भारतीय विदेशमन्त्रीले भेटे राष्ट्रपति र प्रधानमन्त्री

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री एस जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
विदेशमन्त्री जयशङ्करले आज बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।
भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्य तथा सहयोग आवश्यक रहेकामा जोड दिनुभयो । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भीरतापूर्वक काम गर्न जरुरी रहेको बताउनुभयो । उहाँले कृषि, ऊर्जा शक्ति, पर्यटनको विकास र मानव संशाधन विकास नेपालको प्राथमिकतामा भएकाले यसमा सहकार्यका लागि विदेशमन्त्री जयशङ्करसँग आग्रह गर्नुभयो ।
सो अवसरमा भारतीय विदेशमन्त्री जयशङ्करले नेपालका सम्भावनाप्रति भारत जानकार रहेको उल्लेख गर्दै सबै क्षेत्रमा भारतको निरन्तर सहयोग रहने बताउनुभयो । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन विदेशमन्त्री डा जयशङ्कर आज बिहान काठमाडौँ आउनुभएको हो ।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि विदेशमन्त्री जयशंकरले को शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भएको भेटमा उहाँहरुबीच द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा विशेष गरी प्रधानमन्त्री दाहालको पछिल्लो भारत भ्रमणका क्रममा भएका सहमतिहरुलाई कार्यान्वयनमा ल्याउनका लागि आज बस्ने नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक फलदायी हुने विश्वास प्रधानमन्त्रीले व्यक्त गर्नुभएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहाकार रुपक सापकोटाले जानकारी दिनुभयो ।
गत जुनमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका विद्युत् व्यापार, कनेक्टिभिटीलगायतका विषयमा छलफल भइ प्रधानमन्त्री दाहालले ती सम्झौतालाई चाँडो कार्यान्वयनमा ल्याउने गरी आजको दुई देशबीचको संयुक्त आयोगको बैठकमा आवश्यक छलफल गरी अगाडि बढ्न भारतीय विदेशमन्त्रीलाई आग्रह गर्नुभएको थियो । उहाँले भारतसँग भएको विद्युत् व्यापारसम्बन्धी सम्झौता नेपाल र भारत दुवै देशका लागि तथा नेपालले बंगलादेशसम्म विद्युत् व्यापार गर्न सक्नेसम्मका लागि पनि कोशेढुङ्गा सावित हुने भन्दै यस सम्झौतालाई आपसी समझदारीअनुसार सहजरुपमा अघि बढाउन जोड दिनुभएको सल्लाहकार सापकोटाले जानकारी दिनुभयो

प्रतिक्रिया

सम्बन्धित सामाग्री