बेलायत निवासी १५ वर्षीय आरोन रेग्मीको बालचित्रकथा सार्वजनिक

बर्नमथ (बेलायत) । बेलायतमा जन्मी हाल बर्नमथ सहरमा बस्दै आएका १५ वर्षीय किशोर आरोन रेग्मीले नेपालका बालबालिकाहरुलाई लक्षित गर्दै चित्रकथा लेख्नु भएको छ । अंग्रेजी भाषामा उहाँले लेखेको “ह्यारी एण्ड द रेड बलुन ” चित्रकथालाई नेपालीमा “अरुजको बेलुन यात्रा” शीर्षकमा अनुवाद गरिएको छ ।

हालै मात्र परिवारसहित नेपाल गएर उहाँले चित्रकथा सार्वजनिक गर्नुभएको हो । बालसाहित्यिक कृतिहरु प्रकाशित गर्दै आएको प्रकाशनगृह कोपिला किताबले आरोनको पुस्तक प्रकाशित गरेको हो । मनोरञ्जनमात्र नभई उक्त चित्रकथाले बालबालिकाको कल्पनाशीलतालाई उजागर गर्ने र नैतिक मूल्यमान्यताहरुलाई रमाइलोसँग सिकाउन सहयोग गर्ने रेग्मी बताउनुहुन्छ ।

विकसित देशहरुमा सुत्नुअघि बालबालिकाहरुलाई पढ्न प्रोत्साहित गरिन्छ । विद्यालय र सार्वजनिक पुस्तकालयहरुबाट बालबालिकाहरुले सजिलै पुस्तक पाउन सक्छन् । तर नेपालमा बालबालिकाहरुलक्षित पुस्तकहरुको पहुँच सीमित भएको आफ्नो आमाबाबुबाट थाह पाएपछि यस क्षेत्रमा योगदान गर्न रुचि जागेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ- “सुत्नुअघि पढ्ने बानीले निद्रामा सुधार ल्याउँछ र शारीरिक र मानसिक स्वास्थ्यको लागि यो जरुरी हुन्छ ।”

पुस्तक प्रकाशन गर्न आवश्यक खर्च जुटाउन उहाँले गत वर्ष “गो फण्ड मी”बाट रकम जुटाउनुभएको थियो । हालै नेपाल जाँदा उहाँले चितवनका केही विद्यालयमा पुस्तक हस्तान्तरण गर्नका साथै आफ्ना विचार पनि राख्नुभएको थियो । विद्यालयका शिक्षकवर्ग, साथीभाइ र परिवारजनबाट प्रशंसा पाउँदा उहाँ पुल्लकित हुनुहुन्छ ।

नेपालका सार्वजनिक विद्यालयहरुमा पुस्तक नि:शुल्क वितरण गर्ने तर अन्यत्र बिक्री गरेर नेपालका ग्रामीण विद्यालयहरुलाई खेलकुद सामग्री उपलब्ध गराउन सहयोग गर्ने उहाँको उद्देश्य छ। लेखनबाहेक फुटबलमा उहाँको अभिरुचि छ र नियमित प्रशिक्षणमा जाने गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री