लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने

लन्डन । नेपाली साहित्य विकास परिषद् यूकेले यस वर्षको एनएलडीसी पुरस्कार रेडियो नेपालका पूर्व समाचार वाचक वरिष्ठ पत्रकार हरिशरण लामिछानेलाई( नेपालमा) र श्री जानकी माता धार्मिक संघ कोलकाता भारतका अध्यक्ष साहित्यकार गुञ्जदाश श्रेष्ठ र सांस्कृतिक प्रमुख कलाकार सन्तोषी सिंहलाई प्रदान गर्ने निर्णय गरेको छ ।

परिषद्का अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएअनुसार तीन दशकभन्दा बढी समय अविछिन्नरूपमा रेडियो नेपालको वरिष्ठ समाचार वाचक रहनुभई नेपालको सञ्चार क्षेत्रमा पुर्‍याउनुभएको गहन योगदान र नेपाली साहित्य विकास परिषद् यूकेको नेपाल च्याप्टरमा स्थापनाकालदेखि तीन कार्यकाल महासचिव र सल्लाहकार रहनु भई नेपाली भाषा र साहित्यको श्रीवृद्धि गर्नमा योगदान पुर्‍याएकोमा लामिछानेलाई पुरस्कृत गर्न लागिएको हो । उनलाई पाँच तोला चाँदी र स्वर्ण लिपिमा बनेको एनएलडीसी साहित्य सञ्चार-पुरस्कार पदक (नगद लिन चाहेमा नेपाली रूपैयाँ ५० हजार) द्वारा सम्मानित गरिने भएको छ ।

हरेक वर्ष प्रदान गरिने यो पुरस्कार यसअघि बीबीसी नेपाली सेवाका पूर्वप्रमुख तथा परिषद्का पूर्वअध्यक्ष खगेन्द्र नेपाली, परिषद्का पूर्वअध्यक्ष साहित्यकार हरिसिंह थापा, नेपाल पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष पत्रकार नवीन पोखरेल र भिजन संसारका पत्रकार अभिमन्यु वैरागलाई प्रदान गरिएको थियो ।

यसैगरी कोलकाता भारतमा रहेर नेपाली साहित्यका विविध गतिविधि र साहित्यिक पत्रिकाको प्रकाशन, नेपाली गीत सङ्गीतको संयोजन तथा गीत एल्वम् प्रकाशन र साथै नेपाली साहित्य विकास परिषद् यूकेका साहित्यिक कार्यक्रमहरूमा सक्रियरूपले सहभागिता राखि नेपाली भाषा साहित्य, संस्कृति र गीतसङ्गीतको संरक्षण र सम्बर्धनमा योगदान पुर्‍याएकोमा श्रेष्ठ र सांस्कृतिक प्रमुख कलाकार सिंहलाई नेपाली साहित्य विकास परिषद् यूकेको मानार्थ आजीवन सदस्यता प्रदान गर्नुका साथै एनएलडीसी नेपाली साहित्य-कला पुरस्कार पदक (नगद लिन चाहेमा नेपाली रूपियाँ २० हजार) द्वारा सम्मानित गरिने छ । यो पुरस्कार यसअघि लन्डनका कलाकारहरू डम्बर सुब्बा र प्रमोद शर्मालाई प्रदान गरिएको थियो ।
नेपाली भाषा, साहित्य, कला र सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने सर्जक, कलाकार र पत्रकारहरूलाई प्रदान गरिने यो पुरस्कार वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्ल तथा श्रीमती कोहिनूर श्रेष्ठ मल्लले आ-आफ्ना बाबु आमाका नाममा सन् २०११ मा नेपाली साहित्य विकास परिषद् यूकेमा स्थापना गर्नुभएको हो ।

नेपाली साहित्य विकास परिषद् यूकेको स्थापना सन् १९९५ मा वरिष्ठ साहित्यकार सुरेशजंग शाहले गर्नुभएको हो । स्थापनाकालदेखि नै परिषदमा एनएलडीसी गोल्ड मेडल, एनएलडीसी साहित्य, कला र पत्रकारितालगायतका विभिन्न १५ वटा पुरस्कारहरू स्थापित गरी वितरण हुँदै आएका छन् र साहित्यिक पुस्तकहरू र लालीगुराँस साहित्यिक पत्रिकाको प्रकाशनलगायत गतिविधिहरू नियमित हुँदै आएको छ । परिषद्को नेपालमा पनि च्याप्टर खोलिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री