काठमाडौँ, ६ भदौ । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई गोली हानी हत्या गर्ने सञ्जय स्माइली मगरलाई केन्द्रीय अनुसन्धान व्यूरोले आज सार्वजनिक गरेको छ ।
केन्द्रीय अनुसन्धान व्यूरोले आज यहाँ पत्रकार सम्मेलन गर्दै विसं २०६९ जेठ १८ गते ललितपुर युएन पार्कनजिक न्यायाधीश बमलाई गोलीहानी हत्या गर्ने रामेछाप खनियाँपानी–७ का २८ वर्षीय स्माइली मगर रोजगारीका लागि २०७१ मङ्सिर २८ मा साउदी अरब पुगेकामा इन्टरपोलको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याइएको हो ।
चुरे भावर राष्ट्रिय पार्टीका केशव मैनाली र बाबु थापा भन्ने मेघबहादुर थापाबीचको मुद्दामा पार्टीका तत्कालीन उपाध्यक्ष थापाले आफ्नो पक्षमा फैसला नआएको भन्दै न्यायाधीश बमको हत्या गर्न मगरको सहयोग लिएको आरोपमा अभियुक्त मगरलाई पक्राउ गरिएको व्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक हेमन्त मल्लले जानकारी दिए ।
स्माइली मगर पैसाका लागि नभई राजनीतिक लाभका लागि हत्यामा सङ्लग्न भएको अनुसन्धानबाट खुलेको व्यूरो प्रमुख मल्लले बताउनुभयो । मल्लले भने, “हत्यामा सङ्लग्न बाबु थापासहित अन्य चार जनालाई गत पुसमा नै पक्राउ गरिएको थियो, तर स्माइली सवारी चालक भिसामा काम गर्न साउदी अरब पुगेका थिए ।”
पुसमा पक्राउ पर्नेमा बाबु थापा, शिव भन्ने करन चौधरी, ‘नवीन’ भन्ने प्रेमराज खड्का र दीपक कर्ण रहेका थिए । बाबु थापासहितको समूह पक्राउ गरेपछि इन्टरपोलमार्फत सूचना जारी गरेर स्माइलीलाई पक्राउ गरिएको हो । साउदी अरबमा पक्राउपछि नेपाल ल्याउन अदालतको आदेश चाहिने भएकाले समय लागेको व्यूरोले जनाएको छ ।
यसैबीच, व्यूरोले नेपाली युवतीलाई रोजगार लगाइदिन्छु भनी मानवबेचबिखन गर्ने गिरोहलाई पक्राउ गरेको छ । भारतको नयाँदिल्ली हुँदै दुवई, कुवेत र इराकलगायतका देशमा पठाउन लागिएका २७ युवतीलाई उद्वार गरिएको व्यूरोले जनाएको छ । उद्धारपछि युवतीलाई सोधपुछ गर्ने क्रममा ‘सुशील’ भन्ने सुजिल राई र राजुबाबु श्रेष्ठलाई पक्राउ गरिएको छ । भारतमा ‘दयाराम पण्डित’ भन्ने ईश्वर न्यौपाने र विष्णु तामाङलाई पनि पक्राउ गरिएकोे छ ।
व्यूरोले २०७१ को वार्षिक प्रगतिसमेत सार्वजनिक गरेको छ जसमा अपहरण, ठगीलगायत जघन्य अपराधमा १८ जनालाई मुद्दा चलाइएको तथा ३९ जनालाई पक्राउ गरेको जनाएको छ । आर्थिक अपराधमा २८ जनालाई मुद्दा चलाइएको तथा ५६ जनालाई पक्राउ गरेको छ ।
मानव बेचबिखन तथा ओसारपसारमा १९ मुद्दा परेका छन् भने ५८ जनालाई पक्राउ गरिएको व्यूरोले जनाएको छ । वन्यजन्तु तथा वातावरण अपराधमा ८५ जनालाई पक्राउ गरिएको तथा ३७ जनालाई कारबाही गरिएको छ । विद्युतीय अपराध अनुसन्धानमा १२ जनालाई पक्राउ गरिएको तथा ६० जनालाई मुद्दा चलाएको व्यूरोले जनाएको छ ।
नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा