बागलुङ, २४ पुस । पश्चिमाञ्चलका सात जिल्लामा २३ वटा लघुजलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् ।
उज्यालोयुक्त जिल्लाको लक्ष्य लिएका बागलुङ, म्याग्दी, पर्वत, मुस्ताङ, कास्की, गुल्मी र पाल्पामा ती आयोजना बन्न लागेका हुन् । दुईवर्षभित्र निर्माण पूरा गर्ने लक्ष्यका साथ काम अघि बढेको राष्ट्रिय नवीकरणीय ऊर्जा कार्यक्रमको क्षेत्रीय सेवा केन्द्रले जनाएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा सम्बन्धित जिविस, गाविस, साझेदार सङ्घसंस्था र स्थानीयको समेत लगानी र श्रमदानमा आयोजना बनिरहेका छन् ।
केही आयोजना भर्खर विस्तृत अध्ययनपछि अनुदानको प्रक्रियामा रहे पनि अधिकांशको काम यसअघि नै सुरु भइसकेको छ । करोडौँ लागतमा बन्ने ती आयोजनाबाट कुल १४५८ दशमलव ०४ किलोवाट विद्युत् उत्पादन हुने क्षेत्रीय सेवा केन्द्र धवलागिरि सामुदायिक स्रोत विकास केन्द्र (डिसिआरडिसी)ले जनाएको छ । विद्युत् उत्पादन भए सात जिल्लाका नौ हजार ९० घरधुरी लाभान्वित हुनेछन् ।
सम्झौताअनुसार आगामी दुई वर्षभित्र सबै आयोजना निर्माण भइसक्ने केन्द्रमा रहेको सामुदायिक विद्युतीकरण शाखाका संयोजक कृष्ण उपाध्यायले जानकारी दिनुभयो । निर्माणको चरणमा रहेकामध्ये बागलुङमा ६० किलोवाटको ढोरपाटन भुजीखोला, १४ किलोवाटको फेदीखोला, ३८० किलोवाटको ताराखोला, ३३ किलोवाटको नेपाने देउराली, १०० किलोवाटको भालीबाङ, ६९ किलोवाटको भीमघाट खोला चौथो, ३६० किलोवाटको तमानखोला, ४० किलोवाटको दरमखोला, ११ दशमलव ८ किलोवाटको उपल्लो पालुङखोला र ३० किलोवाटको तल्लो ग्रिङ्दीखोला आयोजना रहेको छ ।
त्यस्तै, म्याग्दीमा २० किलोवाटको मजुवा कुइनेखानी, ४२ किलोवाटको नन्दीवाङखोला, ११ किलोवाटको रातोखोला, ३० किलोवाटको धोस्तेखोर खोला र ३० किलोवाटको दिप्लीखोला आयोजना निर्माणाधीन अवस्थामा रहेको छ । पर्वतमा १८ किलोवाटको लुन्दीखोला, कास्कीमा ६३ किलोवाटको मोदीखोला, गुल्मीमा १४ किलोवाटको निस्तीखोला पहिलो र १० दसमलव ०३ किलोवाटको निस्तीखोला दोस्रो, पाल्पामा ५४ दसमलव ०३ किलोवाटको ढुङ्ग्रेखोला, २६ किलोवाटको बउदीखोला र १२ किलोवाटको कुँडेर खोला आयोजना निर्माणको चरणमा छ ।
मुस्ताङमा ६० किलोवाट क्षमताको छोसेरखोला आयोजना बन्न लागेको जनाइएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रमअन्तर्गत यी आयोजना बन्न लागेका हुन् । यो वर्ष २१२ दशमलव ०२ किलोवाट विद्युत् उत्पादनको लक्ष्य लिइएको केन्द्रका इन्जिनियर दिनेश कार्कीले बताउनुभयो । म्याग्दीमा छेरवाङखोला आयोजनाबाट ११ दशमलव ०५ किलोवाट विद्युत् उत्पादन भइसकेको छ ।
“गत वर्ष छ आयोजना पूरा भई सञ्चालनमा आएका छन्, यो वर्षको लक्ष्य पनि हामी पूरा गर्छौं,” कार्कीले भन्नुभयो – “आगामी दुई वर्षभित्र निर्माण पूरा गर्ने गरी २३ नयाँ आयोजना निर्माणको चरणमा छन् ।” विद्युत्भार कटौती गर्ने सरकारी लक्ष्य पूरा गर्न लघुजलविद्युत् आयोजनाले टेवा पुरयाउने उहाँको भनाइ छ ।
निर्माणाधीन आयोजनाको काम समयमै पूरा गर्न नियमित कार्य मूल्याङ्कन, निरीक्षण तथा अनुगमन भइरहेको क्षेत्रीय सेवा केन्द्र (डिसिआरडिसी) का अध्यक्ष ईश्वरलाल राजभण्डारीले बताउनुभयो । क्षेत्रीय सेवा केन्द्रका रुपमा (डिसिआरडिसी)ले प्राविधिक सहयोग तथा सामाजिक परिचालनको काम गर्दै आएको छ । केन्द्रले लघुजलविद्युत् आयोजना क्षेत्रमा उत्पादनमूलक ऊर्जा प्रयोग कार्यक्रम पनि सञ्चालन गरिरहेको राजभण्डारीको भनाइ छ । केन्द्रले हालसम्म आफ्नो सेवा क्षेत्रमा ८५ वटा लघुजलविद्युत् आयोजना निर्माण गरिसकेको छ ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन