
काठमाडौं । नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग एनआरएनए प्रतिनिधिमण्डलले भेट गरेको छ ।
अध्यक्ष हेमराज शर्मा नेतृत्वको प्रतिनिधिमण्डले शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता गरेको हो । भेटमा एनआरएनका लागि नेपाली नागरिकता निरन्तरतालगायत माग राखिएको छ । भेटपछि एनआरएनए उपाध्यक्ष विश्वास दीप तिगेलाले भन्नुभयो, ‘नवनियुक्त परराष्ट्रमन्त्रीज्यूसँग पहिलो मिटिङ हो । एनआरएनएले विशेषगरी नेपाली नागरिकता निरन्तरताको मागलाई संविधान संशोधनको बखतमा सम्बोधन गर्नुपर्ने माग राखेको छ ।’
परराष्ट्रमन्त्री खनालले पनि आफ्नो भनाइ राख्दै नेपालमा ठूलो लगानी गरेर रोजगारी सिर्जना गराइदिन एनआरएनए टोलीलाई आग्रह गरेको उपाध्यक्ष तिगेलाले जानकारी दिनुभयो । सोही क्रममा मन्त्री खनाललाई बधाई तथा शुभकामना दिइएको थियो । मन्त्री खनालले पनि एनआरएनए कार्यसमितिलाई बधाई ज्ञापन गर्नुभयो ।

अध्यक्ष हेमराज शर्मा, उपाध्यक्षहरु रोजिना प्रधान राई, दिनेश पोखरेल, विश्वास दीप तिगेला, तिलक गैरे, महासचिव चिरञ्जीवी खड्का, सचिव अभिमन्यू बस्नेत, दिपेश खत्री, उपमहासचिव वेदराज बस्नेत, प्रवक्ता सोम सापकोटा, कोषाध्यक्ष कृष्णप्रसाद तिमल्सेना, सहकोषाध्यक्ष अब्दुल बसिद, महिला सहकोषाध्यक्ष गंगा खतिवडा, संयोजक रश्मी थापा, दोस्रो पुस्ता संयोजक दीपमाला ढकाल, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्षहरु शेष घले, रविना थापा, पूर्वअन्तर्राष्ट्रिय संयोजक भीम उदासलगायत सहभागी हुनुहुन्थ्यो ।

परराष्ट्रमन्त्री शिशिर खनाललाई बुझाइएको पत्र :
मितिः २०८२ /१२/ २०
माननीय परराष्ट्र मन्त्री श्री शिशिर खनाल ज्यू
परराष्ट्र मन्त्रालय,
सिंहदरबार, काठमाण्डौ ।
विषयः हार्दिक बधाई तथा शुभकामना सहित सहजीकरणका लागि सादर अनुरोध ।
माननीय मन्त्रीज्यू,
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको माननीय परराष्ट्र मन्त्रीको रूपमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै यहाँको कार्यकाल सफल, प्रभावकारी तथा ऐतिहासिक रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं ।
यहाँको कार्यकालमा गैरआवासीय नेपाली संघ र विदेशमा रहेका नेपालीहरूले सरकारसँग रचनात्मक सहकार्य गर्दै नेपालको विकास प्रक्रियामा दरिलो र विश्वसनीय साझेदारका रूपमा काम गर्न सहज वातावरण बन्ने अपेक्षा राखेका छौँ। विशेष गरी, विदेशमा रहेका नेपालीले आर्जन गरेको अनुभव, ज्ञान, सीप र पूँजीलाई प्रभावकारी रूपमा उपयोग गर्दै समृद्ध, समावेशी र आत्मनिर्भर नेपाल निर्माणमा उनीहरूलाई साझेदार बनाउनेमा विश्वस्त छौँ।
“नेपालीका लागि नेपाली” भन्ने मूल मन्त्रका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियानले हालसम्म ९० देशमा औपचारिक सञ्जाल विस्तार गरी, विभिन्न मुलुकमा रहेका नेपाली समुदायलाई एकै सुत्रमा जोड्न सफल भएको छ। साथै, मातृभूमि नेपालको सामाजिक, परोपकारी र आर्थिक विकासमा नेपाल सरकारसँग सहकार्य गर्दै आएको छ।
माननीय मन्त्रीज्यू,
परराष्ट्र मन्त्रालय गैरआवासीय नेपाली संघको तालुकदार मन्त्रालय मात्र नभई हाम्रो भरोसा र विश्वाशको मन्त्रालय पनि हो। नेपाल सरकारसँग सहकार्यको मार्ग यही मन्त्रालयमार्फत तय हुने भएकाले गैरआवासीय नेपालीका समस्या समाधानमा पनि यस मन्त्रालयले अग्रसर भूमिका खेलोस् भन्ने हाम्रो अपेक्षा छ।
यसै सन्दर्भमा, हाल विश्वभर रहेका नेपालीहरूको प्रमुख चासो, वंशजको नागरिकताको निरन्तरता र गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन रहेको छ । नेपालको संविधानको धारा १४ ले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरू प्रयोग गर्न पाउने व्यवस्था स्पष्ट गरेपनि विगत दश वर्षसम्म यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको करिब तीन वर्ष पुग्न लाग्दा पनि ती अधिकारहरू प्रयोगविहीन अवस्थामा रहेका छन्, जसबारे माननीय मन्त्रीज्यू पूर्ण रूपमा जानकार हुनुहुन्छ। त्यसैले आवश्यक कानुनी र संवैधानिक हैसियत सुनिश्चित गरिदिन नेतृत्वदायी भूमिका निर्वाह गरिदिन अनुरोध गर्दछौं। यसका लागि माननीय मन्त्रीज्यूले तीन चरणमा निर्णय प्रक्रिया अघि बढाउन भूमिका खेल्नु पर्ने सुझाव प्रस्तुत गर्दछौं।
पहिलो, गैरआवासीय नेपाली नागरिकताको तत्काल कार्यान्वयन।
दोस्रो, विश्वभरका नेपालीको आवश्यकता र भावना समेट्ने गरी गैरआवासीय नेपाली सम्बन्धि ऐन संशोधन।
तेस्रो, “वंशजको नागरिकताको निरन्तरता भन्ने मान्यता अनुसार संविधान संशोधन।
माननीय मन्त्रीज्यू,
उल्लेखित तीन चरणमध्ये पहिलो चरण गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन, नितान्त व्यवहारिक विषय हो। संविधानअनुसार ऐन संशोधन गरी वितरण गरिएको नागरिकताबाट सांस्कृतिक, सामाजिक र आर्थिक अधिकार प्रयोग गर्न रोक्नु पर्ने कुनै ठोस कारण छैन, यो केवल प्रशासनिक अनिच्छा मात्र भएको हाम्रो बुझाइ छ। त्यसैले यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न मन्त्रिपरिषद् बाट निर्णय गराई देहायबमोजिमको कार्यमा सम्बन्धित निकायमा तत्काल परिपत्र गर्न हार्दिक अनुरोध गर्दछौं l
१. अध्यागमन : गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिलाई नेपाल प्रवेशका लागि भिसा लिनु नपर्ने तथा भिसा अवधि थप गरिरहनु नपर्ने व्यवस्था स्पष्ट गरी गृह मन्त्रालयमार्फत अध्यागमन विभागबाट कार्यान्वयन हुने गरी आवश्यक निर्णय तथा परिपत्र जारी गरिदिनुहुन ।
२. जग्गा-जमिन सम्बन्धी: गैरआवासीय नेपाली नागरिकलाई अचल सम्पत्ति (पैत्रिक सम्पत्ति समेत) प्राप्ति, खरिद-बिक्री तथा पैत्रिक सम्पत्ति आफ्नो नाममा नाम सारी गर्ने प्रक्रियामा सहजता मिलाउन भूमि व्यवस्थापन तथा अभिलेख विभाग र सम्पूर्ण मालपोत कार्यालयहरूलाई आवश्यक परिपत्र जारी गर्न l
३. बैंक तथा वित्तीय क्षेत्र: गैरआवासीय नेपाली नागरिकहरूलाई अन्य नेपाली नागरिक सरह बैंक खाता खोल्न तथा सञ्चालन गर्न, कम्पनी स्थापना गर्न, धितोपत्र खरिद-बिक्री गर्न, डिम्याट खाता खोल्न तथा धितोपत्र बजारमा लगानी गर्न पूर्ण अधिकार सुनिश्चित गर्न र नेपाल सरकारको समन्वयमा स्थापित करिब रु. १० अर्ब बराबरको “एनआरएन नेपाल डेभलपमेन्ट फण्ड लिमिटेड” लाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड मार्फत आवश्यक सहजीकरण गरिदिनुहुन l
४. सवारी साधन: गैरआवासीय नेपाली नागरिकलाई अन्य नेपाली सरह सवारी साधन खरिद/दर्ता तथा सवारी चालक अनुमतिपत्र प्राप्त गर्न यातायात व्यवस्था विभाग तथा मातहतका सबै कार्यालयबाट पूर्ण सहजीकरण गरिदिनुहुन l
५. राष्ट्रिय परिचयपत्र: गैरआवासीय नेपाली नागरिकहरूले नेपालमा तत्कालका लागि राष्ट्रिय परिचयपत्रबिना पनि सरकारी सेवा, बैंक/वित्तीय कारोबार, सम्पत्ति खरिद–बिक्री र सवारी चालक अनुमतिपत्र प्राप्त गर्न सक्ने वातावरण निर्माण गरि तत्कालका लागि अनिवार्य नराखी सेवा तथा कारोबारमा सहज पहुँच सुनिश्चित गरिदिनुहुन l
माननीय मन्त्रीज्यू,
गैरआवासीय नेपालीसँग सम्बन्धित सबै विषयलाई समग्र रूपमा सम्बोधन गर्न हालको गैरआवासीय नेपाली सम्बन्धी ऐन, २०६४ लाई संशोधन गरी समयानुकूल नयाँ ऐन निर्माण यथासिघ्र अगाडि बढाउनु जरुरी छ, हामीलाई विश्वास छ कि पूर्ण बहुमत भएको सरकारले यो ऐन परिवर्तन गर्न समय लिने छैन। त्यसैले हामी नयाँ ऐनमा विशेषतः छुट्नै नहुने केही विषयहरू मन्त्रालयले नै तयार गर्ने विधेयकमा अवश्य समेटिने भन्ने विश्वाससहित ती विषयहरू पुनः स्मरण गराउन चाहन्छौँ:
१. गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले राजनीतिक अधिकार बाहेक बाँकी सम्पूर्ण अधिकार बंशजको नागरिकता प्राप्त व्यक्तिसँग समान हुने।
२. गैरआवासीय नागरिकता प्राप्त व्यक्तिका सन्तानले स्वतः त्यही आधारमा गैरआवासीय नागरिकता प्राप्त गर्न सक्ने।
३. गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले विदेशी नागरिकसँग विवाह गरेमा निजको वा पत्नी/पति गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने।
४. गैरआवासीय नेपाली नागरिकताका आधारमा राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिने।
माननीय मन्त्रीज्यू,
कुनै पनि नेपालीले स्वदेश छोड्नु केवल इच्छा होइन, बाध्यता पनि हो। त्यस बाध्यताका कारण विदेशमा रहेका नेपालीले त्यहाँको स्थायी बसोबास वा नागरिकता लिनुपर्छ। तर यसो गर्दा आफ्नो मातृभूमिको बंशजको नागरिकता त्याग्ने रहर हुँदैन। त्यसैले व्यवहारिक दृष्टिले “एकपटक बंशजको नागरिकता लिएको व्यक्तिले जुनसुकै देशको नागरिकता लिए पनि उसको बंशजको नागरिकता कायम रहने व्यवस्था संविधान संशोधन र कानुनमै स्पष्ट उल्लेख गर्दै नेपाली नागरिकको मौलिक हकसँग सम्बन्धित संविधानको धारा २९१ खारेज गर्न ध्यानाकर्षण गराउँदछौ ।
माननीय मन्त्रीज्यू,
यसैसँगै, पछिल्लो समयमा मध्यपूर्वमा रहेका नेपालीहरूले भोगिरहेका सङ्कट समाधानका लागि मन्त्रालयले गरिरहेको पहलप्रति धन्यवाद ज्ञापन गर्दछौँ। यद्यपि, उक्त पहल पर्याप्त नभएकोले यस सम्बन्धमा व्यवस्था गरि प्रभावकारी पहलका लागि अनुरोध गर्दछौँ। साथै, वैदेशिक रोजगारीमा रहेका र विदेशमा समस्यामा परेका नेपालीहरूको सहायताका लागि निम्न व्यवस्था गर्न अनुरोध गर्दछाँ :
१. दूतावासको जनशक्ति प्रभावकारी बनाउन हालको जनशक्तिलाई कम्तीमा दोब्बर बढाउन।
२. विदेशमा कारागारमा रहेका नेपालीहरूलाई समयमै र व्यवस्थित कानुनी सहायता उपलब्ध गराउन विशेष संयन्त्र स्थापना गर्न।
३. श्रमिक स्वास्थ्य सुरक्षा र प्रस्थानपूर्व सचेतना कार्यक्रम व्यवस्थित र व्यापक बनाउन।
४. बिदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आवश्यक व्यवस्था गर्न र ठुलो संख्यामा नेपालीहरू रहेका रोमानिया, क्रोएसिया, पोल्याण्ड र माल्टा लगायतका देशमा दूतावास स्थापना गर्न।
५. बिदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आवश्यक व्यवस्था l
अन्त्यमा, बृहत् एकता सहित भर्खरै सम्पन्न विश्व सम्मेलन र माहाधिवेशनबाट आएको गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व माननीय मन्त्रीज्यूसहित सिंगो परराष्ट्र मन्त्रालयसँग हातेमालो गर्दै देशको विकास र नेपालीहरूको खुशीका लागि स्वदेश र विदेशमा जस्तोसुकै सहयोग गर्न सधैं तत्पर रहने प्रतिवद्धता पुनः दोहोर्याउन चाहन्छ।
साथै, नेपाललाई समग्र रूपमा समृद्ध बनाउने दिशामा यहाँको कार्यकाल फलदायी हुने विश्वासका साथ संघको तर्फबाट पुनः हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।
भवदीय,
डा. हेमराज शर्मा
अध्यक्ष,
गैरआवासीय नेपाली संघ ।
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]