लन्डन । नेपाली साहित्य विकास परिषद् यूकेले ११६औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती मनाएको छ ।
पश्चिम लन्डनको एकटनस्थित एबीआई कलेजमा १९ अक्टुबर २०२५मा प्रवचन, गीतसङ्गीत प्रस्तुति, स्वागत सम्मान र कविता वाचनसहित देवकोटा जयन्ती मनाइएको हो । समारोहमा प्रमुख अथिति एवं परिषद्का वरिष्ठ प्रमुख सल्लाहकार तथा यती एसोसिएसन यूकेका पूर्वअध्यक्ष डा. राघवप्रसाद धिताल ‘ओबीइ’ले महाकवि लक्ष्म प्रसाद देवकोटा नेपालका अमूल्य निधि रहेको स्मरण गर्नुभयो । उहाँले देवकोटाले नेपाली भाषा साहित्यको शिखर उच्च मात्र नराखी शिक्षामन्त्रीसमेत भएर अन्तर्राष्ट्रय स्तरमा नेपालको प्रतिनिधित्व गरेर राष्ट्रको ख्याति र प्रभाव बढाएको जनाउनुभयो ।
महाकविलाई आफूले प्रत्यक्ष भेट गर्न पाएको ऐतिहासिक क्षण स्मरण गर्दै नेपाली साहित्यलाई विश्वस्तरको मानकमा पुर्याउने काम महाकविले गरेको उहाँले बताउनुभयो । डा. धितालले बेलायतमा नेपाली कला, भाषा साहित्यजस्ता नेपाली पहिचानहरूलाई जीवन्त राख्न परिषद्ले गरेका प्रयासहरू सराहनीय रहेको पनि उल्लेख गर्नुभयो ।
नेपालबाट आएका विशिष्ट अतिथि पुष्पप्रसाद लुइँटेलले बेलायतमा परिषद्ले लामो समयदेखि विभिन्न साहित्यिक गतिविधि गरेर नेपाली भाषा साहित्यिको समृद्धिमा ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको देख्न र आफूसमेत सम्मानित हुन पाउँदा परिषद्को यात्रा सधैं सवल र सफल रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले देवकोटा जन्मजयन्ती कार्यक्रमले भावी पुस्तालाई समेत प्रेरणा पुर्याउने चर्चा पनि गर्नुभयो ।
यती नेपाली एसोसिएसन यूकेका अध्यक्ष टंक भट्टराईले भावुक बन्दै बुबाले आमालाई आफू ५ वर्षको छँदा मुनामदनको कथा सुनाएको सम्झना गर्दै महाकवि देवकोटाको अनुकरणीय कृतिहरुका कारण नेपाल विश्व साहित्य क्षेत्रका विशिष्ट साहित्यकारहरूसँग तुलना गर्न र अरू ठूला देशहरू माझ गनिने गरेको धारणा राख्नुभयो ।
सभापतिको आसनबाट बोल्दै परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले परिषदले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै आदिकवि भानु जयन्ती, महाकवि देवकोटा जयन्ती लगायत साहित्यिक गतिविधिहरू निरन्तर गर्दै आएको चर्चा गर्नुभयो ।
बेलायतमा नेपाली भाषा साहित्यिको विकासका लागि झण्डै तीन दशकअघि नेपाली साहित्य विकास परिषद् यूके स्थापना गरेर यहाँ रहेका सर्जकहरूलाई सिर्जनशील र सक्रिय गराउन परिषद्का संस्थापक निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहको योगदान अतुलनीय रहेको पनि अध्यक्ष मल्लले जनाए । अध्यक्ष मल्लले महाकविको असिमित योगदानले नै आज नेपाली साहित्य विश्वस्तरमा गणना गर्न लायक बनेको पनि उल्लेख गर्नुभयो ।
यसअघि स्वागत मन्तव्य राख्दै परिषद्का वरिष्ठ सह-अध्यक्ष तथा यतीका निवर्तमान अध्यक्ष कवि ध्रुव केसीले बेलायतमा नेपाली भाषा साहित्यिको संरक्षण र संवर्धन गर्न परिषद्ले ऐतिहासिक भूमिका निर्वाह गर्दैआएको चर्चा गर्नुभयो । वरिष्ठ सह-अध्यक्ष केसीले नेपाली साहित्यमा महाकवि देवकोटाको योगदान अतुलनीय रहेको स्मरण गर्नुभयो ।
कार्यक्रम सञ्चालनका क्रममा परिषद्की महासचिव साहित्यकार डा. सुधा श्रेष्ठले हरेक वर्ष तिहारको आरम्भसँगै परिषद्ले मनाउँदै आएको देवकोटा जयन्तीले बेलायतमा रहेका सर्जकहरूमा थप प्रेरणा र उर्जा मिल्ने गरेको सुनाउनुभयो ।
राष्ट्रिय गान, महाकविको तस्विरमा माल्यार्पणबाट आरम्भ गरिएको समारोहमा जेनजी आन्दोलनमा ज्यान गुमाउने ज्ञात अज्ञात शहीदहरू लगायत साहित्य चौतारीका संस्थापक साहित्यकार कवि वासुदेव शर्माको चीरशान्तिका लागि एक मिनेट मौनधारण गरिएको थियो ।
समारोहको दोश्रो चरणमा मालश्री मंगलधुनमा परिषदका अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्ल, डा राघवप्रसाद धिताल, कवि ध्रुव केसी, खगेन्द्र नेपाली, हरिसिंह थापाले नेपालबाट आएका साहित्यकार पुष्पप्रसाद लुइँटेल तथा नवनिर्वाचित यती अध्यक्ष टंक भट्टराईलाई ब्याज, खादा, टोपी र परिषदको लोगो लगाई स्वागत सम्मान र साहित्यकार लुइँटेललाई विशिष्ट सम्मान पत्रबाट सम्मानित गर्नुभएको थियो ।
समारोहमा परिषद्का सल्लाहकार कोसेलीका संस्थापक अध्यक्ष वरिष्ठ कलाकार मदन थापा, परिषद्का सह अध्यक्ष वसन्तराय क्षेत्री तथा वरिष्ठ कोषाध्यक्ष कलाकार तथा कवि मनोज अन्जानले सारङ्गी र मादलमा मङ्गल धुन एवं महाकविका रचनामा धुन र द्यौसीभैली गीतहरु प्रस्तुत गर्नुभएको थियो ।
साहित्य र गीतसङ्गीतको मिश्रण रहेको उक्त समारोहमा वसन्त रायक्षत्री, हरिसिंह थापा, ध्रुव केसी, खगेन्द्र नेपाली, मदन थापा, मनोज अन्जान, कृष्ण बजगाई, रेशम अर्याल, डा. सुधा श्रेष्ठ, सुष्मा भट्टराई, कोमल मल्लले कविता वाचन गर्नुभयो । यस अतिरिक्त वासु सापकोटा, गंगा लिगल, घनबहादुर थापा, सुरेशजङ्ग शाहका कविताहरु पनि वाचन गरिएको थियो ।
समारोहका सभापति अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लले वरिष्ठ प्रमुख सल्लाहकार डा. राघवप्रसाद धिताल ‘ओबीइ’, डा. जनककुमारी धिताल, वरिष्ठ सह-अध्यक्ष ध्रुव केसी, सल्लाहकार एबीआई कलेजका प्रोप्राइटर कृष्ण भट्ट, सल्लाहकार खगेन्द्र नेपाली, दौलत राई, हरिसिंह थापा, नेपलिज वुमन एशोसिएसन यूकेकी अध्यक्ष आरती श्रेष्ठ, सुष्मा भट्टराई, वसन्तराय क्षेत्री, वरिष्ठ कोषाध्यक्ष मनोज अन्जान, पूर्व कार्यकारिणी सदस्यहरु ज्ञानेन्द्र राउत र कोहिनुर मल्ल, गायिका सितु खरेल लगायतप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।