बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने

लन्डन । व्यक्तिभित्र निहित क्षमता, आत्मविश्वास र नेतृत्व विकासलाई केन्द्रमा राखेर दुईदिने विशेष तालिम कार्यक्रम आयोजना हुने भएको छ।

यूकेस्थित प्रशिक्षक मन गुरुङको प्रशिक्षणमा आगामी जुलाई २४ र २५, २०२६ मा फार्नबोरोमा ‘अनलिस योर इनर सेल्फ’ शीर्षकको आन्तरिक क्षमता अभिवृद्धि तथा सशक्तिकरण तालिम सञ्चालन हुन लागेको हो ।

तालिम अल्डरशटस्थित वेस्ट एन्ड सेन्टरमा बिहान ८:३० बजेदेखि सुरु हुनेछ । कार्यक्रम प्रत्यक्ष रूपमा सहभागी हुन सकिनेछ भने घरमै बसेर आफ्नै अनुकूल समयमा सिक्न मिल्ने व्यवस्था समेत गरिने प्रशिक्षक गुरुङले जानकारी दिनुभएको छ । उहाँका अनुसार तालिममा सहभागी हुन निश्चित शुल्क लाग्नेछ ।

संकलित रकमबाट खर्च कटाएर बचत भएको केही हिस्सा नेपाल र बेलायतका आवश्यक च्यारिटी संस्थाहरूलाई सहयोग गरिनेछ। “हरेक व्यक्ति सफल, स्वस्थ, समृद्ध र खुसी जीवन चाहन्छ। तर धेरैजसोले आफूभित्र रहेको वास्तविक क्षमता पहिचान र प्रयोग गर्न सकेका हुँदैनन्। यो तालिमले व्यक्तिलाई आफ्नो क्षमता उजागर गर्न र जीवनमा सकारात्मक परिवर्तन ल्याउन सहयोग गर्छ,” गुरुङले भन्नुभयो ।

तालिममा व्यक्तिगत तथा व्यावसायिक सफलताका उपाय, आत्मविश्वास अभिवृद्धि, डर, त्रास र संकोचमाथि विजय हासिल गर्ने सीप, सकारात्मक सोचको विकास, अनुशासन र सशक्तिकरण, नेतृत्व क्षमता, संगठन विकास, रणनीतिक सोच, आर्थिक सचेतना तथा आयआर्जनका सम्भावनाबारे प्रशिक्षण प्रदान गरिनेछ।

उच्च शिक्षा यूकेबाट हासिल गरेका प्रशिक्षक गुरुङ आईसीएफ कोच, सामुदायिक अगुवा, वरिष्ठ ताइची तथा चिगोङ प्रशिक्षक, विपश्यना साधक तथा खेलप्रेमीका रूपमा परिचित हुनुहुन्छ । व्यक्तिगत विकास, नेतृत्व तथा क्षमता अभिवृद्धिका क्षेत्रमा उहाँको २५ वर्षभन्दा बढीको अनुभव रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री