
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटार आयोजित दोस्रो राष्ट्रिय कौराहा सम्मेलन कौराहा घोषणापत्र जारी गर्दै सकिएको छ ।
मगर समुदायको मौलिक नृत्य कौरा संरक्षण र दस्तावेजीकरण गर्ने उद्देश्यसहित शुक्रबार ४ वैशाख र शनिबार ५ वैशाखमा सम्मेलन आयोजना गरिएको थियो ।
नेपाल मगर सांस्कृतिक सङ्घ केन्द्रीय समितिको आयोजना र नेपाल मगर सङ्घ तनहुँको सहआयोजनामा भएको सम्मेलनले कार्यदल विज्ञ समितिमार्फत् कौराहा घोषणापत्र जारी गरेको नेपाल मगर सांस्कृतिक सङ्घका केन्द्रीय अध्यक्ष नन्दु मगरले जानकारी दिनुभयो ।
कौराहा सम्मेलनका लागि यमबहादुर आलेको संयोजकत्वमा विज्ञ समिति गठन गरिएको थियो । सम्मेलनमा २७ समूहको सहभागिता रहेको थियो । प्रतिनिधिबीचमा भएको छलफल र निर्णयमार्फत कौराहाको दस्तावेजीकरण गरिएको उहाँले बताउनुभयो ।
झापुटारमा शुक्रबारदेखि सुरु भएको दोस्रो राष्ट्रिय कौराहा सम्मेलन यसपटक फरक र मौलिक शैलीमा उद्घाटन गरिएको थियो । औपचारिक भाषण र कार्यक्रमभन्दा अघि सहभागी युवायुवतीले सामूहिक रूपमा कौरा नाच प्रस्तुत गर्दै कार्यक्रमको सुरुआत गरेका हुन् ।
देशका विभिन्न जिल्लाबाट आएका २७ समूहका युवायुवतीहरू कार्यक्रममा सहभागी भएका छन् । उनीहरूले खैचडीको तालमा गीत गाउँदै र समूहगत प्रस्तुति दिँदै वातावरणलाई निकै उत्साहपूर्ण बनाएका थिए ।
विशेषगरी परम्परागत वेषभूषामा सजिएका युवतीले सामूहिक रूपमा प्रस्तुत गरेको कौरा नृत्यले कार्यक्रममा छुट्टै आकर्षण थपेको थियो । दर्शकले ताली बजाउँदै उनीहरूको प्रस्तुति उत्साहका साथ हेरेका थिए । कार्यक्रमस्थल दिनभर सांस्कृतिक माहोलले भरिएको थियो ।
कार्यक्रम संयोजक पदमबहादुर थापाले समयको परिवर्तनसँगै यस्ता मौलिक संस्कृतिहरू लोप हुन खतरा बढ्दै गएको सन्दर्भमा कौराहाको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामा हस्तान्तरण आवश्यक देखिएको बताउनुभयो ।
कौराहा नृत्यको मौलिकता संरक्षण तथा प्रवर्द्धन गर्ने, मगर समुदायको सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने, कौराहासम्बन्धी अध्ययन, अनुसन्धान तथा अनुभव आदानप्रदान गर्ने, नयाँ पुस्तालाई संस्कृतिप्रति जागरुक बनाउनेलगायत उद्देश्यसहित कौराहा सम्मेलनको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।
नेपाल मगर सङ्घ केन्द्रीय निर्वाचन समितिका संयोजक सिद्धान्त थापा मगरले कौराहाको उद्गमथलो ऋषिङ भएकाले यहाँ कार्यक्रम आयोजना हुन सकारात्मक रहेको बताउनुभयो । उनले कौराहा मगर जातिको पहिचान र सभ्यतासँग गहिरो रूपमा जोडिएको सांस्कृतिक सम्पदा भएकाले यसको मौलिकता जोगाउन आवश्यक रहेको बताउनुभयो ।
कौराहा विशेषगरी ‘६ क’सँग सम्बन्धित रहेको जानकारहरू बताउँछन् । यसमा कहिले गाउने, कसरी गाउने, कति गाउने, कहाँ गाउने, कसरी नाच्ने/नचाउने र कसरी बजाउने भन्ने आधारभूत पक्षहरू समेटिएका छन् ।

टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा