
काठमाडौँ । दोस्रो संविधानसभाको निर्वाचनदेखि हालसम्म सरकारले विभिन्न व्यक्ति र संस्थालाई आर्थिक सहायताका नाममा दुई अर्ब ८४ करोड ७० लाख ७३ हजार रूपियाँभन्दा बढी रकम वितरण गरेको छ ।
सरकारी ढुकुटीबाट वितरण गरिएको सो रकममध्ये केही निर्देशिका तथा कार्यविधि बिना नै वितरण गरेको देखिएको र केही रकम मन्त्रिपरिषद्ले असिमित रुपमा वितरण गरेको भन्दै व्यवस्थापिका–संसदको अर्थ समितिले छानबिन गर्ने भएको छ ।
सरकारले वितरण गरेको आर्थिक सहायता सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव प्रेमकुमार राईले विगतदेखि नै सरकारले यसरी नै विपन्न वर्ग र राष्ट्रिय जीवनमा योगदान पुर्याएका व्यक्तिलाई औषधि उपचार तथा आर्थिक सहयोग वितरण गर्दै आएको जानकारी दिनुभयो । विभिन्न मन्त्रालयबाट समेत विभिन्न शीर्षकमा आर्थिक सहायताका लागि सिफारिस आउने गरेको छ ।
केही पहुँचवाला र सम्पन्न व्यक्तिले तथा कतिपय एउटै व्यक्तिले पटकपटक आर्थिक सहायता लिने गरेको बताउँदै सचिव राईले भन्नुभयो, “काठमाडौँमा घर भएका र करोडाैंको सम्पत्ति भएकाले समेत आर्थिक सहायता लिन्छन्, केही सङ्घ संस्थाले वार्षिकोत्सव तथा महोत्सव गर्नसमेत आर्थिक सहायता लिने गरेका छन् ।” यसमा भएका विकृति सच्याई राष्ट्रिय ढुकुटीमाथिको खेलवाड र लुटपाट बन्द गर्नुपर्ने उहाँको धारणा थियो ।
सरकारले आर्थिक वर्ष २०७२/०७३ का लागि आर्थिक सहायता शीर्षकमा २० करोड रूपियाँ छुट्याएको छ । आर्थिक वर्षको पाँच महिनाभित्र १९ करोड रूपियाँ वितरण गरिसकेको अर्थ मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले बताउनुभयो । “विपन्न वर्गलाई औषधोपचार सहयोगका लागि छुट्याइएको रकम पार्टीका नेता र नामै नसुनेका व्यक्तिले राष्ट्रिय जीवनमा योगदान पुर्याएको भन्दै लिने गरेका छन्”, उहाँले भन्नुभयो ।
आर्थिक सहायतामा मन्त्रिपरिषद्ले निर्णय गरेपछि मन्त्रालयले केही नभनी रकम निकासा दिनुपर्ने बाध्यता रहेको उहाँको धारणा थियो । आर्थिक सहायताका आउने सिफारिसमध्ये केही व्यक्तिले पेश गर्ने कागजात अनियमित देखिने गरेको छ ।
सरकारले यसरी मनलाग्दो रुपमा आर्थिक सहायता वितरण गरेको गुनासो आएपछि अर्थ समितिले गत असोज २४ गते तत्काललाई कुनै पनि आर्थिक सहायता वितरण नगर्न र गरिएका निर्णयको हकमा पनि रकम निकासा नगर्न निर्देशन दिएको थियो । समितिको निर्देशनपछि निर्णय भइसकेको यस आर्थिक वर्षको ६ करोड रूपियाँभन्दा बढी रकम अर्थ मन्त्रालयले निकासा रोक्का गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठका अनुसार मन्त्रालयले कडा रोग लागेका व्यक्तिको उपचारका लागि गत आवमा ७७ करोड रूपियाँभन्दा बढी रकम सो सम्बन्धी निर्देशिकाअनुसार वितरण गरेको थियो । मुलुकमा नसर्ने रोगीको सङ्ख्या बढ्दै गएकाले यस आवमा यो रकम अझ बढ्नसक्ने उहाँको अनुमान छ ।
यस बाहेक सरकारी ढुकुटीबाट राष्ट्रिय जीवनमा ख्याति प्राप्त व्यक्तिका नाममा खुलेका र सामुदायिक अस्पतालले समेत करोडौँ आर्थिक सहयोग लिने गरेका छन् । त्यस्ता अस्पताललाई गतवर्ष ४०/५० करोड रूपियाँ आर्थिक सहयोग वितरण गरिएको सचिव श्रेष्ठले बताउनुभयो ।
समितिको आजको बैठकले हाललाई द्वन्द्वपीडित तथा विपन्न वर्गलाई अत्यावश्यक उपचारका लागि निर्णय भइसकेको रकम बिल र भर्पाइअनुसार मात्र वितरण गर्न दिने निर्णय गरेको सभापति प्रकाश ज्वालाले बताउनुभयो ।
सभापति ज्वालाले आगामी दिनमा कार्यविधि बिना सरकारी रकम वितरण गर्न नहुने भन्दै वास्तविक व्यक्तिले सहज रुपमा आर्थिक सहयोग पाउने गरी निर्देशिका संशोधन गर्न सरकारलाई निर्देशन दिनुभयो ।
उहाँले सहायता वितरणमा देखिएका गुनासाको बारेमा उपसमिति बनाइ त्यसबारेमा छानबिन गरिने बताउनुभयो ।
बैठकमा सांसद गौरा प्रसाइँले मन्त्रिपरिषद्ले मनपरी रुपमा आर्थिक सहायता वितरण गर्न नहुने बताउनुभयो । सांसद केशव वडालले भने राष्ट्रिय जीवनमा योगदान पुर्याएका विशिष्ट व्यक्तिको जीवन रक्षाका लागि सरकारले उपचार खर्च दिन पाउनुपर्ने बताउनुभयो ।
सांसदहरुले सरकारले विपन्न वर्गलाई भनेर दिने गरेको आर्थिक सहायता विपन्नका लागि नभई सम्पन्न र पहुँचवालाका लागि मात्र भएको भनी आक्रोश पोखेका थिए ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?