६ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

तेहरान । मध्यपूर्वमा चर्किँदै गएको युद्धका बीच इरानले आफ्नो सेना अमेरिका र इजरायलविरुद्ध महिनौँसम्म तीव्र लडाइँ गर्न सक्षम रहेको दाबी गरेको छ ।

इरानको रिभोलुसनरी गार्ड्सले आइतबार वर्तमान गतिमा युद्ध जारी रहे पनि इस्लामिक गणतन्त्रको सैन्य क्षमता कम्तीमा छ महिनासम्म तीव्र सङ्घर्ष धान्न सक्ने बताएको हो ।

द्वन्द्व दोस्रो हप्तामा प्रवेश गरिसकेको अवस्थामा क्षेत्रभरि तनाव थप फैलिएको छ । इजरायलले लेबनानको राजधानी बेरुतको मध्यभागमा रहेको एक होटलमा लक्षित आक्रमण गरेपछि अवस्था झनै जटिल बनेको छ । उक्त होटलमा इरानको रिभोलुसनरी गार्डको विदेशी अपरेसन शाखा कुद्स फोर्ससँग सम्बन्धित कमान्डरहरू रहेको दाबी इजरायली सेनाले गरेको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ । घटनास्थलमा पुगेका एएफपीका फोटो पत्रकारहरूले भवनका झ्यालहरू फुटेको र पर्खालहरू जलेको अवस्था देखिएको बताएका छन् ।

यसैबीच इजरायली सेनाले आइतबार ‘तेहरानका विभिन्न स्थानमा’ नयाँ आक्रमणको लहर सुरु गरिएको जनाएको छ । इजरायलले ती आक्रमणहरू इन्धन भण्डारण केन्द्रसहित सैन्य पूर्वाधारसँग सम्बन्धित लक्ष्यहरूमा केन्द्रित रहेको बताएको छ ।

इरानले भने अमेरिका र इजरायलले शनिबार राजधानी तेहरानमा रहेको तेल भण्डारण केन्द्रमा आक्रमण गरेको आरोप लगाएको छ । इरानको ऊर्जा पूर्वाधारमाथि प्रत्यक्ष रूपमा भएको यो पहिलो आक्रमण भएको तेहरानको दाबी छ । यस घटनापछि शेयर बजारमा गिरावट आएको र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको उल्लेख गरिएको छ ।

रिभोलुसनरी गार्ड्सका प्रवक्ता अली मोहम्मद नैनीका अनुसार इरानले अहिलेसम्म ‘पहिलो र दोस्रो पुस्ताका’ क्षेप्यास्त्र प्रयोग गरेको छ । तर आगामी दिनहरूमा अझ उन्नत र लामो दूरीका मिसाइलहरू प्रयोग गरिन सक्ने उहाँले सङ्केत गर्नुभयो ।

क्षेत्रीय स्तरमा पनि तनाव फैलिँदै गएको देखिएको छ । साउदी अरेबियाले राजधानी रियादतर्फ लक्षित दर्जनौँ ड्रोन रोकेको जनाएको छ । कुवेतले आफ्नो अन्तर्राष्ट्रिय विमानस्थल नजिकै इन्धन भण्डारण ट्याङ्कीहरूमा आक्रमण भएको जानकारी दिएको छ ।

कुवेतमा उड्डयन इन्धन भण्डारणमा भएको आक्रमणपछि ऊर्जा आपूर्तिबारे चिन्ता बढेको छ । कुवेतको राष्ट्रिय तेल कम्पनीले होर्मुजको जलडमरुमा बढ्दो जोखिमका कारण कच्चा तेल उत्पादन घटाउने निर्णय गरेको जनाएको छ । उक्त जलमार्गबाट विश्वको करिब पाँचौँ भाग तेल तथा ग्यास पारवहन हुने गर्दछ ।

गत आइतबार कुवेतस्थित अमेरिकी सैन्य अड्डामा भएको ड्रोन आक्रमणमा छ जना अमेरिकी सैनिक मारिएका थिए । ती सैनिकहरूको शव स्वदेश फर्काउने कार्यक्रममा सहभागी हुँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँगको युद्ध विस्तार हुने सम्भावनाबारे टिप्पणी गर्नुभएको थियो ।

यसैबीच इरानका सुरक्षा प्रमुख अली लारिजानीले ट्रम्प प्रशासनले भेनेजुएलामा जस्तै शासन परिवर्तनको योजना बनाएको आरोप लगाउनुभएको छ ।

इरानका न्यायपालिका प्रमुख घोलामहोसेन मोहसेनी एजेईले पनि मध्यपूर्वका ती देशहरूलाई चेतावनी दिनुभएको छ जसलाई उहाँले ‘खुला वा गोप्य रूपमा शत्रुको नियन्त्रणमा रहेका’ भन्दै आलोचना गर्नुभएको थियो । उहाँले त्यस्ता लक्ष्यहरूमाथि आक्रमण जारी रहने चेतावनी दिनुभयो ।

इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पनि आइतबार चेतावनी दिँदै कुनै छिमेकी देशको भूमि इरानविरुद्ध आक्रमण गर्न प्रयोग भए त्यसको जवाफ दिन तेहरान बाध्य हुने बताउनुभयो । यस क्रममा इरानले यस क्षेत्रका अमेरिकी सम्पत्तिलाई लक्ष्य बनाउने चेतावनी दिएको छ । साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्स र कुवेतले आइतबार विभिन्न प्रकारका आक्रमणको प्रयास भएको जानकारी दिएका छन् ।

कतारका अनुसार शनिबार इरानबाट दुईवटा क्रुज मिसाइल र १० वटा ब्यालेस्टिक मिसाइल प्रहार गरिएको थियो । संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले पनि इरानबाट प्रक्षेपण गरिएका मिसाइल र ड्रोनहरू अवरोध गरिएको जनाएको छ ।

शनिबार सार्वजनिक भएको भिडियो फुटेजमा दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै एउटा प्रक्षेप्य दुर्घटनाग्रस्त भएको देखिएको थियो । त्यस्तै एएफपीका पत्रकारहरूले इराकको बगदाद र इरबिलमा पनि विस्फोटको आवाज सुनेका थिए ।

इरानभित्र पनि युद्धको असर बढ्दै गएको छ । पूर्वाधार तथा आवासीय क्षेत्रहरूमा क्षति बढिरहेको छ भने सर्वसाधारणबीच चिन्ता र असुरक्षाको भावना फैलिएको बताइएको छ ।

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारसम्म युद्धका क्रममा कम्तीमा ९२६ जना सर्वसाधारणको मृत्यु भएको छ भने करिब छ हजार जना घाइते भएका छन् । यद्यपि एएफपीले यी तथ्याङ्क स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन ।

यसैबीच लेबनान पनि द्वन्द्वको चपेटामा परेको छ । खामेनीको मृत्युको प्रतिक्रियामा केही लडाकू समूहले इजरायलमाथि रकेट तथा ड्रोन प्रहार गरेपछि इजरायलले बेरुतको दक्षिणी उपनगरस्थित हेजबुल्लाहको बलियो आधार क्षेत्रमा हवाई आक्रमण सुरु गरेको हो ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो हप्तामा इजरायली हवाई आक्रमणमा कम्तीमा २९४ जनाको मृत्यु भएको छ । लेबनानका प्रधानमन्त्री नवाफ सलामले यस अवस्थालाई ‘मानवीय प्रकोप’ बन्न सक्ने चेतावनी दिनुभयो ।

यसैबीच शनिबार इजरायलले इरानका सैन्य एकेडेमी, भूमिगत कमान्ड सेन्टर तथा मिसाइल भण्डारण स्थलहरूलाई लक्षित गर्दै युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेको जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलले तेहरानको आकाशमा लगभग पूर्ण नियन्त्रण हासिल गरेको दाबी गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि इरान आणविक हतियार विकासको नजिक पुगेको दाबी दोहोर्‍याउनुभएको छ । उहाँले इरानको समृद्ध युरेनियम भण्डार सुरक्षित गर्न अन्ततः अमेरिकी सेना प्रयोग गर्नुपर्ने अवस्था आउन सक्ने सङ्केत पनि गर्नुभयो ।

यसैबीच इरानको मिनाब सहरस्थित एक प्राथमिक विद्यालयमा शनिबार भएको घातक आक्रमणमा कम्तीमा १५० जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । उक्त घटनाका लागि इरानले अमेरिकालाई दोष दिएको छ भने अमेरिका र इजरायल दुवैले जिम्मेवारी अस्वीकार गरेका छन् । एएफपीले पनि घटनाको स्वतन्त्र पुष्टि गर्न सकेको छैन ।

विश्लेषकहरूका अनुसार हाल देखिएको सङ्घर्ष छिट्टै अन्त्य हुने सङ्केत देखिएको छैन । अमेरिका र इजरायलका अधिकारीहरूले समेत यो द्वन्द्व कम्तीमा एक महिना वा त्योभन्दा लामो समयसम्म जारी रहन सक्ने अनुमान गरेका छन् ।

यसैबीच वासिङ्टनले इरानमा स्वीकार्य नेतृत्व आए अर्थतन्त्र पुनर्निर्माणमा सहयोग गर्न सकिने सङ्केत दिएको छ । तर तेहरानले यस प्रस्तावलाई अस्वीकार गरेको छ ।

इरानसँग नजिकको सम्बन्ध भए पनि चीन र रुस भने हालसम्म यस द्वन्द्वमा प्रत्यक्ष रूपमा सक्रिय देखिएका छैनन् । चीनका विदेशमन्त्री वाङ यीले आइतबार मध्यपूर्वमा सुरु भएको युद्धबारे टिप्पणी गर्दै यस्तो द्वन्द्व कहिल्यै सुरु हुनु नपर्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री