माझकोट—गोरखा राज्यमाथि आक्रमण (सन १५५९)

अग्रिम लक्ष्य
लमजुङ्ग राज्यका राजा यशोब्रम्ह शाहका माहिला छोरा राजकुमार द्रव्य शाहले लिङलिङ वा लिकलिक राज्यमाथि आफ्नो शासन सत्ता कायम गरे । त्यसपछि उनी ज्यादै उत्साहित भए । उनको मनोबल र साहस पनि ज्यादै बढ्न गयो । अब उनको अग्रिम लक्ष्यमा मगरात प्रदेशको सबभन्दा महत्वपूर्ण राज्य माझकोट अर्थात गोरखा राज्यमाथि विजय प्राप्त गर्नु थियो । खड्का थरका मगर राजा मानसिंह खड्का मगरलाई हटाएर आफैँ गोरखा राज्यको राजगद्दीमा बस्नु थियो । हिमवतखण्डमा एउटा विशाल, एवं बृहत गोरखा साम्राज्यको निर्माण गर्नु गराउनु उनको लक्ष्य थियो । गोरखा राज्यमा शाहवंशीय ठकुरी, क्षेत्री राजवंशको शासन व्यवस्था स्थापना गर्न चाहेका थिए । आफैँ गोरखा राज्यको राजा बन्ने उनको सपना थियो ।
आक्रमणको तयारी
यसै क्रममा राजकुमार द्रव्य शाहले माझकोट—गोरखा राज्यमाथि भीषण एवं भयंकर आक्रमण गर्ने चाँजोपाँजो मिलाउनु थाले । भए भरका आफ्नो सैनिक, लडाकु दस्ता, सहयोगी तथा खस आर्य समूहका युवाहरुलाई जम्मा पारे । रागनीस भने मगर राज्य गोरखा राज्यको सीमासंग जोडिएको थियो । युद्धका लागि आवश्यक पर्ने सामाग्रीहरु सो राज्यबाट गोरखा राज्यमा ओसारपसार गर्न पायक पर्दथ्यो । सो राज्यबाट गोरखामाथि आक्रमण गर्न पनि सजिलो थियो । अतः रागनीस राज्यको भूमिमा युद्धको सम्पूर्ण तयारी राजकुमार द्रव्य शाहले गर्न थाले ।
माझकोट—गोरखा राज्यमा प्रवेश
सन १५५९ अगष्ट महिनामा राजकुमार द्रव्य शाह आफ्ना सेना, लडाकु दल, खस आर्य समूहका युवाहरुका साथ माझकोट—गोरखा राज्यका प्रवेश गरे । माझकोटको माथिल्लो कोटलाई चारै तर्फबाट घेरामा पारे । त्यसपछि माथिल्लो कोटमाथि भीषण एवं भयंकर हमला गरे । दुवै पक्षका बीच युद्ध हुन थाल्यो । राजकुमार द्रव्य शाहले ठानेका थिए केही समयमा सम्पूर्ण किल्ला ध्वस्त हुनेछ । त्यसपछि राजा मानसिंह खडका मगरले आफैँ आफ्नो पराजय स्वीकार गर्ने छन् ।
पन्ध्र दिनसम्म निरन्तर राजकुमार द्रव्य शाह, उनका सैनिक, लडाकु दल तथा खस आर्य समूहका युवाहरुले माझकोट—गोरखाको माथिल्लो राजदरवारमाथि हमला गरे । तैपनि राजा मानसिंह खड्का मगर तथा उनका सैनिकहरु अलिकति पनि विचलित भएनन् । राजकुमार द्रव्य शाहले राजा मानसिंह खड्का मगरलाई धेरै गलाउन प्रयास गरे तर उनी असफल भए । मानसिंह खड्कालाई हराउन धेरै प्रयास गरे तर उनी सफल भएनन् ।
युद्धको सोह्रौं दिनमा राजा मानसिंह खड्का मगरको भीषण प्रत्याक्रमणबाट राजकुमार द्रव्य शाह आफैँ पराजित हुनु प¥यो । आफ्नो तथा आफ्नो सैनिक एवं सहयोगीहरुको ज्यान जोगाउन लिगलिग कोटतर्फ फर्किन बाध्य हुन पर्यो । राजकुमार द्रव्य शाहलाई नराम्रोसंग अपमानित हुन पर्यो ।
वास्तवमा माझकोट—गोरखा राज्यका खड्का थरका मगर युवाहरु आपसमा ज्यादै संगठित एवं एकजुट थिए । आफ्नो संरक्षक राजा तथा मुखियाप्रति पूर्ण रुपमा समर्पित थिए । वफादार थिए । राजा मानसिंह खड्का मगर आफैँ युद्धकलामा अनुभवी, निपूण तथा शक्तिशाली योद्धा थिए । फलस्वरुप राजकुमार द्रव्य शाहलाई युद्धमा कुनै सफलता प्राप्त हुन सकेन ।
अतः राजकुमार द्रव्य शाह ज्यादै निराश एवं हताश थिए । युद्धमा पहिलो पटकको हारले गर्दा उनी चिन्तित एवं विचलित थिए । तर पन्ध्र दिने युद्धबाट राजकुमार द्रव्य शाहलाई धेरै रणनीतिक ज्ञान एवं व्यावहारिक अनुभव भयो । सीधै एवं सोझै हमला गरेर राजा मानसिंह खड्का मगर जस्तो शक्तिशाली योद्धालाई हराउन गाह्रो हुन्छ भन्ने आभास भयो ।
त्यसै समयमा अन्य ठाउँहरुबाट बसाई सरेर आएका खस आर्य समूहका युवाहरुले राजकुमार द्रव्य शाहलाई उस्काउन थाले । जे जसरी भए पनि मानसिंह खड्का मगरलाई माझकोट—गोरखा राज्यको राज्य सिहासनबाट हटाउनु पर्दछ भन्न थाले । सो सिंहासनमा क्षत्रीय ठकुरी राजवंशका राजकुमारलाई बसाल्नु पर्दछ भन्न थाले । रुढीवादी तत्कालीन समाजमा राजा संरक्षक वा मुखिया सकेसम्म क्षेत्रीय ठकुरी राजबंशको हुनु पर्ने धारणा पनि व्यापक थियो ।
राजकुमार द्रव्य शाह पनि महत्वाकांक्षी राजकुमार थिए । उनको गोरखाको राजा बन्ने तीब्र चाहना थियो । गोरखा राज्यमा शाहवंशीय ठकुरीहरुको राज्य सत्ता कायम गर्ने आन्तरिक इच्छा थियो । गुरु गोरखनाथ बाबाले पनि उनलाई “यस भेगको राजा हुनेछ” भन्ने वरदान सपनामा दिएका थिए ।
फलतः राजकुमार द्रव्य शाहले माझकोट—गोरखा राज्यमा दोश्रो पटक हमला गर्ने निधो गरे । तर यस पटक कुटनीतिक चालबाजी तथा छलकपटबाट शक्तिशाली मगर राजा मानसिंह खड्का मगरलाई पराजित गर्ने रणनीति राजकुमार द्रव्य शाहले तयार गरे ।

लेखक: त्रिलोक सिंह थापा मगर

दोश्रो पटकको आक्रमण
माझकोट—गोरखा राज्यमाथि आक्रमण गर्नुभन्दा पहिले राजा मानसिंह खड्का मगरलाई आत्मसमर्पण गर्नका लागि राजकुमार द्रव्य शाहले सन्देश पठाए । सो प्रस्तावलाई राजा मानसिंह खड्का मगर तथा उनका सहयोगीहरुले ठाडै अस्वीकार गरिदिए । त्यसपछि राजकुमार द्रव्य शाहले माझकोटका केही स्थानीय युवाहरुसंग सम्पर्क स्थापित गरे । तिनीहरुलाई पद र पदवीको लोभ लालचमा पारेर आफ्नो पक्षमा मिलाउन उनी सफल भए । उनीहरुको सहयोगमा मध्य रातिको घनघोर अंध्यारोमा राजकुमार द्रव्य शाहले आफ्नो सैनिक, लडाकु दस्ता तथा खस आर्य समूहका युवाहरुका साथ गोप्य तरिकाले चुपचाप माझकोटको तल्लोकोटमा प्रवेश गरे । स्थानीय युवाहरुको घरमा लुकेर बसे । केही सैनिकहरु वनजंगलमा लुक्न गए ।
किल्लाको घेराबन्दी
केही समय पछि सुराकीको गोप्य सूचनाको आधारमा मध्य रातिको घनघोर अंध्यारोमा राजकुमार द्रव्य शाहका सैनिक, लडाकु दस्ता तथा खस आर्य समूहका युवाहरुले माझकोट दरवारलाई चारै तर्फबाट घेराबन्दी गरे । त्यस समय राजा मानसिंह खड्का मगर आफ्नो शयन कक्षमा सुतिरहेका थिए । घोर निन्द्राको अवस्थामा थिए ।
राजकुमार द्रव्य शाहले युद्धको घोषणा पनि गरेका थिएनन् । आक्रमण गर्ने पूर्व सूचना पनि दिएका थिएनन् । घोर निन्द्राको अवस्थामा रहेका राजा मानसिंह खड्कामाथि एक्कासी राजकुमार द्रव्य शाहले आफ्नो तरवार हमला गरे । भनिन्छ अर्ध निन्द्रामा रहेका राजा मानसिंह खड्का मगरले आक्रमणको प्रत्याक्रमण गरे । शसक्त ढंगबाट प्रतिरोध गरे । राजकुमार द्रव्य शाहको तरवारको मारले गर्दा गोरखा राज दरवारको मूल ढोका निरको दलीनमा सानो चिनो बन्न गयो । सो चिनो आज पनि त्यहाँ देख्न सकिन्छ ।
राजकुमार द्रव्य शाह सशस्त्र तथा राजा मानसिंह खड्का मगर निःसशस्त्र थिए । तैपनि दुवै पक्षका बिचमा घमासान युद्ध भयो । धेरै बेरसम्म लडाई भयो तर एक्कासी राजा मानसिंह खडका मगर घाइते भए । भुईमा लडे, उठ्न सकेनन् । अन्तमा त्यही उनको अवसान हुन गयो । त्यसै रातिको बिहान पख मिरमिरे उज्यालोमा साईतअनुसार राजकुमार द्रव्य शाहलाई माझकोट राज्यको कटुवालले गोरखाको राजा भनेर विधिवत घोषणा गरे । (वि.सं. १६०६ भाद्र २५ गते तदनुसार २४ अगष्ट सन १५५९)
शाहवंशीय शासनको स्थापना
सदियौं देखिको खड्का थरका आदिवासी भूमिपुत्र मगर जनजातिका मगर राजवंशको माझकोट—गोरखा राज्यबाट (सन १५५९ अगष्ट २४ दिनांक वि.सं. १६०६ भाद्र २५ गते) अवसान भयो । त्यसै दिनदेखि शाहवंशीय ठकुरी क्षेत्री शाही राजवंशको माझकोट—गोरखामा विधिवत शासन व्यवस्था स्थापना भयो । गोरखा राज्यको शुरुवात पनि त्यसै समयदेखि शुरु भयो । राजा द्रव्य शाहले जम्मा ११ वर्षसम्म गोरखामा राज्य गरे । सन १५५९—१७६८ गोरखा राज्य र १७६८—२००८ सम्म नेपाल अधिराज्यमा शाहवंशीय शासन थियो ।
सारांश
(क) माझकोट—गोरखा राज्यका राजा मानसिंह खड्का मगरले राजकुमार द्रव्य शाहको विरुद्ध पन्ध्र दिनसम्म स्थानीय जनताको सक्रिय सहयोग एवं समर्थनबाट युद्ध लडेका थिए । उनि लोकप्रिय एवं जनप्रिय मगर राजा थिए ।
(ख) राजकुमार द्रव्य शाहले राजा मानसिंह खडकासंग आफ्नो अपमानको बदला लिन चाहन्थ्ये । अतः गोरखामा राज्यभिषेक हुनुका साथै राजकुमार द्रव्य शाहले राजा मानसिंह खड्का मगरको रगतमा चामल मुछेर आफ्ना भाइभारदार तथा माझकोटका सर्वसाधारण जनतालाई टीका लगाइदिए । त्यही समयदेखि बडादशैंको पर्व शुरु भयो भन्ने केही विद्वानहरुको भनाइ छ । बडादशैंको पर्व प्रायः आश्विन वा कार्तिक महिनामा मनाइन्छ राजा मानसिंहको हत्या भाद्र महिनामा भएको थियो । अतः केही विद्वानहरुको भनाइअनुसार दुवै घटनाका तिथि मिति र समय एक आपसमा मेल खांदैन तर खोजको विषय हुन सक्छ ।
(ग) सन १५५९ अगष्ट २४ मा गोरखा एउटा सानो शाहवंशीय राज्य थियो । सन १८१५ डिसेम्बर २ दिनांकसम्म दक्षिण पूर्व एशियाली राष्ट्रहरुमा विशाल एवं बृहद गोरखा साम्राज्य हुन गयो । ईस्ट इन्डिया कम्पनी सरकारसंग भएको सुगौली सन्धी (२ डिसेम्बर १८१५) पछि यस मुलुकले आधा भन्दा बढी आफ्नो भूमि गुमाउनु पर्यो । तर नेपाल अधिराज्यको राष्ट्रिय झण्डा कहिले पनि कसैको अगाडी कुनै पनि समयमा झुकेन । अर्थात यस मुलुकले कहिले पनि स्वतन्त्रता दिवस मनाउदैन ।
मगरात राज्यको अवसान
अठारौं शताब्दीभन्दा पहिले मगरात राज्यको “रिडी” गण्डकी नदी देखिको पूर्वको सम्पूर्ण भूमिलाई बाह्र मगरात तथा पश्चिमतिरको भूभागलाई “अठार मगरात” भने चलन थियो । आज पनि सो कायम छ । त्यस समयमा मगर जनजातिको बाह्र वटा राज्यहरु बाह्र मगरातमा थिए । त्यस्तै अठार वडा मगर राज्यहरु अठार मगरातमा थिए । पछि यो राज्यहरु छ्यासमिस भयो । फलस्वरुप खस आर्य समूहहरुको बाईसौं तथा चौबिसौं नामले स—साना राज्यहरुको उदय भयो ।
लिच्छवी शासन समाप्त भएपछि पच्छिम नेपालको अधिकांश भूभागहरुमा बाह्र तथा अठार मगरात राज्यहरुको शासन व्यबस्था थियो । त्यस समयमा मगरात राज्यमा स्वर्णिम युग थियो । कसैलाई दुःख, बिपत्ति एवं कष्ट भयो भने सोको निवारणका लागि मगरात राज्यमा गएर आश्रय लिनु भन्ने उखान वरपरका गाउँघरहरुमा व्याप्त थियो । न्याय र इन्साफका लागि मगरात जानु भन्ने चलन पनि थियो । यस्तै उखान टुक्काहरुबाट प्रमाणित हुन्छ कि मगरात राज्यको शासन प्रणाली तथा राज्य व्यवस्था कल्याणकारी अवधारणामा थियोे भनेर भनिन्छ । नेपालको इतिहासमा मगरात राज्यको विविध पक्षहरुमा प्रायः विस्तृत विवरणहरु उल्लेख गरिएको पाइदैन । कारण नेपालको एकिकरण एवं बिस्तारको अभियानको हुरीबतासले मगरात राज्यको लिखित दस्तावेजहरु मेटाइ दिए जस्तो छ अथवा जानीजानी मेटाइएको छ ।
माझकोट गोरखाको राजा खड्का थरका मगर राजा मानसिंह खड्का मगर थिए । कुटनीतिक छलकपटबाट उनको हत्या गरियो । उनको दरवारलाई ध्वस्त पारियो । नातागोतालाई लखेटियो । ऐतिहासिक प्रमाणहरुलाई नष्ट गरियो । माझकोट गोरखाका खड्का थरका मगर राजा मानसिंह खड्का मगरलाई स्थानीय मगरहरुको पूर्ण समर्थन थियो । माझकोटको तल्लोकोटमा लुकी बसेर दाह्रे गौडा हुदै माथिल्लो माझकोटमा आक्रमण गर्ने राजकुमार द्रव्य शाहलाई १५ दिनसम्म राजा मानसिंह खड्काको विरुद्ध युद्ध गर्नु पर्यो । दोश्रो पटकको युद्धमा विश्वासघात तथा षड्यन्त्रले मारिएका मानसिंह खड्का मगर मगरात राज्यका लोकप्रिय एवं जनप्रिय अन्तिम मगर राजा थिए । त्यसपछि नेपाल एकीकरण अभियान शुरु भयो । साथै मगरात राज्यको अवसान पनि प्रारम्भ भयो ।
एकीकरण अभियानको कथा
क) राजा द्रव्य शाहले स्थापित गरेको शाहवंशीय गोर्खा राज्यको उत्तराधिकारी पृथ्वीनारायण शाह २० वर्षको उमेरमा सन् १७४३ ई.अप्रिल ३ तारिकमा (चैत्र २५ गते) गोर्खा राज्यको राजगद्दीमा आरोहण गरे । गोर्खा राज्यको एकीकरणको अभियानको पहिलो चरण बडामहाराजा पृथ्वीनारायण शाहले शुरु गरेका थिए । केही लेखकहरूले यो गोर्खा राज्यको साम्राज्यवादी आन्तरिक औपनिवेशिक अभियान थियो भनेर भन्दछन् ।
ख) केही विद्वानहरूको तर्क हो, पृथ्वीनारायण शाह गोर्खा राज्यको एकीकरण गरेर विशाल नेपाल अधिराज्यको स्थापना गर्नमा सफल भए । यो भौगोलिक एकीकरण थियो । तर जनजाति, आदिवासी तथा भूमि पुत्रहरूको लोक संस्कृति, सामाजिक परम्परा तथा ऐतिहासिक विशेषतालाई एकीकरण गर्न सकेनन् । अर्थात उनीहरूको साँस्कृतिक, भाषिक, सामाजिक एंव ऐतिहासिक विशिष्टतामाथि निरन्तर प्रहार भयो । हुनत राजा पृथ्वी नारायण शाहले “चार जातको फूलबारी” र “म मगरातको राजा” तथा “मगरलाई विचारीको पद” दिनु भनेर भूमिपुत्रहरूलाई फुरुङ्ग पार्ने प्रयास गरे । जे होस्, आधुनिक नेपालका निर्माता राजा पृथ्वीनारायण शाह नै हुन् भनेर इतिहासको पानामा अंकित छ ।
ग) दोस्रो चरणको नेपाल एकीकरणको अभियानको संचालन राजा प्रताप शाह, राजेन्द्र लक्ष्मी तथा बहादुर शाहको पालामा भएको हो । यसै अभियानलाई अघि बढ़ाउन तेश्रो चरणमा राजा रण बहादुर शाहको पालामा प्रधानमन्त्री भीमसेन थापाद्वारा पहल गरिएको थियो । वास्तवमा बाइसी, चौबीसी तथा मगरात राज्यहरूमा गोर्खा राज्यले आफ्नो आधिपत्य कायम गरिसकेका थियो । त्यसपछि गोर्खा राज्यको पश्चिम सरहदको विस्तार गर्ने आदेश नायक बहादुर शाहले दिएका थिए । त्यसै बेलादेखि महाकाली नदी पार गरेर गोर्खा राज्यको पश्चिम सरहदको विस्तारको ऐतिहासिक कथा शुरु हुन्छ ।

(नेपाल सरकारका पूर्व उपसचिव थापामगर मास्टर मित्रसेन स्मृति प्रतिष्ठानका पूर्व अध्यक्ष हुन् ।)

त्रिलोकसिंह थापामगर

नेपाल सरका पूर्व सचिव त्रिलोकसिंह थापामगर इतिहास र संस्कृतिका विषयमा लेख्न रुचाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री