लन्डन । बेलायतबाट सञ्चालित गोर्खा मिडिया डटकमले आइतबार पाँचौँ वर्षगाँठ मनाएको छ ।
अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा १४ सेप्टेम्बर २०२५ मा समाजसेवी, कलाकार, खेलाडी सम्मानलगायत कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको हो । समारोहमा नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख विपिन दुवाडी प्रमुख अतिथि र नेपाल पत्रकार महासंघ बेलायतकी अध्यक्ष बिमला सेने विशेष अतिथिका रुपमा उपस्थित हुनुभएको थियो । कार्यक्रम प्रमुख अतिथि दुवाडी,विशेष अतिथि सेने र प्रबन्ध निर्देशक तमुले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा गोर्खाहरूको हकअधिकारका लागि लामो समयदेखि संघर्षरत अधिकारकर्मी बीजीडब्लुएसका अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्र दल देवान जेपी, समाजसेवी तथा राजनीतिज्ञ काउन्सिलर नीना गुरुङ, समाजसेवी तथा तमु प्ये ल्हु संघ यूकेका संस्थापक उपाध्यक्ष सोम त्होर्जे तमु, नृत्य निर्देशक एवं प्रशिक्षक कविता घर्ती मगर गुरुङ, गिनिज बुकमा नाम लेखाउन सफल एथलेटिक्स खेलाडी एवं प्रशिक्षक सन्तोष राई, गायिका पवित्र गुरुङ सम्मानित हुनुभयो । नृत्य निर्देशक घर्ती गुरुङ र गायिका गुरुङलाई जनही १५ हजारसमेत पुरस्कार दिइएको थियो । कर्मचारीतर्फ सीताराम गुरागाईं २० हजार रुपैयाँ नगदसहित सम्मानित हुनुभयो ।
सम्मान र पुरस्कृत हुनेहरुलाई प्रमुख अतिथि दुवाडी, विशेष अतिथि सेने,सल्लाहकार गुरुङ, प्रबन्ध निर्देशक तमुले खादा, सम्मानपत्र, मायाको चिनो र नगद प्रदान गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दुवाडीले गोर्खा मिडियाले समाजलाई शिक्षित बनाउने, नेपाल र डायस्पोरालाई जोड्ने तथा बेलायतमा रहेको नेपाली समुदायका गतिविधिलाई नजिकबाट प्रस्तुत गरेर जिम्मेवार मिडियाको पहिचान बनाएको बताउनुभयो ।
यस्तै विशेष अतिथि सेनेले गोर्खा मिडियाले सत्य, तथ्य सूचना र समाजलाई अगाडि ल्याउन खेलेको भूमिका प्रशंसनीय रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा किरात याक्थुङ चुम्लुङ यूकेकी अध्यक्ष कमला लिम्बू, पाँचथर समाज सेवा यूकेकी अध्यक्ष शान्ति लिम्बू, ब्रिटिस गोर्खा बेलफेयर सोसाइटीका सहकोषाध्यक्ष प्रेम बुढा, नेपालबाट आएकी कलाकार प्रिया गुरुङ, फोटो पत्रकार तेज गुरुङ, डीएमटी ब्यान्डका संस्थापक दिनेश गुरुङलाई प्रमुख अतिथि दुवाडी र प्रबन्ध निर्देशक तमुले मायाको चिनो प्रदान गर्नुभएको थियो ।
प्रबन्ध निर्देशक तमुले उपस्थित भएर कार्यक्रमको गरिमा बढाइदिएकोमा सबै अतिथिहरूलाई धन्यवाद दिनुभयो ।
कार्यक्रमको प्रारम्भमै ३१ अगस्टमा गोर्खा मिडियाले आयोजना गरेको ‘अ म्युजिकल सोलो विथ पवित्रा गुरुङ र डीएमटी ब्यान्ड च्यारिटी नाइट’बाट संकलित ४ हजार ९६८ पाउन्ड (९ लाख ५० हजार ५८४ रुपैयाँ)को चेक प्रमुख अतिथि दुवाडी र विशेष अतिथि सेनेले गायिका पवित्र गुरुङलाई हस्तान्तरण गर्नुभएको थियो ।
प्रबन्ध निर्देशक मिलन तमुको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ सल्लाहकार एकेन्द्र गुरुङले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सहसम्पादक प्रकाश गुरुङले गर्नुभएको थियो । गोर्खा मिडिया सन् २०२० सेप्टेम्बर १४ मा स्थापना भएको हो ।
कार्यक्रममा बेलायतमा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।