‘एफए कप’मा मेडिस्टोन युनाइटेडको जीतमा चम्केका पूर्व गोरखाका छोरा

लण्डन । शनिबार (२७ जनवरी २०२४) मा बेलायतमा भएको एफए कपको चौथो राउण्डको खेलमा ननलिगको क्लव मेडिस्टोन युनाइटेडले यसै सिजनमा प्रिमियर लिगमा प्रोमोसन हुने प्रबल दाबेदार क्लव इप्स्वीचलाई हरायो । बेलायतको प्रमुख सञ्चारमाध्यमले यो नतीजा अप्रत्याशित भएको उल्लेख गरे र यसरी चक्मा दिने मेडिस्टोन युनाइटेडको टोलीमा थिए एक पूर्व गोरखा सैनिकका छोरा –विभेश गुरुङ ।
खोटाङका पूर्व गोरखा सैनिक भुपाल गुरुङ र सानु गुरुङका छोरा विभेशको फुटबल जीवनको शुरुवात मेडिस्टोन युनाइटेडबाट भएको थियो । अहिले २२ वर्षका गुरुङले प्रिमियर लिगको क्लव क्रिस्टल पालेसको एकेडेमीमा छनौट हुने अवसर पाएका थिए । त्यतिबेला उनी १६ वर्षका थिए । दुई वर्ष क्रिस्टल पालेसमा बिताएपछि उनले नर्वे र स्वीडेनमा गएर फुटबल खेले । सन् २०२० देखि फेरि फर्किएर बेलायतमै खेल्न थाले । उनी चेल्सीमा पनि छनौटका लागि गएका थिए तर छनौट हुन सकेनन् । त्यसपछि उनी मार्गेट, टन्ब्रीज एन्जल्स क्लव हुँदै उही पुरानो घर मेडिस्टोन युनाइटेडमा आइपुगेका छन् ।
१८ नम्बरको जर्सी लाएर मिडफिल्डर पोजिसिनबाट खेल्ने उनले एफए कपको तेस्रो चरणको छनौट खेलमा ब्यारो क्लवका विरुद्ध गोल गरेका थिए ।
उनले बेलायतमा फुटबल खेलेपनि उनको पुख्र्यौली थलो नेपालमा पनि उनको खेल हेर्नेहरुको संख्या ठूलो छ । तथापि नेपालमा दोहोरो नागरिकताको प्रावधान नभएका कारण उनले नेपाली राष्ट्रिय टोलीबाट तत्काललाई खेल्न पाउने छैनन् ।
उनले बेलायतको प्रतिष्ठित गार्जियन पत्रिकासित भनेका छन्, “नेपालीलाई प्रतिनिधित्व गर्न पाउँदा धेरै गर्व महसुस गरेको छु । मेरा दाजुभाइहरुले मलाई रोल मोडलका रुपमा हेर्छन् । खासमा हाम्रो सँस्कृतिमा खेलमा लाग्ने मानिसलाई यसरी हेर्ने चलन छैन । त्यसैले म उनीहरुलाई तिमीलाई जे काम गर्न मन लाग्छ त्यो गर भन्ने देखाउन चाहन्छु ।”
खेलकुदका अतिरिक्त अध्ययनलाई पनि उनले समानान्तररुपमा बढाइरहेका छन् । उनले अर्थशास्त्र र गणितमा ए लेभल पनि गरेका छन् ।
दक्षिण एसियाली समाजमा खेलकुदलाई मुख्य करियर नमानिने भए पनि आफ्नो सवालमा भने बाबुआमाले राम्रो सहयोग गरेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री