
कुम्ब्रान । वेल्सका नेपाली युवाबीच खेलकुदमार्फत एकता र सहकार्य बढाउने उद्देश्यले कुम्ब्रानमा आयोजित मैत्रीपूर्ण फुटबलमा कार्डिफ नेपाली फुटबल टिम र कुम्ब्रान नेपाली फुटबल टिमबीचको प्रतिस्पर्धा १–१ को बराबरीमा टुंगिएको छ ।
खेल कुम्ब्रानस्थित लान्टार्नाम कम्युनिटी प्राइमरी स्कूलको नाइन‑ए‑साइड फुटबल मैदानमा साँझ सात बजे सुरु भएको थियो, जहाँ दुवै टिमले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै बराबरीको खेल प्रस्तुत गरे । खेलको ५५औँ मिनेटमा कुम्ब्रानले अग्रता लिएको थियो भने ८०औँ मिनेटमा कार्डिफले बराबरी गोल गर्दै खेललाई १–१ मा टुंग्यायो । गत वर्षदेखि सुरु भएको मैत्रीपूर्ण फुटबल प्रतिस्पर्धालाई यस वर्ष पनि निरन्तरता दिइएको आयोजकले जनाएका छन्।

खेलमा कार्डिफ र कुम्ब्रान दुवै क्षेत्रका दर्शकहरूको उपस्थिति रह्यो, र उनीहरूले खेलभरि दुवै टिमलाई उत्साहपूर्वक हौसला प्रदान गरेका थिए । युवाहरूको उत्साह र हौसला बढाउन दुवै टिमलाई डा. विकास रानाभाट तथा उनकी श्रीमती रेश्मा कुँवर रानाभाटको तर्फबाट व्यक्तिगत रूपमा नगद पुरस्कार प्रदान गर्दै खेलाडीहरूको सहभागिता र खेलभावनालाई सम्मानित गरियो ।
गैर आवासीय नेपाली संघ बेलायत, राज्य समन्वय परिषद् वेल्सका अध्यक्षसमेत रहेका डा. रानाभाटले भन्नुभयो, ‘आज युवाहरू जसरी एक ठाउँमा भेला भएर खेलकुदमार्फत एकता देखाए, यसले स्थानीय नेपाली संस्थाहरूलाई युवाहरू के चाहन्छन् भन्ने स्पष्ट सन्देश दिएको छ र सहकार्यबाट कति ठूलो उपलब्धि सम्भव छ भन्ने कुरा प्रमाणित भएको छ ।’ उहाँका अनुसार, राज्य समन्वय परिषद् वेल्स आगामी वर्षहरूमा यस्ता प्रतियोगितालाई वेल्सको वार्षिक क्यालेन्डरमा नियमित कार्यक्रमका रूपमा समावेश गर्ने गृहकार्यमा रहेको छ र यसका लागि वेल्सभरिका संस्थाहरू, पेशा र व्यवसाय गरिरहेका व्यक्तिहरूसँग सहकार्यको तयारी पनि भइरहेको छ । साथै, वेल्सका अन्य क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका टिमहरूलाई समेत समेटेर प्रतियोगितालाई अझ व्यापक बनाउने लक्ष्य परिषद्को रहेको उहाँले बताउनुभयो ।
कार्डिफ टिमका कप्तान अमरध्वज मल्लले खेलपछि भन्नुभयो, ‘बराबरी भए पनि दुवै टिमले देखाएको अनुशासन, प्रतिबद्धता र ऊर्जा साँच्चिकै प्रेरणादायी छ। हाम्रो टिमले पनि राम्रो खेल प्रस्तुत गर्यो, र गत वर्षको खेलभन्दा यस वर्ष अझ सुधारिएको खेल प्रदर्शन गर्न सफल भयौँ। यस्ता मैत्रीपूर्ण प्रतिस्पर्धाहरूलाई निरन्तरता दिँदै आगामी भेटहरूमा अझ उत्कृष्ट खेल प्रस्तुत गर्ने लक्ष्य राखेका छौँ ।’ साथै, उहाँले यस्ता कार्यक्रमहरूमा सहयोग गर्ने गैर आवासीय नेपाली संघ बेलायत, राज्य समन्वय परिषद् वेल्स, नेपाली समाज वेल्स, कार्डिफ तथा कार्डिफस्थित समुदायलाई धन्यवाद दिनुभयो ।
कुम्ब्रान टिमका कप्तान सजिन मादेनले टिमले राम्रो खेल प्रस्तुत गरेको बताउँदै पुरस्कार वितरणले युवाहरूलाई थप हौसला दिएको र कार्यक्रमप्रति कुम्ब्रान समुदायको तर्फबाट आभार व्यक्त गर्नुभयो । उहाँले थप्नुभयो, ‘हामीले आजको खेलबाट धेरै सिक्यौँ, र आगामी भेटमा अझ संगठित, अनुशासित र आक्रामक खेल प्रदर्शन गर्ने लक्ष्य राखेका छौँ। वेल्सभरि नेपाली समुदायबीच देखिएको सकारात्मक सामुदायिक भावनालाई हामी आगामी दिनहरूमा पनि निरन्तरता दिनेछौँ ।’
यसैबीच, नेपाली समाज वेल्स, कार्डिफका अध्यक्ष पदम पुनले कार्डिफ क्षेत्रका युवालाई खेलकुदमार्फत सशक्त बनाउन संस्था सधैं तयार रहेको र आफू पनि कार्डिफ टिमबाट खेलाडीका रूपमा मैदानमा उत्रेर युवाहरूको उत्साहमा साथ दिएको बताउनुभयो ।
खेल आयोजना कार्डिफ र कुम्ब्रान दुवै नेपाली फुटबल टिमले संयुक्त रूपमा गरेका थिए र कार्यक्रममा गैरआवासीय नेपाली संघ बेलायत, राज्य समन्वय परिषद् वेल्स तथा नेपाली समाज वेल्स, कार्डिफले समेत आर्थिक सहयोग गरेको आयोजकहरूले जनाएका छन् ।