काठमाडौँ, २३ पुस । तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका मागबारे छलफल गर्न गठित प्रमुख तीन दल र मोर्चाको कार्यदलबीच आज सिंहदरबारमा बुँदागत छलफल सुरु भएको छ ।
दुवै कार्यदलका बीचमा मोर्चाका ११ बुँदे मागबारे बुँदागत छलफल सुरु भएको कार्यदलमा नेपाली काँग्रेसका तर्फबाट सदस्य रहेका महेश आचार्यले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए । उनले भने– “वार्ता सकारात्मक रुपमा अगाडि बढिरहेको छ । वार्ता र संवादका माध्यमबाट मोर्चाले राखेका मागका सही समाधान निस्कन्छ ।”
दुवै कार्यदलमा रहेका सदस्यले आजको बैठकमा भएका प्रगति र उपलब्धिबारे आफ्ना पार्टीका शीर्ष नेतृत्वलाई जानकारी गराई आजै बस्ने अर्काे बैठकमा थप कुरा गर्ने सहमति भएको छ । कार्यदलका सदस्य आचार्यले बैठक सकारात्मक रुपमा निष्कर्ष उन्मुख भएको जानकारी दिँदै मागहरुमध्ये प्रदेशको सीमाङ्कनको विषयलाई राजनीतिक समिति बनाई समाधान खोज्नेतर्फ संवाद भइरहेको बताए ।
तर, बैठकमा सहभागी तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष एवम् कार्यदलका सदस्य हृदयेश त्रिपाठीले राजनीतिक समितिको कार्यादेश के हुने ? उसको विश्वसनीयता र वैधानिकता के रहने ? भन्ने प्रश्न गरे ।
उनले बैठकमा मोर्चाले राखेका मागमाथि बुँदागत छलफल सुरु भएको जानकारी दिँदै अझ पनि माग सम्बोधनका लागि सरकारी तयारी सकारात्मक नदेखिएको टिप्पणी गरे ।
बैठकमा मोर्चाका तर्फबाट ११ बुँदे मागबारे कार्यदलले एकसरो कुरा राखेको पनि उपाध्यक्ष त्रिपाठीले बताए ।
बैठकमा प्रमुख तीन दलका तर्फबाट नेकपा (एमाले)का उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री भीम रावल, एकीकृत नेकपा (माओवादी) महासचिव कृष्णबहादुर महरा र नेपाली काँग्रेसका नेता आचार्य थिए ।
यस्तै मोर्चाका तर्फबाट कार्यदलमा रहनुभएका तमलोपाका उपाध्यक्ष त्रिपाठी, सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय सहभागी थिए ।
सङ्घीय समाजवादीका उपाध्यक्ष श्रेष्ठले दुवै कार्यदलका बीचमा छलफल अगाडि बढिरहेको बताए । सो कार्यदलको पहिलो बैठक बुधबार बसेको थियो । मोर्चाले आन्दोलन थालेको चार महिना पुग्न लागेको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त