फागुन २ । प्रेम दिवसको अवसर पारेर नेपथ्यले उसको प्रेमगीत ‘मेरो हजुर’लाई श्रव्य दृश्यको एउटा बेग्लै प्रयोगसहित सार्वजनिक गरेको छ । ‘शब्द भिडियो’ नाम दिइएको यसमा गीतका शब्दहरु उल्लेख गर्दै सांकेतिक भाषामार्फत् दर्शकलाई बुझाइएको छ ।
नेपालय निर्माता रहेको यस भिडियोलाई शशांक श्रेष्ठ र उनको ‘कथाहरु टिम’ले तयार पारेको हो । नेपथ्यका मुख्य गायक अमृत गुरुङ यो गीतको रचनागर्भबारे यस्तो अनुभव
सुनाउंछन्–
मेरो हजुर…सगरमाथा आधार शिविरमा पदयात्राका निम्ति गएका बेला यो गीतको शब्द र संगीत सिर्जना गरेको हुं । २००५ को डिसेम्बर महिना, त्यो चिसो रात म ४ हजार ९ सय ३० मिटर उचाईंमा रहेको लोबुचेमा बास बसेको थिएं । यस्तो जाडो बेलामा यो भेगको पदयात्रा गर्ने मेरो निर्णयलाई साथीहरु सबैले ‘मुर्खता’ भनेका थिए । र, उनीहरु सत्य थिए । म भित्र बहुलठ्ठी थियो ।
तापक्रम शून्यभन्दा निकै तल ओर्लेको बेला म सुत्न सकिरहेको थिइन । त्यहांमाथि हल्का लेक लागिरहेको थियो । भएभरका सबै कपडाले आफूलाई खापें । तै पनि निदाउन सकिंन । मैले झ्यालबाट यसो बाहिर चिहाएं, त्यो दृश्य देखेर एकछिन त चकित खाएं । पूर्णिमाको रात, चकमन्न आकाशमा जून टलक्क टल्किएको थियो । मेरो वरिपरी घेराहालेर बसेका हिमालहरुले जादूगरी चमत्कार जस्तो दृश्य बोकेर उभिएका थिए । तिनले मलाई हेरेर मुस्काइरहेका छन् जस्तो लाग्न थाल्यो । त्यो खुला आकाशमा ताराहरुको वर्षा भइरहेको जस्तो लागिरहेको थियो । अरु बेला उति पर देखिने ताराहरु त्यस रात कति नजिकबाट चम्किरहेका …
मलाइ यो दृश्य र त्यसको प्रभाव आफूभित्रै गुम्स्याउन मन लागेन । कसैलाइ सुनाउजस्तो लाग्यो । कसलाई ? मेरी प्रेयसीलाई । तर, उनी मेरो साथमा थिइनन् । केहि लेखेर राखौं भन्ने सोचेँ । तर, चिसोले औंला यसरी काम्दै थियो कि कलम समात्न पनि अप्ठेरो । मैले रेकर्डर झिकेर दिमागमा जे जस्ता कुराहरु आए सबै त्यसमा भर्न थालेँ ।
पछि मैले त्यो रेकर्ड गरेको कुरा बजाएर सुन्दा त गीतजस्तै पो बनेको रहेछ । त्यतिबेलै मेरो दिमागमा धुन पनि जन्मियो । तर, मसंग कुनै बाजा थिएन । मैले गुनगुनाएरै धुन पनि भर्न थालें । यसो गर्दागर्दै कुनबेला भारी आंखालाई निन्द्राले भुसुक्क पार्यो थाहै भएन । यस्तो लाग्यो, मैले आंखा चिम्लें र विहान भइदियो ।
उठेपछि राती गरेका रेकर्डहरुलाई फेरि एकपटक बजाएर सुनें । शब्द र धुन सुनेपछि मुस्कान छुट्यो । यसअघि पछिल्लो पटक मैले कहिले प्रेमगीतका शब्दहरु लेखेको थिएं वा त्यस्ता भाकामा संगीत हालेको थिएं भनेर सम्झने कोशिस गरें । अलि लामै भइसकेको रहेछ ।
यो गीत, यो धुन र प्रेयसीका यादहरु मनमा खेलाउंदै म गोरक्क्षेपतर्फ लागें । म अझैं पनि आधार शिविरभन्दा एक स्टप अगाडि नै थिएं ।
मेरो हजुर
मेरो हजुर
यो माया तिमीलाई नै हो
सम्हाली राख,
जोगाएर राख
सुनसान रात कहां हो कता
तारा गन्दै तिमीलाई खोजी बसें
बाहिर हिमाल हांसिरहेथ्यो
जून लजाउँदैथ्यो
त्यति नै बेला
सिरानी पल्टाएथें
हजुरलाई सम्झेर
मै जसरी ब्यूंझयौ कि तिमी पनि
मेरो हजुर
म त पागल प्रेमी बेहोसी हुं
सम्हाल मलाई नत्र म बहुलाउनेछु
फर्केर आएपछि यो गीत र धुन मैले मेरो ब्याण्डका साथीहरुलाई सुनाएं । सबैले यसलाइ मनपराए । त्यसरी हामी सबैले यसको एरेन्जमेन्ट पनि मिलायौं र रेकर्ड गरयौं । हाम्रो अल्बम ‘ऐनाझ्याल’मा यो गीत समेटिएको थियो ।
आज अचानक नेपालयका किरणले मलाई फोन गरेर यो भिडियो एकपटक हेर्न सुझाव दिए । मैले मेरी प्रेयसीलाइ सम्झेर तयार पारेको यो गीत मलाई प्रणय दिवसका दिन उपहार दिएका रहेछन् ।
यो वास्तवमै आश्चर्यमा पार्ने खबर थियो र सांच्चै नै गजबको ‘भ्यालेन्टाइन डे गिफ्ट’ पनि । किरणले त मलाई एउटा सामान्य किसिमको शब्द भिडियो बन्दैछ भनेर सुनाएका थिए । तर, कुरो यस्तो पो रहेछ । शशांक र उनको समूहले गरेको मेहनतले यस गीतमा झनै पाइन थपिदिएको छ ।
म यो भिडियो मेरा तमाम शुभचिन्तक र मेरा गीतहरुसंग मायाप्रिती गांसेकालाई उपहार दिन चाहन्छु ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने