सोसाइटी अफ नेप्लिज् इन्जिनियर्स इन यूकेको ११ औं वार्षिक सम्मेलन लन्डनमा सम्पन्न

लन्डन । सोसाइटी अफ नेप्लिज् इन्जिनियर्स इन यूके (सोने यूके)को ११ औं वार्षिक सम्मेलन लन्डनमा सम्पन्न भएको छ ।

लन्डन हिथ्रोस्थित शेराटन होटलमा शनिबार सोसाइटीका अध्यक्ष वरिष्ठ इन्जिनियर सुवोध तिमिल्सिनाको अध्यक्षतामा र बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको प्रमुख आतिथ्यतामा सम्मेलन आयोजना गरिएको हो । कार्यवाहक राजदूत दुवाडीले बेलायतमा क्रियाशील नेपाली इन्जिनियरहरुलाई संगठित गरी सोने यूकेले निर्वाह गर्दै आएको बहुआयामिक भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले नयाँ पुस्ताका पेशाकर्मीहरुलाई प्रोत्साहन र दक्षता अभिवृद्धिमा सहयोग गर्नका साथै मातृभूमि नेपालको विकास र समृद्धिको अभियानमा समेत बेलायतका नेपाली इन्जिनियरहरुको सहभागिता अपेक्षा गरिएको धारणा राख्नुभयो ।

सोसाइटीका अध्यक्ष वरिष्ठ इन्जिनियर सुवोध तिमिल्सिनाले सम्मेलनको प्रमुख उद्देश्य आफूहरुले विदेशमा आर्जन गरेको अनुभव, सीप र सामर्थ्यलाई नेपालको विकासमा जोड्ने प्रयास रहेको बताउनुभयो । सम्मेलनमा भाग लिन नेपालबाट आएका नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष सुवास बरालले समस्त नेपाली इन्जिनियरहरुको पक्षमा र नेपालको समग्र विकासको एजेन्डामा सोने यूकेसँगको सहकार्यमा आउँदा दिनमा थप प्रभावकारी काम गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनमा विभिन्न ९ कार्यपत्रहरु प्रिजेन्टेसनका साथै १४ वटा पोस्टर प्रदर्शनीसमेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री