
अन्तिम दिन ल्होछार साँस्कृतिक साँझ, सवा लाख डलर सहयोग संकलनको लक्ष्य
ईश्वरी न्यौपाने
सान् फ्रान्सिस्को, क्यालिफोर्निया, अमेरिका । बैद्ध धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व ल्होछार अमेरिकाको क्यालिफोर्नियामा धुमधामसाथ मनाइरहेको छ । तामाङ को अपरेसन सोसाईटी अफ क्यालिफोर्नियाले जनवरी १८ देखि प्रारम्भ भएको मञ्जुश्री संवत २८६२ सोनाम ल्होछार ता ल्हो (घोडा वर्ष) लाई साताव्यापी कार्यक्रम गरी मनाइरहेको हो ।
ल्होछारको पहिलो दिन माघ शुक्ला प्रतिपदामा क्यालिफोर्नियाको एल् सोब्रान्तेस्थित तामाङ सामुदायिक केन्द्रमा दार्ज्य फेर्ने र शुभकामना आदनप्रदानबाट यो पर्व सुरु गरिएको छ । सोही दिन तामाङ सोसाईटीले अर्को एक कार्यक्रमकै रुपमा पत्रकार सम्मेलनमार्फत पर्वको उपलक्ष्यमा राखिएको अन्य गतिविधिबारे जानकारी दिइएको छ । १९ तारिखदेखि बे एरियामा यो क्षेत्रका तामाङ समुदायको घर–घरमा दर्ज्यु फेर्ने, पुजा गर्नेलगायतको कार्यक्रम चलिरहने सोसाईटीको अध्यक्ष सुरज पाख्रिनले जानकारी दिनुभयो ।
‘गुम्बा तथा घर–घरमा पुजा, सार्वजनिक स्थलहरुमा दर्ज्यु गाड्ने, छो प्रसाद वितरण गर्ने, शुभकामना आदनप्रदान गर्ने, मान्यजनबाट टिका तथा आशिर्वाद ग्रहण गर्ने, चेलिबेटि, इष्टामित्र, कुटुम्बको भेटघाट र सामुहिक भोज र साँस्कृतिक कार्यक्रम साताभर चलिरहन्छ’ अध्यक्ष पाख्रिनले भन्नुभयो ।
जनवरी २४ मा साँस्कृतिक साँझ
सबै समुदायलाई सहभागि गराएर मनोरञ्जन दिन साताको अन्तिममा जनवरी २४ मा साँस्कृतिक साँझ आयोजना गरिएको छ । विदेशको भुमिमा साँस्कृतिक अस्तित्व र पहिचानका लागि साँस्कृतिक प्रर्दशनी राखिएको आदीबासि जनजाती महासंघका पूर्व अध्यक्ष कुमार दोङले पत्रकार सम्मलेनमा बताउनु भयो ।
बिभिन्न स्पोन्सर र टिकट बिक्रिबाट रकम संकलन गर्ने कार्यक्रम चलिरहेको छ । यो बाट खर्च कटाएर १ लाख २० हजार डलर बचत गर्ने योजना रहेको अध्यक्ष पाख्रिनले जानकारी दिनुभयो । यो रकमले तामाङ साँस्कृतिक केन्द्रको ऋण तिरिने उहाँको भनाई छ । सोसाईटीले यहाँ अप्रिल १०, २०२४ मा तामाङ साँस्कृतिक केन्द्रको लागि भवन र जग्गा खरिद गरेको छ । संकलित सम्पुर्ण रकम सोहि केन्द्रका लागि खर्च गरिंदैछ ।
सो साँस्कृतिक साँझका लागि नेपालबाट प्रशिद्ध गायक राजु लामा आउने भएका छन् । ‘दि मंगोलियन हार्ट’ को परिचय बनाएका लामालाई अर्का गायक हेम वाईबाले साथ दिंदैछन् भने सुपर मोडेल तथा डान्सर रश्मी तामाङको नृत्य र फिन्जो शेर्पाको डिजे रहने साँस्कृतिक संयोजक अबील तामाङले जानकारी दिनु भएको छ ।
सो पत्रकार सम्मेलनमा पाख्रिन र दोङका साथै समाजसेविहरु रेशम बल,संगम लामा र सानुकान्छी तामाङले गतिविधिबारे जानकारी दिनु भएको थियो ।
आजभन्दा करिब ४ हजार ५०० वर्ष अगाडि सुरु भएको भनिएको ल्होछार पर्व नेपालमा मात्र नभएर चीन, मंगोलिया, जापान, हङकङ, भियतनाम, लाओस्, थाईल्याण्ड, ताईवान, मलेशिया, सिंगापुर, भारत लगायतका देशहरुमा पनि चन्द्रपात्रोमा आधारित ल्होछार मनाउने गरिन्छ । नेपालका तामाङ, ह्योल्मो, मनाङ्गे, हुम्ली, डाल्पो, ताप्केगोला, सिंङसा, ताङबे, थकाली, जिरेल, खाममगर, दुरा, भोटे, नेस्याङबा, शेर्पा, र गुरुङ लगायतको समुदायले ल्होछार मनाउँछन् ।
ल्हो को अर्थ साल, सम्बत्, बर्ष, उमेर र छारको अर्थ नयाँ अर्थात ल्होछारको अर्थ नयाँ वर्ष हो । ल्हो १२ वर्षको एक चक्र हुन्छ र १२ वर्ष पछि पुन दोहोरिन्छ । विभिन्न बाह्रवटा पशुपंछीको नामबाट ल्हो को नाम राखिएको हुन्छ । बाह्र ल्हो मध्ये प्रत्येक वर्ष एउटा ल्हो फेरिन्छ यहि ल्हो फेरिने दिनलाई तामाङ भाषामा ल्हो पोल्बा, ल्हो दोबा वा ल्होछार भनिन्छ ।
अमेरिकाको क्यालिफोर्नियामा धुमधामले मनाइयो सोनाम ल्होछार
नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन : ३ हजार ४८४ जनाले गराए उम्मेदवारी दर्ता
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना
नेपाल सरकारका शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा, म्याग्दीबाट उम्मेदवारी
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]