एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं आगामी १२औँ महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी रोबिन प्रसाद शेरचनले संघको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न माग गरेका छन् ।

मार्च १४ देखि १६ सम्म काठमाडौँमा तय भएको महाधिवेशनको संघारमा एक विशेष अपिल जारी गर्दै शेरचनले वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र संस्थाभित्रको प्रक्रियागत विवादका कारण निर्वाचन प्रक्रिया रोक्न निर्वाचन समितिलाई आग्रह गरेका हुन्।

शेरचनले विशेष गरी मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला असहज घटनाक्रमलाई मुख्य कारणका रूपमा अघि सारेका छन् । संकटको यस घडीमा हजारौँ नेपालीहरूले आशा र भरोसाका साथ एनआरएनएतर्फ हेरिरहेको उल्लेख गर्दै उनले मानवीय संवेदनालाई बिर्सेर चुनाव र पदमा मात्र केन्द्रित हुनु संस्थाको मूल मर्म विपरीत हुने जिकिर गरेका छन् । उनले मध्यपूर्वको असुरक्षाका कारण युरोप, अमेरिका र स्वयं मध्यपूर्वबाट नेपाल आउने प्रतिनिधिहरूको यात्रा समेत अनिश्चित बनेको अवस्थामा अग्रज र अभियन्ताहरूको व्यापक सहभागिताविनाको महाधिवेशन अपूर्ण रहने देखिने बताएका छन् ।

यसैगरी, शेरचनले संस्थाभित्रका प्राविधिक र वैधानिक त्रुटिहरू नसच्याई अघि बढ्नु आत्मघाती हुने चेतावनी दिएका छन् । उनले कुल पञ्जीकृत सदस्यहरूको प्रमाणीकरणसहितको आधिकारिक विवरण सार्वजनिक नगरिएको, शुल्क नबुझाएका एनसीसी र सदस्यहरूको सूची अझै अपारदर्शी रहेको तथा विधानले तोकेको ३० दिनको अनिवार्य समयसीमा पालना नगरिएको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । यी तमाम समस्या र विवादका बीच पनि यदि महाधिवेशन गर्नैपर्ने बाध्यात्मक अवस्था हो भने चुनावी प्रतिस्पर्धाबाट नभई सर्वसम्मत रूपमा नेतृत्व चयन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

सन् २०२१ को महाधिवेशनमा प्रतिनिधि विवादका कारण उत्पन्न फुट र तित्तताको घाउ अझै निको नभएको स्मरण गराउँदै शेरचनले फेरि पनि कसैको वैधानिक अधिकारलाई बेवास्ता गरे संस्थालाई थप क्षति पुग्ने बताएका छन् । उनले विवादित प्रक्रियामा सहभागी भएर संस्थाको मर्यादामा आँच आउने काम आफूबाट नहुने स्पष्ट पार्दै पदभन्दा संस्था र यसको विश्वसनीयता आफ्नो लागि सर्वोपरी रहेको उद्घोष गरेका छन् । परिस्थिति सामान्य भई सबै प्रतिनिधिहरूले सुरक्षाको प्रत्याभूति पाएपछि मात्र बृहत्तर एकतासहित महाधिवेशन सम्पन्न गर्नुपर्ने उनको प्रस्ताव छ ।

उपाध्यक्ष शेरचनले एनआरएनएलाई बलियो, एकीकृत र उत्तरदायी बनाउन संकटको समयमा सहकार्य र एकताको उदाहरण प्रस्तुत गर्नुपर्ने भन्दै विश्वभर रहेका सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई धैर्य र संयम रहन अपिल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री