
काठमाडौँ, १७ असार । संविधानसभामा प्रस्तुत संविधानको प्रारम्भिक मस्यौदामा मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ ।
मस्यौदाअनुसार आठ प्रदेशको सङ्घीय संरचना हुने तथा केन्द्रीय व्यवस्थापिका २७५ सदस्यीय हुनेछ । केन्द्रीय व्यवस्थापिकामा १६५ सदस्य प्रत्यक्ष तथा ११० समानुपातिक निर्वाचनबाट निर्वाचित हुनेछन् । राष्ट्रिय सभाको संरचना ४५ सदस्यीय हुनेछ । प्रदेशबाट समान सङ्ख्याका आधारमा निर्वाचित ४० र मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट पाँच जनालाई मनोनयन गरिनेछ ।
सामथ्र्य र पहिचानमा आधारित आठ प्रदेश हुने र प्रदेश प्रमुख केन्द्र सरकारको प्रतिनिधिका रुपमा राष्ट्रपतिबाट पाँच वर्षका लागि नियुक्ति गरिने मस्यौदामा उल्लेख छ । मुख्य मन्त्री प्रदेश सभाको बहुमतबाट निर्वाचित हुने मस्यौदामा उल्लेख छ । जनसङ्ख्याका आधारमा प्रदेशसभा २१ देखि ४५ सदस्यीय हुनेछ । जुन ६० प्रतिशत प्रत्यक्ष निर्वाचित र ४० प्रतिशत समानुपातिकका आधारमा हुनेछ ।
मस्यौदाअनुसार भूगोल र जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र कायम गरिनेछ । निर्वाचनका लागि राजनीतिक दलले उम्मेदवारी दिँदा भूगोल र जनसङ्ख्याका आधारमा महिला, दलित, आदिवासी, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसङ्ख्यक समुदायसमेतबाट बन्द सूचीका आधारमा प्रतिनिधित्व हुनेछ । प्रदेश सभाको कार्यकाल छ महिनाभन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा उपनिर्वाचनद्वारा पूर्ति गरिनेछ ।
त्यसैगरी जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय तथा आवश्यक व्यवस्थापन गर्न कानुन बमोजिम एक जिल्ला सभा रहने छ । जिल्ला सभामा जिल्लाभित्रका प्रत्येक गाउँ कार्यपालिका प्रमुख र नगरकार्यपालिका प्रमुख सदस्य रहनेछन् । गाउँ सभा र नगरसभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले तीस दिनभित्र जिल्ला सभाको पहिलो बैठक बस्ने मस्यौदाले स्पष्ट किटान गरेको छ ।
जिल्ला सभाले प्रादेशिक कानुन बमोजिम एकजना प्रमुख, एकजना उपप्रमुख र कम्तीमा तीनजना महिला र कम्तीमा एकजना दलित वा अल्पसङ्ख्यकसहित बढीमा नौजना सदस्य रहेको जिल्ला समन्वय समितिको निर्वाचन गर्नेछ । जिल्ला समन्वय समितिले जिल्ला सभाको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्यसम्पादन गर्नेछ । सम्बन्धित जिल्लाभित्रको गाउँसभा वा नगरसभाको सदस्य जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख वा सदस्य पदको उम्मेदवार हुन योग्य हुनेछ । जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्यको पदावधि पाँच वर्षको हुने व्यवस्था मस्यौदामा गरिएको छ ।
यसैगरी, प्रत्येक गाउँसभामा गाउँ कार्यपालिका प्रमुख र उपप्रमुख, गाउँपालिकाका हरेक वडाबाट पाँचजनाको दरले कानुन बमोजिम निर्वाचित पैँतालीसजना सदस्य रहने छन् । गाउँसभामा प्रत्येक वडाबाट कम्तीमा दुईजना महिलाको प्रतिनिधित्व हुनेछ । गाउँसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट प्रत्येक वडाबाट निर्वाचित भएका पाँचजना सदस्यमध्ये एकजनालाई गाउँ कार्यपालिकाको सदस्य निर्वाचित गरिनेछ ।
मस्यौदामा गरिएको व्यवस्थाअनुसार त्यस्तो सदस्य सम्बन्धित वडाको पदेन अध्यक्ष हुनेछ । प्रत्येक वडामा वडा अध्यक्ष र सोही वडाबाट निर्वाचित सदस्यहरु रहेको वडा समिति गठन हुनेछ । गाउँसभा सदस्यको निर्वाचन पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअनुसार बालिग मताधिकारका आधारमा गोप्य मतदानद्वारा हुनेछ । अठार वर्ष उमेर पूरा भएको गाउँपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिलाई कानुनमा व्यवस्था भए बमोजिम मतदान गर्ने अधिकार हुनेछ ।
प्रत्येक नगरसभामा नगर कार्यपालिका प्रमुख र उपप्रमुख, नगरपालिकाका हरेक वडाबाट पाँचजनाको दरले कानुन बमोजिम निर्वाचित कम्तीमा ५५ जना सदस्य रहने छन् । नगरसभामा प्रत्येक वडाबाट कम्तीमा दुईजना महिलाको प्रतिनिधित्व हुनेछ । नगरसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट प्रत्येक वडाबाट निर्वाचित भएका पाँचजना सदस्यमध्ये एकजनालाई नगर कार्यपालिकाको सदस्यमा निर्वाचित गरिनेछ र त्यस्तो सदस्य सम्बन्धित वडाको पदेन अध्यक्ष हुनेछ ।
“प्रत्येक वडामा वडा अध्यक्ष र सोही वडाबाट निर्वाचित सदस्यहरु रहेको वडा समिति गठन हुनेछ । नगरसभा सदस्यको निर्वाचन पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअनुसार बालिग मताधिकारको आधारमा गोप्य मतदानद्वारा हुनेछ । १८ वर्ष उमेर पूरा भएको नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिलाई कानुन बमोजिम मतदान गर्ने अधिकार हुनेछ,”– मस्यौदामा भनिएको छ ।
जिविस महासङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद सापकोटाले मस्यौदामा स्थानीय सरकारलाई विधायिकी अधिकार दिनु सकारात्मक भए पनि कतिपय व्यवस्था बाझिएको बताए । “एकातिर विधायिकी अधिकार दिइएको छ, अर्कोतिर गाउँसभा र नगरसभाको कार्यविधि, गठन, सुविधा आदि प्रादेशिक कानुनअनुसार हुनेछ भनिएको छ, यो विरोधाभाषपूर्ण छ, ” उनले भने ।
वित्तीय आयोगमा अहिले स्थानीय निकायसम्बन्धी सङ्घ र महासङ्घका प्रतिनिधिहरुलाई समावेश गरिएको छ, तर नयाँ मस्यौदामा भने त्यो हटाइनु उचित नभएको उनको टिप्पणी छ । पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले नेपालको भौगोलिक अवस्थितिसमेतका आधारमा निर्वाचन प्रणालीका सम्बन्धमा राखिएका प्रावधानमा अझै धेरै कुरा समेट्नु आवश्यक भएको बताए । भिन्न विचारका दलबीच सहमति कायम गर्न खोज्नु बाध्यता भएकाले सबै कुरा समेट्न नसकिएको हुन सक्ने उनको भनाइ छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा