नाकाबन्दीका कारण सन् २०१५ मा पर्यटक आवागमनको सङ्ख्यामा ३२ प्रतिशतले कमी आयो । कुल पाँच लाख ३८ हजार ९७० पर्यटक नेपाल भित्रिएका थिए । तर सन् २०१४ मा सात लाख ९० हजार ११८ जना पर्यटक आएका थिए । मन्त्रालयकाअनुसार पर्यटक घटेपनि आम्दानीमा भने कमी आएको देखिदैन । सन् २०१४ मा रु ४७ अर्ब १७ करोड ६९ लाख आम्दानी भएको थियो भने सन् २०१५ रु ४९ अर्ब ७८ करोड ८३ लाख आम्दानी भएको छ । सन् २०१४ मा प्रतिपर्यटक आम्दानी करिब ४८ अमेरिकी डलर रहेकामा सन् २०१५ मा ६८.५७ अमेरिकी डलर रहेको छ ।
लुम्बिनी नै पहिलो रोजाइ
मन्त्रालयकाअनुसार नेपाल आउने पर्यटकको पहिलो रोजाइ शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी नै रहेको देखिएको छ । सन् २०१५ मा एक लाख २९ हजार १८० ले लुम्बिनी घुमेका छन् भने सन् २०१४ मा एक लाख ३२ हजार ९२६ जनाले भ्रमण गरेका थिए ।
कुल नौ वटा महत्वपूर्ण पर्यटकीय क्षेत्रमध्ये पशुपतिनाथ मन्दिरको अवलोकन गर्नेमा ७८ हजार ६८० पर्यटक रहेका छन् । सन् २०१४ मा भने एक लाख ६६ हजार १७३ जनाले सो क्षेत्रको भ्रमण गरेका थिए । सन् २०१५ मा ५३ प्रतिशतले कमी आएको देखिएको छ ।
राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा तीन लाख ८४ हजार ३२१, मनासलु पदयात्रामा दुई हजार १३४, मुस्ताङ दुई हजार ६७३, हुम्ला एक हजार ३४६, तल्लो डोल्पा ७८८, माथिल्लो डोल्पा ३२८ , कञ्चनजङ्गा क्षेत्रमा ७३१ जनाले सन् २०१५मा भ्रमण गरेका छन् ।
पूर्वाधार विकासमा जोड
व्यवसायी एवम् नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले भौतिक पूर्वाधारको विकास र हवाई सञ्जालको विस्तार गर्न सकिए नेपालमा सहज रुपमा पर्यटक भित्र्याउन सकिने बताउनुहुन्छ । अर्का पर्यटनविद् प्रचण्डमान श्रेष्ठ पर्यटकको सङ्ख्या बढाउने भन्दा पनि क्षमता वृद्धिमा जोड दिनुपर्ने बताउनुहुन्छ । “नयाँ गन्तव्यको खोजी, भौतिक पूर्वाधारमा लगानी एवम् अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गर्न सकिए नेपालको पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्न सक्छ”–श्रेष्ठले भन्नुभयो ।
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा